पर्सामा अधिकांश उम्मेदवार पुरानै



वीरगन्ज ।

पर्सा जिल्लामा रहेका १४ वटा स्थानीय तहका पालिका प्रमुखमध्ये १२ पालिका प्रमुख आगामी स्थानीय तहको निर्वाचनमा फेरि पनि चुनाव लड्ने भएका छन् ।

गत स्थानीय निर्वाचनमा पर्सामा रहेका एक महानगरपालिका, ३ नगरपालिका र १० वटा गाउँपालिकामध्ये १२ वटा स्थानीय तहका प्रमुख फेरि पनि प्रमुख पदमै उम्मेदवार भई निर्वाचनमा होमिएका छन् ।उनीहरूमध्ये अधिकांशले गत स्थानीय तहमा निर्वाचित भएको दलबाट नै लड्दैछन् भने केहीले दल बदलेर अन्य पार्टीमा गई प्रमुखको पदमा चुनाव लडिरहेका छन् ।

जिल्लाको सदरमुकामसमेत रहेको मधेस प्रदेशको एकमात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा ०७४ सालमा मेयरमा निर्वाचित भएका विजयकुमार सरावगी चुनाव लड्दै हुनुहुन्छ । उहाँ यसपालि भने नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बन्नु भएको हो ।
गत स्थानीय तहको निर्वाचनमा भने उहाँ तत्कालीन संघीय समाजवादी फोरम हालको जनता समाजवादी पार्टी (जसपा)बाट मेयरमा निर्वाचित हुनुभएको थियो । पर्सागढी नगरपालिकाको मेयरमा २०७४ सालमा निर्वाचित भएका लोकनारायण यादव पनि नगरको मेयरमै उम्मेदवार बन्नुभएको छ ।

नेपाली कांग्रेसबाट उहाँ गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई मेयरमा निर्वाचित हुनु भएको थियो । यसपालि पनि उहाँले कांग्रेसबाटै उम्मेदवारी दिनुभएको छ ।बहुदरमाई नगरपालिकाको मेयरमा गत स्थानीय तहमा निर्वाचित भएका नितेन्द्र साह तेली यसपालि पनि मेयरमै चुनाव लड्दै हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित उहाँ यसपटक पनि सोही पार्टीबाटै मेयर पदका उम्मेदवार बन्नुभएको हो ।यसै गरी, पोखरिया नगरपालिकाको मेयरमा २०७४ सालमा निर्वाचित भएका दीपनारायण रौनियार पनि मेयरमै लड्दै हुनुहुन्छ । २०७४ सालमा नेपाली जनता दलबाट निर्वाचित भएका उहाँ नेपाली कांग्रेसबाट मेयरमा उम्मेदवार बन्न लाग्नुभएको हो ।

छिपहरमाई गाउँपालिकाको अध्यक्षमा २०७४ सालमा निर्वाचित मनोज गुप्ता पनि अध्यक्ष पदमै चुनावी मैदानमा उत्रिनु भएको छ । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनु भएको थियो ।उहाँले यसपटक एमालेबाट उम्मेदवारी दिनुभएको हो । पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनेका विजय चौरसिया पनि २०७४ सालको निर्वााचनमा अध्यक्ष पदमै निर्वाचित हुनुभएको थियो । गत स्थानीय तहको निर्वाचनमा उहाँ जसपाबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँ अहिले पनि सोही पार्टीबाट उम्मेदवार बन्नुभएको छ ।

यस्तै, बिन्दबासिनी गाउँपालिकाको अध्यक्षमा २०७४ सालमा अध्यक्षमा निर्वाचित भएका श्रीलाल साह अध्यक्ष पदमै चुनावी मैदानमा उत्रनु भएको छ । गत स्थानीय तहको निर्वाचनमा जसपाबाट निर्वाचित उहाँ यसपटक पनि सोही दलबाटै उम्मेदवार बन्नुभएको हो ।कालिकामाई गाउँपालिकाका अध्यक्ष राजेश चौरिसया पनि अगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदमै भिड्दै हुनुहुन्छ । गत स्थानीय तहको निर्वाचनमा उहाँ जसपाबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो तर, गतवर्ष गाउँपालिका अध्यक्ष नथुनी साहको निधन भएपछि उहाँ कार्यबाहक अध्यक्ष बन्नुभएको थियो ।

यसपटक चौरसिया एमालेबाट गाउँपालिका अध्यक्षमा लड्दै हुनुहुन्छ । सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्षमा २०७४ सालमा निर्वाचित प्रदिप जैसवाल यसपटक पनि सोही पदमा उम्मेदवार बन्नुभएको छ ।गत स्थानीय तहको निर्वाचनमा जसपाबाट अध्यक्षमा निर्वाचित भएका उहाँ यसपटक पनि सोही पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष पदमा यसपटक पनि हरिनारायण चौधरी अध्यक्षमै चुनाव लड्दै हुनुहुन्छ २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट अध्यक्षमा निर्वाचित उहाँ यसपटक पनि सोही पार्टीबाट अध्यक्ष पदका उम्मेदवार बन्नुभएको हो ।

गत स्थानीय तहको निर्वाचनमा ठोरी गाउँपालिका अध्यक्षमा निर्वाचित पदमलाल श्रेष्ठ पनि अध्यक्ष पदमै चुनाव लड्दै हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा उहाँ माओवादी केन्द्रबाट उठ्नुभएको थियो र यसपटक पनि श्रेष्ठ माओवादीबाट नै अध्यक्ष पदका उम्मेदवार बन्नुभएको हो ।
जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रित महतो थारू पनि एमालेबाट गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उहाँ एमालेबाट नै अध्यक्षमा जित्नुभएको थियो र यसपटक पनि सोही पार्टीबाट उहाँको उम्मेदवारी दिनुभएको छ ।

जिल्लामा रहेको जगरनाथपुर र धोबिनी गाउँपालिकाको अध्यक्षमा भने २०७४ सालमा जितेका अध्यक्षको सट्टा नयाँ अनुहारलाई त्यहाँ निर्वाचित भएको दलले उम्मेदवार बनाएको छ । जगरनाथपुर गाउँपालिकाको अध्यक्ष पदमा २०७४ सालमा माओवादी केन्द्रबाट निर्वाचित जालिम मियाँ यसपटक चुनाव लड्नुभएको छैन । उहाँ अहिले एमालेमा गइसक्नुभएको छ । त्यहाँ माओवादीले मालती उपाध्यायलाई अध्यक्षमा टिकट दिएको छ ।

यस्तै, २०७४ सालको स्थानीय तहको निर्वाचनमा धोबिनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका सुरेश कुर्मी यसपटक चुनाव लड्नुभएको छैन । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित उहाँको ठाउँमा यसपालि कांग्रेसले वरिष्ठ नारायण कुर्मीलाई अध्यक्षको टिकट दिएको छ ।

प्रतिक्रिया दिनुहोस्