यातायात व्यवसायीको व्यवहार कहिले सुध्रेला ?



नेपालको कुल जनसंख्याको ८० प्रतिशत सर्वसाधारण सार्वजनिक सवारीसाधनमा यात्रा गर्दछन् । ‘मर्दा र पर्दा’ अत्यन्त खाँचो पर्ने भनेकै भाडाका गाडी हुन् ।

निजी सवारीसाधन नहुने र महँगो भाडा तिर्न नसक्नेलाई दैनिक सार्वजनिक सवारी नभईकन हुँदैन । तर, लामो र छोटो रुटमा चल्ने सवारीको स्थिति निकै कहाली लाग्दो छ । गाडी निकै फोहोर हुन्छन् । सिटहरु भाँच्चिएका, थोत्रा, पुराना र किला निस्किएका छन् । लुगा च्यातिने हो कि भन्ने डर बोकेर सिटमा बस्नुपर्ने बाध्यता छ । भित्रैसम्म पानी छिर्ने खालका गाडीहरु सञ्चालनमा छन् । सार्वजनिक सवारीसाधन कहिल्यै सफा नगरेको जस्तो देखिन्छ । मास्क लगाएर बस्दा पनि दुर्गन्ध सहन हम्मेहम्मे पर्छ । साथै, चालक र सहचालकको गएगुज्रिएको बानी व्यवहार देखेर यात्रुहरु आजित भइसकेका छन् । यात्रुहरुलाई तुच्छ शब्दको प्रयोग गर्दछन् । मुखमा जे आउँछ त्यही बोल्न पनि पछि पर्दैनन् । ज्येष्ठ नागरिकलाई समेत अपशब्दको प्रयोग गर्ने गरेको पाइन्छ ।

कानुनमा जुत्ता नलगाईकन गाडी चलाउन नपाउने भनिएको छ । तर, सहचालक र चालकले चप्पल लगाएर गाडी गुडाइरहेका छन् । बेलुका खाएको रक्सीको बास सहचालकको शरीरबाट आइरहेको हुन्छ । सरकारले एक किमिबाट पाँच किमिसम्म २० रुपियाँ तोके पनि सहचालकले २५ लिइरहेको छ । यता, लामो रुटमा चल्ने सवारीले पनि ५ सयको ठाउँमा ७ सय असुलिरहेको छ । सुपर डिलक्सको नाममा ४० प्रतिशत थप भाडा लिन्छन् । तैपनि यातायात व्यवस्था विभाग मौन छ । सार्वजनिक यातायात सबै ठेक्कामा दिइएको हुन्छ ।
लोकल गाडीले इन्धन हालेर दैनिकीको हिसाबले दैनिक ५–१५ हजारसम्म बुझाउँछ । लामो रुटको गाडीले टिपको हिसाबमा ३०–५० हजार बुझाउँछ । गाडी साहू आफू पर्दाभित्र बस्छन् ।

सहचालक, चालकलाई ठेक्कामा गाडी चलाउन दिन्छन् । साहूले तोकेको जति रकम बुझाउन सकेनन् भने गाडी साहूले उनीहरुको नाममा लेखिदिन्छन् । अन्यथा, तलबबाट कटौती गर्ने गरेको पाइन्छ । यता, टिकट काउन्टरले टिकट काटेबापत २५ प्रतिशत कमिसन पाउँछन् । टिकट काट्ने काम गाडी साहू आफैंले गरिदिने हो भने यात्रुले फोगट्टे तिर्नुपरेको २५ प्रतिशत जोगिन्थ्यो । लोकल गाडीले टिकट नदिने, लामो रुटका गाडीले विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई छुट नदिने । मुढा र नक्कली सिटमा यात्रा गराउनु कुनै नौला कुरा रहेन ।
अझ, छोटो रुटका सवारीले ढोकैसम्म यात्रु उभ्याउँछन् ।

तर, बसेको र ढोकामा झुन्डिएको यात्रुको भाडा किन बराबर ? दाउरा मिलाएझैँ यात्रु मिलाउँछन् । सास फेर्न नसकेर कति त उभिँदाउभिँदै शिथिल भइसक्छन् । यातायात व्यवसायीको यस्तो पाराका कारण यात्रुहरु वाक्कदिक्क भइसकेका छन् । उनीहरुबाट कोही पनि सन्तुष्ट नभएको स्पष्ट बुझिएको छ । सेवा दिने नाममा लुट्ने क्रम अझै पनि जारी नै छ । यातायात व्यवसायीहरुले सरकारले बनाएको ऐनकानुन नमान्ने अडान लिएका छन् । जसरी हुन्छ उनीहरुको सिद्धान्त कमाउनु हो । ठगेर हुन्छ कि घुँडा टेकाउन उनीहरुलाई कमाउनुको मात्र धपेडी छ । तर, यसबाट यात्रुहरुले निकै हैरानी पाएका छन् । यातायात व्यवसायी र मजदुर संगठनको अगाडि सरकार जहिले पनि लम्पसार पर्छ । कानुनमा पाँच प्रतिशतभन्दा बढी भाडा बढाउन नपाउने भनिए पनि सरकारलाई गालेर यातायात व्यवसायीहरुले दुईचोटि भाडा बढाउन सफल भए । यसले सरकार कति कमजोर रहेछ भन्ने कुरा स्पष्ट पारेको छ ।

२०४९ सालदेखि सरकारले यातायात व्यवसायीसँग लिनुपर्ने राजस्व बढाएको छैन । विगत ३० वर्षदेखि १५ वटा चीजमा राजस्व बढाइएको छैन । तर, जनताले तिर्नुपर्ने भाडा त बीसौंचोटि बढाइएको छ ।अर्कोतिर, विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगले भाडा छुट नपाउने तर राज्यले चाहिँ यिनीहरुलाई कर छुट दिइरहने । कांग्रेसलाई चन्दा दिएर विजय स्वाँर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष बनेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल नेकपा माओवादीका कार्यकर्ता हुन् । तर, यी दुवैजनासँग भाडाको गाडी छैन । तर, गाडी नै नभएको व्यक्ति महासंघको अध्यक्ष घोषित भएका छन् ।

किनकि पार्टीमा यी दुईले सक्दो पैसा बगाएका छन् । पैसाकै आडमा गाडी नभएकाहरुलाई अध्यक्ष बनाउने काम भयो । गाडी नै नभए पनि यिनीहरुले पैसा कमाउने थुप्रो ठाउँ बनाएका छन् ।अटोशोरुमबाट यिनीहरुले कमिनि खान्छन् भने यात्रु र गाडीको बिमा गराउँदा पनि कमिसन खोज्छन् । त्यस्तै, कम्पनी प्रालिहरुलाई महासंघको सदस्य बनाउँदा शुरुमै १०–५० हजार रुपियाँ उठाउँछन् । त्यसै गरी, लेबी भन्दै महिनैपिच्छे एउटा प्रालिबाट २० हजारसम्म उठाउँछन् ।

गाडी नभएकालाई नेता बनाउनुको औचित्य के ? आफैं दलाल गर्ने व्यक्तिले सार्वजनिक सवारीसाधनमा के सुधार गर्ला ? महासंघको अध्यक्ष भएर आउनुपछाडिको एउटै कारण आफ्नो कार्यकालभरि करोडौं रुपियाँ कुम्ल्याउनु हो । दलालीहरुलाई न हिजो राष्ट्रको माया थियो, न आज छ । उनीहरुलाई पैसाको मात्र माया छ । यता, प्रालिमार्फत सञ्चालन भएका गाडी साहूले दैनिक ७–९ सयसम्म लेबी बुझाउँछन् । केही कारणबस दुर्घटना भयो भने कागजपत्र मिलाउन, राजस्व तिर्न यसरी पैसा उठाउने गरेको पाइन्छ ।

कानुनले भने लेबी उठाउने कामलाई प्रतिबन्ध लगाएको छ । यो गेरकानुनी धन्दा हो । गाडी साहूले लेबी तिर्नका निम्ति यात्रुलाई सक्दो ठगिरहेका छन् । आफू बच्नका लागि यात्रु ठग्न पाइन्छ ? एउटा सार्वजनिक सवारीसाधनमा पाँचदेखि ८० लाखसम्म लगानी भएको छ । त्यस सवारीले दैनिक ५० हजारसम्म आम्दानी गर्दछ ।

तर, यसको राजस्व पाएको छैन ।अडिटरले पैसा खाएर कागजपत्र मिलाउँदा राज्यलाई घाटा लागेको छ । यात्रुवाहक, ढुवानी र मिटरजडित ट्याक्सी गरेर ११ लाख गाडी दर्ता भएका छन् । यी गाडीमा १७ खर्ब लगानी भएको बताइन्छ । सरकारले तोकेको भाडा रेटभन्दा बढी उठाएर यातायात व्यवसायीले १८ करोड रुपियाँ असुल्छन् । देशैभरिको बाटो अहिले पनि यातायात व्यवसायीकै कब्जामा छ । केही वर्षअघि गाडी धनीसँग दुईदेखि १५ लाख उठाएर खाएको आज पनि यातायात व्यवसायीलाई स्मरण छ । सरकारले सिन्डिकेट हटाए भने पनि विगत तीन दशकदेखि हरियो र कालो प्लेटको ट्याक्सीको नयाँ दर्ता खोलेको छैन । बाटो राज्यले बनाउने तर त्यही बाटो बेचेर यातायात व्यवसायीले लाखौं रुपियाँ खाइरहेका छन् । पाँच सय रुपियाँ लिएर राज्यले गाडी चलाउनका निम्ति रोड परमिट दिन्छ ।

सरकारभन्दा यातायात व्यवसायी शक्तिशाली छन् भन्ने कुरा लुकाएर लुक्दैन । संस्था ऐन २०३४ अन्तर्गत दर्ता भएको ३०७ वटा यातायात समिति २०७५ वैशाख ४ गते खारेज गरियो । त्यसै गरी, संस्था ऐन २०१८ अन्तर्गत दर्ता भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ पनि सोही दिन खारेज भयो । संस्था खारेज भएपछि त्यसको नाममा भएको चल–अचल सम्पत्ति सीधै सरकारको हुन्छ भनेर कानुनमा स्पष्ट उल्लेख गरिएको छ ।तर, राष्ट्रियकरण गर्नुपर्ने खर्बौंको सम्पत्ति फुक्का गरिएको छ । ती संस्थाको बैंकमा भएको रकम र घरजग्गा फुक्का पारिदिएको छ । हिजो माइक्रोबसको ढोका ढकढक्याउनेहरुको आज काठमाडौंमा तीनवटा घर छ । दुई दशकअगाडि सहचालकको काम गर्नेहरु अहिले करोडौंको मालिक छ । तैपनि शुद्धीकरण विभागले किन छानबिन अघि बढाएन ? अख्तियार चाल नपाएझैँ बसिरहेको छ । २०७५ वैशाख २३ गते यातायात समितिका कार्यसमिति र महासंघका नेताहरुको सम्पत्ति छानबिन गर्ने भनेर शुद्धीकरण विभाग र अख्तियारलाई पत्र लेख्ने निर्णय भयो । त्यतिखेरका यातायातमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकको गभर्नरले संयुक्त निर्णय गरेका थिए ।

उनीहरु यातायात समितिको बैंक खाता रोक्का गरिदिने निष्कर्षमा पुगेका थिए । ३०७ मध्ये २४५ वटाको बैंक खाता रोक्का भयो । ६२ वटा समितिको सहकारीमा भएको खाता भने रोक्का गरिएन । उनीहरुको घरजग्गा पनि रोक्का गरिएको थिएन । रोक्का भएको खाता फुक्का गर्न यातायात व्यवसायी सफल भए । घरजग्गासमेत फुक्का पारियो । पार्टीको आडमा सरकारले आफ्नै नीतिनियमलाई टीका लगाइदियो । अहिले पनि सरकारलाई कमजोर बनाउन यातायात व्यवसायीहरु विभिन्न उपाय अपनाइरहेका छन् ।

२०७५ वैशाख २४ गते पाँचवटा गाडी भएका कम्पनी र एउटा गाडी हुने घरेलुमा गएर पञ्जीकरण गरेर चलाउन दिने भनेर निर्णय गरियो । सोही वर्षको मंसिर २६ गते २०७६ जेठ १८ गतेभन्दा पछाडि पञ्जीकरण नभएका गाडीको दर्ता र रोडपरमिट खारेज गरिदिने निर्णय भयो । कति गाडी पञ्जीकरण भए ? कति बाँकी छन् ? यसको तथ्याङ्क यातायात व्यवस्था विभागसँग छैन । पञ्जीकरण नभएका गाडीहरु अहिले पनि बेफिक्री बाटोमा गुडिरहेका छन् । तर, सम्बन्धित निकायले कारबाहीमा चासो देखाएको छैन ।
– अनुसा

प्रतिक्रिया दिनुहोस्