उम्मेदवारीबाट बाहिरिइन जनमुक्ति सेनाकी कमान्डर


हेटौंडा ।

स्थानीय तह निर्वाचनमा पूर्वी मकवानपुरको बकैया गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनुभएकी पूर्वजनमुक्ति सेनाकी कमाण्डर लक्ष्मी माझी (कृपा) ले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

अध्यक्ष कांग्रेस उम्मेदवार धर्मराज लामिछानेलाई समर्थन गर्दै अध्यक्षको प्रतिस्पर्धाबाट उहाँ पछि हट्नुभएको हो । उहाँका कारण उक्त पालिकामा गठबन्धन सफल भएको छ ।कृपाले पार्टी केन्द्रको निर्देशनअनुसार आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो । बैशाख १२ गते माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएकी उहाँले बकैया गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिनुभयो ।

उम्मेदवारी फिर्तापछि बकैयामा गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उहाँले आफूले समकालीन अध्यक्षका प्रत्यासीहरू भन्दा कमजोर भएर वा हारको मानसिकता बोकेर उम्मेदवारी फिर्ता लिएको नभई पार्टीको निर्देशन र गठबन्धनको आपसी मर्मलाई आत्मसात् गरेर उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । पत्रकार सम्मेलनमा गठबन्धन दलअन्तर्गत बकैयाका शीर्ष नेताहरू, दुई पार्टीका कार्यकर्ता सहभागी थिए ।राजनीतिक स्थायित्व, दीगो विकास र एमालेले बकैयामा गर्दै आएको निषेधको राजनीति अन्त्यका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने उहाँको भनाइ थियो । जनजीविकाका सामान्य समस्या हल गर्नसमेत कसैको राजनीतिक एकाधिकार र गुलामी स्वीकार्नुपर्ने अवस्था अन्त्य गरी शानदार जित सुनिश्चित गर्न गठबन्धनलाई सहयोग पुगोस् भनेर आफूले उम्मेदवारी फिर्ता लिएको उहाँले स्पष्ट पार्नुभयो ।

गठबन्धनको सहमतिअनुसार अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार लामिछानेलाई माओवादीले सघाउँदा उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्तबहादुर खत्रीलाई कांग्रेसले सघाउनेछ । वडाहरूमा भने स्थानीय सहमतिका आधारमा हुने जनाइएको छ ।
सशस्त्र युद्धमा जनमुक्ति सेनाको भूमिकामा र शान्तिपूर्ण राजनीतिमा कार्यकर्ताका रूपमा सक्रिय बन्नुभएकी कृपा अध्यक्षमा उम्मेदवारी दिने माझी समुदायका महिलाबाट पहिलो उम्मेदवार हुनुहुन्थ्यो ।नेकपा माओवादी केन्द्रको सिफारिसमा सीमान्तकृत अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै यसअघि गाउँ कार्यपालिका सदस्य बन्नुभएकी उहाँ सोही पार्टीको सिफारिसबाट अध्यक्ष उम्मेदवार बन्नुभएको थियो । तर, केन्द्रीय निर्देशन अनुसार उहाँले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

कृपाले भूमिहीन, दलित र अव्यवस्थित सुकुम्बासीलाई लालपूर्जा वितरण गरेर जग्गाधनी बनाउनुपर्ने, गाउँपालिकामा भौतिक र आर्थिक विकाससँगै मानवीय विकासमा समेत जोड दिनुपर्ने, अति सीमान्तकृत, दलित र विपन्न वर्गका लागि प्राविधिक शिक्षामा पहुँच पुग्ने गरी काम गर्नुपर्ने र महिला तथा बेरोजगार युवालाई स्थानीय स्रोतसाधनका माध्यमबाट व्यावसायिक तालीम र स्वरोजगार बनाउन आगामी नेतृत्वले ध्यान दिनुपर्ने बताउनुभयो ।

व्यवस्था परिवर्तनका लागि भएको जनयुद्धमा आफूसँगैका साथीहरू गुमाउनुभएकी कृपाले विगत सम्झँदै भन्नुभयो–देशका लागि भएको जनयुद्धका समयमा घाइते, शहीद परिवार, द्वन्द्वप्रभावित, बेपत्ता परिवारको संरक्षणमा ध्यान दिनुपर्छ ।पालिकामा ज्येष्ठ नागरिकको सम्मान तथा महिलाको प्रजनन् स्वास्थ्य उपचारका लागि कार्यक्रम ल्याउनुपर्ने र आगामी पाँच वर्षमा स्थानीय आवश्यकता बुझेर बकैयाका अधुरो काम पूरा गर्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो ।