पनौती कांग्रेसको संकल्प पत्र सार्वजनिक


काभ्रे, पनौती ।

नेपाली काग्रेस पनौती गुणस्तरीय स्वास्थ्य र शिक्षा तथा आधुनिक र व्यावसायिक कृषिलाई प्राथमिकतामा राखेको छ । गरिब नागरिकको जीवनस्तर उकास्नका लागि गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा र शिक्षा उपलब्ध गराउनुपर्ने भन्दै यो नगरमा धेरै कृषक वसोबास गर्ने भएकोले कृषिलाई पनि प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने पनौती कांग्रेसले जनाएको छ ।

आइतबार पनौतीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिनुभएको रामशरण भण्डारी र उपमेयरमा उम्मेदवारी दिनुभएको एकीकृत समाजवादीका छवि हुमागाईले संयुक्तरूपमा प्रतिबद्धता जनाउँदै पनौती नगरको समग्र विकास एमाले नेतृत्ववाट असम्भव भएको प्रमाणित भइसकेको बताउनुभएको थियो ।पनौती नगरपालिका स्थापना भएदेखि नै एमालेले नेतृत्व गरेको पनौती नगरमा २५ वर्षदेखि उदाहरण दिन सकिने एउटा पनि उल्लेख्य काम नभएको भन्दै आम जनताको खेतबारीमा डोजर लगेर बाटो खन्नेबाहेक केही विकास नभएको आरोप लगाइएको छ । जथाभावी खेतवारीमा डोजर लगाइएको छ ।

हिउँदमा सामान्य यातायात गुडाउन मिल्छ, वर्षामा मिल्दैन भन्दै उपप्रमुखका उम्मेदवार छवि हुमागाईं भन्नुहुन्छ– ‘एमाले नेतृत्वको स्थानीय सरकारले एउटा पनि अल्पकालीन र दीर्घकालीन योजना बनाएर विकास निर्माणको थालनि गरेको एउटा पनि काम देखिएन ।नगरप्रमुखका उम्मेदवार रामशरण भण्डारीले कांग्रेसको नेतृत्वमा निर्वाचन जितेर नगरमा वार्षिक क्यालेन्डर बनाएर प्रतिबद्धता पूरा गर्ने भन्दै पनौती नगरबासीलाई प्रजातन्त्र प्राप्तिको अनुभूति दिलाउने बताउनुभएको छ । भण्डारीले पनौतीमा करको दायरा बढाउने र करको दर घटाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।

प्रमाण, तथ्य र तथ्यांकको आधारमा बजेट नीति र योजना तर्जुमा गर्ने भन्दै पनौती नगरमा एमालेको एकतन्त्रीय शासन अन्त्यका लागि गठबन्धनलाई मतदान गर्न पनि भण्डारीले आग्रह गर्नुभएको थियो ।कांग्रेसको गठबन्धन नेतृत्वले पनौतीमा प्रसूति सेवासहितको पाँच श्ययाको अस्पताल बनाउने प्रतिबद्धता जनाएको छ ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रको वजेट १० प्रतिशत बनाउने भन्दै प्रत्येक वडामा स्वास्थ्य परीक्षणको प्रयोगशाला निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । शिक्षाको विकासका लागि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर आमूल परिवर्तन गर्ने, प्राविधिक एवं सीप सिकाइ शिक्षालाई जोड दिई रोजगारमूलक बनाउने, १२ कक्षासम्म विज्ञान विषय पढ्नेलाई निःशुल्क पठन पठनको व्यवस्था गर्ने गठबन्धन दलको प्रतिबद्धता रहेको छ । नगरपालिकाले प्रत्येक वर्ष ३ जना डाक्टर, ५ जना इन्जिनियर र पाँच जना स्टाफ नर्स पढ्नका लागि छात्रवृत्ति दिने व्यवस्था गर्ने पनि प्रतिबद्धतामा उल्लेख छ ।

पनौती कांग्रेसको निर्वाचन परिचालन मूल समितिका संयोजक भोला थापाले मतदाताको घरदैलोमा पुग्दा पनौती नगरमा एमाले नेतृत्वको सरकारले गरेको भ्रष्टाचार, अनियमितताको पनि भण्डाफोर गर्दै आम मतदातालाई सजक बनाउनुपर्ने धारणा राख्नुभएको थियो । एमाले नेता तथा कार्यकर्ताहरू जनतालाई झुक्याउन सिपालु छन् भन्दै उहाँले भन्नुभयो– पनौती नगरले गरेको अनियमितता यति धेरै छन कि अहिले उनीहरूलाई मत माग्न जाँदा लाज लाग्नुपर्ने हो ।

काभ्रे कांग्रेसका कोषाध्यक्ष जगन्नाथ गिरीले एमाले नेतृत्वको पनौतीको सरकार भ्रष्टाचारको मुल भएको भन्दै पछिल्लो पाँच वर्षको अवधिमा भ्रष्टाचार र अनियमितता बाहेक केही नगरेको बताउनु भएको थियो । पाँचवर्ष अघि पनौती वसपार्क जस्तो थियो अहिले पनि त्यस्तै छ भन्दै कोषाध्यक्ष गिरी भन्नुहुन्छ– ‘पनौती नगरमा एमाले सरकाले यतिसम्म अनियमितता गरेको छ राजस्व छुट दिएर करोडाैं भ्रटाचार गरेको छ ।’
राजस्व मिनाहा नहुने भए पनि पनौती नगरले प्रतिवर्ष पाँच करोड रूपैयाँ मिनाह गरेर आधा रकम कमिसन खाएको उहाँको आरोप थियो ।

पनौतीमा करिडोर निर्माणको लागि प्रतिवर्ष सात करोड रूपैयाँ उठाएको भए पनि यो पाँच वर्षमा ३५ करोड रूपैयाँ भन्दा बढी रकम उठेको भन्दै उहाँले ६ किलोमिटर बाटो निर्माण गर्न नसकेको आरोप लगाउनुभएको थियो । कांग्रेसभित्र विवाद भएको भन्दै अफवाह फैलिरहेको सन्दर्भमा पनौती कांग्रेसले पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, केन्द्रीय सदस्य गणेश लामा, मधुप्रसाद आचार्य मात्र हैन पुराना नेताहरू तीर्थ पसखल, इन्द्रप्रसाद अधिकारी, तथा कांग्रेसबाट मेयरका लागि आकांक्षी रहेका भोला थापा, प्रदीप बोगटी, राजेन्द्र पसछेलगायत दर्जनौँ नेताहरूले एक स्वरमा एकढिक्का भएर कांग्रेस जिताउने अभियानमा सरिक भएको जनाएका थिए ।कार्यकर्ताहरूलाई कुनै पनि भ्रम नराखि काग्रेस जिताऔं अभियानमा सरिक हुन आग्रह गर्दै उनीहरूले कांग्रेस नेतृत्वले पनौती नगरमा हारेमा आममतदाता फेरि पाँच वर्ष पछुताउनुपर्ने कुरा मतदाताहरूलाई बुझाउन आग्रह गरेका थिए ।