काठमाडौं ।
देशभरका उम्मेदवार मत माग्दै घरदैलोमा व्यस्त हुन थालेका छन् । सबै दलले केन्द्रले तय गरेको घोषणापत्रको आधारमा प्रतिबद्धतापत्र लिएर घरदैलोमा व्यस्त देखिएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा आफ्नो उम्मेदवारलाई विजयी गराउन घरदैलोमा व्यस्त देखिएका छन् ।
पाँच वर्षमा मतदाताको घरमा नपुग्ने उम्मेदवार निर्वाचन आउन करिब डेढ साता बाँकी रहँदा घरदैलौमा व्यस्त छन् । काठमाडौं महानगरपालिकाको एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी मेयरका उम्मेदवार सिर्जना सिंह, ललितपुर महानगरका एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र नेपाली कांग्रेसका चिरिबाबु महर्जनलगायतका उम्मेदवार घरदैलोमा व्यस्त देखिएका छन् ।
अधिकांश उम्मेदवारले सामाजिक सञ्जाललाई व्यापक उपयोग गरेको पाइएको छ । ललितपुर एमालेका मेयरका उम्मेदवार व्यञ्जनकारले सामाजिक सञ्जाल प्रयोग गरी प्रचार गर्दा बढी उपयोगी हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘घरदैलोसँगै सामाजिक सञ्जालको प्रयोग बढाएका छौं ।’ सो महानगरपालिकाका उपमेयरकी उम्मेदवार मञ्जली शाक्य वज्राचार्यले निर्वाचन नजिकिँदै जाँदा आफ्नो क्षेत्रका मतदातालाई भेट गर्नुपर्ने भएकाले सबै वडाका घरघरमा पुग्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘प्रचार कमिटीले विभिन्न माध्यममार्फत प्रचार गरेकै छन् । हामी घरदैलोमा लागेका छौं ।’ काठमाडौं महानगरपालिका कांग्रेसको उम्मेदवार सिर्जना सिंहले आफूले घरदैलो गरेर महानगरबासीको दुःख बुझेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मैले महिलाको समस्यालाई विशेष प्राथमिकतामा राखेकी छु । स्थानीयको समस्यालाई तत्काल सम्बोधन गर्ने गरी कार्ययोजना तयार गरिरहेकी छु ।’ उहाँले काठमाडौं महानगरले यो पटक महिला मेयर देख्न पाउने दाबी गर्नुभयो ।
काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार केशव स्थापितले विगतमा गरेको कामको विश्लेषण गर्दै आफूले सोही आधारमा अघि बढ्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मेरो उम्मेदवारी प्रचार हाइटेक बनाएका छौं, सबैको घरमा पुग्ने समस्या नभएकाले सामाजिक सञ्जाल प्रयोग गरेका हौं ।’ ललितपुरका मेयरका उम्मेदवार व्यञ्जनकारले आफू जनताको चाहनाअनुसार काम गर्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘निर्वाचन प्रचारका क्रममा घरदैलो अभियान सञ्चालन गर्दा गरेको वाचा पूरा गर्नु नै मेरो कर्तव्य हो । त्यसैले सबै मतदाताको घरमा पुगेर सबैको योजना माग गरेको छु ।’
अधिकांश उम्मेदवारले बिहान र बेलुकीको समय घरदैलो कार्यक्रमलाई छुट्टयाएका छन् । काठमाडौंका उपमेयरकी उम्मेदवार सुनिता डंगोलले विशेष गरी युवाको समस्या सुन्ने र महानगबासीको चाहना पूरा गर्नु आफ्नै मुख्य भूमिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मलाई युवाको हैसियतमा भोट दिएमा युवाकै समस्या समाधान गर्न लागेको छु ।अधिकांश उम्मेदवारले फेसबुक, ट्विटर, इन्ट्राग्राम, टिकटकलयागत सामाजिक सञ्जालको प्रयोग गरेर घरदैलोमा होमिएका छन् । उहाँले भन्नुभयो– ‘हामी त राती १२ बजे मात्र सुत्ने गरेका छौं । राती योजना तय गर्ने । विभिन्न व्यक्तिसँग कुराकानी र भेटघाट गर्ने समय रातीलाई छुट्टयाएका छौं ।’
प्रतिक्रिया