श्रमिकका समस्या समाधान साझा दायित्व’


काठमाडौं  । 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रमिकका समस्याको दीर्घकालीन समाधान सम्पूर्ण राजनीतिक दलको साझा दायित्व भएको बताउनुभएको छ ।

१३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आइतबार आयोजना गरेको श्रमिक सभालाई सम्बोधन गर्दै उहाँले रोजगारी सिर्जना र उद्यमशीलता प्रवद्र्धनमा ध्यान दिन स्थानीय तहका प्रमुखलाई आग्रह गर्नुभयो ।‘भ्रष्टाचार नियन्त्रण, रोजगारीको अवसर सिर्जना तथा उद्यमशीलता विकास स्थानीय तहका प्रमुखका साझा दायित्व हुन्’ –उहाँले भन्नुभयो । समुन्नत नेपाल निर्माणमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले श्रमिकका योगदानलाई राज्यले उच्च मूल्यांकन गर्नुपर्ने बताउनुभयो ।

महामन्त्री शर्माले मुलुकको सबल अर्थतन्त्र निर्माण गर्न वैदेशिक रोजगारीमा गएका श्रमिकको महत्वपूर्ण योगदान रहेको भन्दै विदेशमा रहेका युवालाई फर्काएर स्वदेशमै रोजगारीका अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमले अपेक्षित रोजगारी सिर्जना गर्न नसकेको उल्लेख गर्दै उहाँले मर्यादित र दिगो रोजगारी सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुखका उम्मेदवार सिर्जना सिंहले महानगरभित्रका युवा तथा महिलालाई सीपयुक्त तालिम दिएर स्वरोजगार बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । घरभित्रका कामलाई श्रमको मान्यता नदिने अवस्थाका अन्त्य गरिने उल्लेख गर्दै उहाँले श्रमको सम्मान गर्ने अवस्थाको सिर्जना गरिने बताउनुभयो ।

ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहालले नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व गराउनुपर्ने, मर्यादित काम, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताउनुभयो । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइनुपर्नेमा जोड दिनुभयो ।

श्रमिकप्रतिको विभेद अन्त्यमा जोड

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रूपमा श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले श्रमिकप्रतिको विभेद अझैसम्म पनि हट्न नसकेको बताउनुभएको हो ।

नेता पौडेलले श्रमिकलाई तल्लो दर्जामा राख्ने कुसंस्कृति अन्त्य नभएको भन्दै श्रमिकलाई मर्यादा दिने सभ्यता अझै बसाउन नसकिएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले समाजवादको लक्ष्य निमुखालाई न्याय र विपन्नलाई आय भएको बताउँदै पौडेलले कांग्रेसको मूल लक्ष्य त्यही भएको जिकिर गर्नुभयो ।

नेता पौडेलले कांग्रेसले अन्य पार्टीसँग गरेको गठबन्धनलाई अन्यथा नलिन कार्यकर्तालाई आग्रह गर्नुभयो । कांग्रेससँग भएको जनमतलाई ध्यानमा राखेर गठबन्धन गरिएको भन्दै उहाँले गठबन्धनले कांग्रेसलाई फाइदा पुग्ने दाबी गर्नुभयो ।