आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दललाई सचेत गराउँदै आयोग

0
Shares

काठमाडौं । 

निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइरालासहित निर्वाचन आचारसंहिता उल्लंघन गर्ने नेता र दललाई आचारसंहिता पालनामा सजग गराएको छ । आचारसंहिता उल्लंघनको घटनाको जाँचबुझपछि पनि सम्बद्ध पक्षलाई सजग गराउने कार्य गरिएको आयोगले जनाएको छ ।

स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि लागु गरिएको निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दललाई आयोगले सचेत गराउँदै अब उपरान्त त्यसो नगर्न निर्देशन दिइएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

आयोगले कांग्रेसका नेता कोइरालालाई आचारसंहिताको मूल आधारमाथि नै अनास्था पैदा हुने देखिएकाले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन भनेको छ । सोको जानकारी पनि उहाँको दल नेपाली कांग्रेसलाई जानकारी दिइएको आयोगले जनाएको छ ।आयोगले २०७४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारले २५ लाख रुपियाँसम्म खर्च गर्न सक्ने गरी निर्वाचन खर्चको हद तोकेको थियो ।नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ बाट निर्वाचित कांग्रेसका उम्मेदवार कोइरालाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम पेस गरेको निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपियाँ रहेको छ । तर, सो निर्वाचनमा आफूले ६ करोड खर्च गरेको भनी सार्वजनिक रूपमा अभिव्यक्ति दिनुभएको थियो ।

‘जिम्मेवार पदाधिकारीबाट संवैधानिक निकायले बनाई लागु गरेको निर्वाचन आचारसंहिता, २०७८ लाई चुनौती दिने गरी बोलिएको अभिव्यक्ति आमसञ्चारमाध्यममा आउनु कसैका लागि पनि हितकर विषय होइन’ –आयोगको आदेशमा भनिएको छ ।‘निर्वाचनमा गरेको खर्चको विवरण आयोगमा एउटा पेस गर्नु र सार्वजनिक कार्यक्रममा अर्कै अभिव्यक्ति दिनु सार्वजनिक जवाफदेहिताको पदमा बसेको पदाधिकारीका लागि सुहाउने विषय होइन’ –आदेशमा भनिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दलले गत चैत २६ गते भृकुटीमण्डपमा गरेको जनसभामा दलको झन्डा र बालबालिकाको प्रयोग गर्नु आचारसंहिताविपरीत काम गरेको गरेको ठहर गरेको छ । सो पार्टीले गरेको उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरीत भए गरेको देखिएको आयोगले जनाएको छ ।

त्यसै गरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसमेतको फोटो राखिएको चुनावी पोस्टर तयार गरी प्रचारप्रसार थियो । सो पार्टीले गरेको उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरीत भए रहेको आयोगले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले गत चैत २७ गते मकवानपुरको हेटौंडामा गरेको कार्यक्रममा आचारसंहिता प्रतिकूल गतिविधि गरेको थियो । सो कार्यक्रममा आचारसंहिताविपरीत झन्डा र बालबालिकाको प्रयोग गरेको थियो । सोहीअनुसार गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको छ ।