कांग्रेसका ३० हजार ६ सय २८ उम्मेदवार चुनावी मैदानमा

0
Shares

काठमाडौं ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदमध्ये प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले ३० हजार ६ सय २८ पदमा उम्मेदवारी दिएको छ ।

कांग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले ७ सय ५३ तहमा १३ हजार ७ सय ६७ पदमा विजय हासिल गरेको थियो ।पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता एवं स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले महानगर, उपमहानगर र नगर प्रमुखमा २ सय ६२ जनाले उम्मेदवारी दिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उपप्रमुखमा १ सय ९४ जनाले उम्मेदवारी दिएका छन् भने गाउँपालिका अध्यक्षमा ३ सय ७२ जनाको उम्मेदवारी परेको छ भने र गाउँपालिका उपाध्यक्षमा ३ सय ४० जनाको उम्मेदवारी परेको छ ।प्रवक्ता डा. महतका अनुसार ७ सय ५३ स्थानीय तहको वडा अध्यक्षमा ६ हजार ४३ वडामा नेपाली कांग्रेसले उम्मेदवारी दिएको छ । यस्तै, महिला सदस्यमा ५ हजार ९ सय ३८, दलित महिला सदस्यमा ५ हजार ६ सय ९१ र सदस्यमा ११ हजार ७ सय ८८ जनाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका छन् ।

अघिल्लो निर्वाचनमा कांग्रेसले प्रमुखमा २ सय ६६ र उपप्रमुखमा २ सय २३ पदमा विजय हासिल गरेको थियो भने वडा अध्यक्ष २ हजार २ सय ८६ पदमा विजय हासिल गरेको थियो । अघिल्लो निर्वाचनमा ८ हजार ६ सय ७९ वडा सदस्य नेपाली कांग्रेसले जितेको थियो ।पत्रकार सम्मेलनमा प्रवक्ता महतले कांग्रेसका आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिनेले समय अभावका कारण उम्मेदवारी फिर्ता लिन ढिला भएको वक्तव्य जारी गरी चुनावी प्रतिस्पर्धाबाट बाहिरिए कारबाही नहुने पनि बताउनुभएको छ । यसअघि कांग्रेसले एक सूचना जारी गरी निर्धारित समयभित्र बागी उम्मेदवारी फिर्ता नलिने उम्मेदवारका साथै ती उम्मेदवारका प्रस्तावक र समर्थकसमेत स्वतः पार्टीबाट निष्कासन हुने चेतावनी दिएको थियो ।

संघीयता, समावेशिता र गणतन्त्रसहितको लोकतान्त्रिक संविधानको रक्षाका लागि भन्दै कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका बीचमा स्थानीय तहको निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने सहमति भएको छ । यही सहमतिअनुसार स्थानीय तहको प्रमुख र उपप्रमुखमा केन्द्र र प्रदेश तहले नै भागबण्डा गरेर उम्मेदवारी दिएका थिए भने वडा अध्यक्षसम्मको तालमेलको भागबण्डा जिल्ला तहले गरेको थियो । केन्द्र र प्रदेशको भागबण्डाको विरोध गर्दै भरतपुर महानगरपालिका, धुलिखेल नगरपालिका, जनकपुर उपमहानगरपालिकालगायतका स्थानीय तहमा कांग्रेसका नेताहरूले बागी उम्मेदवारी दिएका छन् । बागी उम्मेदवारलाई कारबाही गरिने कांग्रेसको सूचनापछि सबै पदमा गरी कुल ६ सय २३ जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

कांग्रेसले प्रदेशस्तरमा चुनावी आमसभा गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । चुनावी सभाअन्तर्गत प्रदेश १ को मोरङमा वैशाख २१ गते, मधेश प्रदेशको धनुषामा वैशाख २२ गते र वागमती प्रदेशको काठमाडौंमा वैशाख २३ गते, गण्डकी प्रदेशको कास्कीमा वैशाख २४ गते, लुम्बिनी प्रदेशको रूपन्देहीमा वैशाख २५ गते, कर्णाली प्रदेशको सुर्खेतमा वैशाख २६ गते र सुदूरपश्चिमको कैलालीमा वैशाख २७ गते आमसभा हुने प्रवक्ता महतले बताउनुभयो ।

कांग्रेसको सबै तहका पार्टी संरचना र पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरू पार्टीका आधिकारिक उम्मेदवारहरूको प्रचार–प्रसार अभियानमा जुटिरहेको भन्दै प्रवक्ता महतले भन्नुभयो– ‘निर्वाचन अभियानलाई मर्यादित, अनुशासित र सुव्यवस्थित ढंगले सञ्चालन गर्न पार्टीले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समिति र मेरो संयोजकत्वमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको छ ।’

पार्टीका महामन्त्री गगन थापाको संयोजकत्वमा गठित घोषणा–पत्र तयारी समितिले स्थानीय तहलाई अधिकार सम्पन्न, सक्षम, सबल, उत्तरदायी र नागरिकमुखी सेवा प्रवाह गर्नसक्ने बनाउने कार्यक्रमसहितको संकल्प तयार पारी सार्वजनिक गरिसकेको छ । यस संकल्पले नेपाली कांग्रेसले निर्माण गर्न चाहेको समाजको तस्वीर प्रतिबिम्बित गरेको दाबी गर्दै कांग्रेसले समुन्नत नेपालको जग बसाउने कार्यक्रम ल्याएको जानकारी दिएको छ ।

निर्वाचन अभियानलाई व्यवस्थित ढंगले परिचालन गर्न पार्टी केन्द्रीय कार्यालयमा प्रदेश डेस्क स्थापना भएको छ भने उपसभापति धनराज गुरुङको संयोजकत्वमा देशव्यापी कार्यक्रम समन्वय उपसमिति गठन भएको छ । पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने प्रदेश डेस्कमा सहमहामन्त्री प्रदेशको संयोजक रहेका छन् । प्रदेश नं १ को संयोजकमा सहमहामन्त्री जीवन परियार, मधेश प्रदेश संयोजकमा सहमहामन्त्री भीष्मराज आङ्दम्बे, वागमती प्रदेश संयोजकमा सहमहामन्त्री फरमूल्लाह मंसुर, गण्डकी प्रदेश संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, लुम्बिनी प्रदेश संयोजकमा सहमहामन्त्री महेन्द्र यादव, कर्णाली प्रदेश संयोजकमा सहमहामन्त्री बद्री पाण्डे र सुदूरपश्चिम प्रदेश संयोजकमा सहमहामन्त्रीमा किशोरसिंह राठौर रहनुभएको छ ।