रसुवामा तीनगुनाभन्दा बढी मनोनयनपत्र दर्ता


रसुवा  ।

जिल्लामा स्थानीय तह निर्वाचनका लागि आवश्यकताभन्दा तीन गुनाभन्दा बढी उम्मेदवारले मनोयनपत्र दर्ता गराएका छन् । आइतबार र सोमबार गरी दुई दिनमा जिल्लाका पाँच स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत १ सय ४५ पदमा चार सय १५ जनाले मनोनयनपत्र दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । रसुवाबाट अध्यक्ष, उपाध्यक्ष र स्वतन्त्र अध्यक्षमा उम्मेदवारी दिनेमा ०७४ मा निर्वाचित अध्यक्ष-उपाध्यक्ष पनि रहेका छन् ।

कार्यालयका अनुसार पाँचवटा पालिकाको अध्यक्ष पाँच पदका लागि ३९ जना, उपाध्यक्ष पाँच पदका लागि २२ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसै गरी, वडाध्यक्ष, वडा सदस्य १ सय ३५ पदमा ३ सय ५४ जनाले उम्मेदवार दर्ता गराएका छन् । अध्यक्ष-उपाध्यक्ष उम्मेदवारी दर्ता गर्नेमा सबैभन्दा बढी कालिका गाउँपालिकाका रहेका छन् ।कालिकामा उम्मेदवारी दिनेमा एमालेबाट कमलनाथ आचार्य, नेपाली कांग्रेसबाट हरिकृष्ण देवकोटा, माओवादी केन्द्रबाट सोमबहादुर तामाङ, समाजवादीबाट राजु ग्लान, राप्रपा नेपालबाट युवराज रिजाल, राप्रपाबाट रामकृष्ण न्यौपाने, मंगोल नेसनल अर्गनाइजेसनबाट जितमान तामाङ र स्वतन्त्रबाट सीताकुमारी पौडेल (गत २०७४ को निर्वाचनमा एमालेको तर्फबाट अध्यक्षमा निर्वाचित), कान्छा तामाङ, न्ह्मिाटासी मोक्तान, रेवकुमारी पौडेलसहित ११ जना रहेका छन् ।

त्यस्तै, उपाध्यक्षमा एमालेबाट अम्बिका भट्ट पौडेल, कांग्रेसबाट मीरा तामाङ, एकीकृत समाजवादीबाट विष्णुप्रसाद देवकोटा, जसपाबाट कृष्णबहादुर तामाङ, मंगोल नेसनल अर्गनाइजेसनबाट वर्षा तामाङ र समाजवादीबाट यशोदा न्यौपाने रहेका छन् ।गोसाइँकुण्ड गाउँपालिकामा एमालेबाट कैसाङनुर्पु तामाङ, कांग्रेसबाट पेम्बाछिरिङ तामाङ, माओवादी केन्द्रबाट तेन्जेन छेसाङ तामाङ, एकीकृत समाजवादीबाट दावा लोप्साङ तामाङ, राप्रपाबाट निमाग्याल्मो तामाङ र स्वतन्त्रबाट नुर्पु तामाङले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा एमालेबाट प्रतीमा तामाङ, कांग्रेसबाट देकी तामाङ र राप्रपाबाट कासिनी घलेले उम्मेदवारी दर्ता गराएका छन् ।

उत्तरगया गाउँपालिकामा एमालेबाट माधवप्रसाद अर्याल, कांग्रेसबाट उपेन्द्र लम्साल, माओवादीबाट मेघनाथ घिमिरे, जनता समाजवादीबाट अनन्तप्रसाद न्यौपाने, एकीकृत समाजवादीबाट अर्चना लामा, मंगोल नेसनल अर्गनाइजेसनबाट विकास ग्लान र स्वतन्त्रबाट विजय तामाङ, सागर लामिछाने, सुनील नगरकोटी र रामशरण पौडेलले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा उत्तरगया गाउँपालिकामा एमालेबाट चमेली गुरुङ, माओवादी केन्द्रबाट बिलु थापामगर, कांग्रेसबाट सुनीतामाया गुरुङ र स्वतन्त्ररूपमा सिर्जना तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।त्यसै गरी, जिल्लाको नौकुण्ठ गाउँपालिकाको अध्यक्षमा एमालेबाट सिर्जना लामा, कांग्रेसबाट नुर्पुसाङ्वो घले, माओवादी केन्द्रबाट योसिंगी घिसिङ, एकीकृत समाजवादीबाट कमलबहादुर घले र मंगोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर तितुङले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा एमालेबाट चन्द्रबहादुर ग्लान, कांग्रेसबाट लालुमाया घले, जसपाबाट भुमे लामा, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रविना तामाङ र सुरेश लामाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्षमा एमालेबाट फुर्पुसिंगी तामाङ, कांग्रेसबाट बुचुङ तामाङ, माओवादी केन्द्रबाट फुर्पुतेन्जेन तामाङ, एकीकृत समाजवादीबाट अमोस तामाङ, समाजवादीबाट दावा फिन्जो तामाङ, राप्रपाबाट कामीगारा तामाङ र मंगोल नेसनल अर्गनाइजेसनबाट निमाकामी तामाङले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा एमालेबाट नवीना तामाङ, कांग्रेसबाट चण्डिका तामाङ, माओवादी केन्द्रबाट पासाङफेल्मो तामाङ र समाजवादीबाट मुना तामाङ रहेका छन् ।

रसुवामा उपाध्यक्षमा दोहोरिने उम्मेदवारमा नवीना तामाङ र चमेली गुरुङ रहेका छन् भने अध्यक्षमा बुचुङ तामाङ, स्वतन्त्रमा सीताकुमारी पौडेल (कालिका गाउँपालिकामा एमालेका ०७४ को अध्यक्षमा विजयी), नुर्पुसाङ्बो घले, सिर्जना लामा (०७४ मा एमालेबाट नौकुण्ठ गाउँपालिकाको उपाध्यक्षमा विजयी), उपेन्द्र लम्साल, कैसाङनुर्पु तामाङ रहेका छन् ।