निर्वाचनको सुरक्षा र निष्पक्षता जोड


काठमाडौं  ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।  गृह मन्त्रालयमा भएको गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल, तथा गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल, टेकबहादुर केसी, प्रदीप कोइराला भौतिकरूपमा सहभागी थिए ।

भर्चुअल माध्यमबाट सबै जिल्ला सुरक्षा समितिका पदाधिकारी सबै प्रदेशका तीनओटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।गोष्ठीमा निर्वाचन सुरक्षा सम्बन्धमा देखा परेका चुनौती र ती चुनौतीको समाधान कसरी गरेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

‘मुख्य गरी निर्वाचनको सुरक्षा व्यवस्थामा देखिएका चुनौती र ती चुनौतीको समाधान कसरी गर्ने भन्ने विषयमा सुरक्षा गोष्ठी राखिएको हो,’ प्रवक्ता पोखरेलले भन्नुभयो– ‘जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले गरेका काम गोष्ठीमा प्रस्तुत गर्दा एउटा जिल्लाले गरेको काम अर्को जिल्लाले नगरेको हुन सक्छ, त्यसबाट एउटाको काम अर्कालाई सिकाइ हुने हुनाले फलदायी हुन्छ । तसर्थ, भर्चुअल रूपमा गोष्ठी राखिएको हो ।’

गोष्ठीमा प्रदेशगत रूपमा एउटा प्रदेशबाट एक जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रस्तुति गर्नुभएको थियो । प्रदेश १ बाट झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, मधेस प्रदेशबाट सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, वागमती प्रदेशबाट काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, गण्डकी प्रदेशबाट बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, लुम्बिनी प्रदेशबाट गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, कर्णाली प्रदेशबाट जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईं तथा सुदूरपश्चिम प्रदेशबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अहिलेसम्म निर्वाचन सुरक्षाका सम्बन्धमा भए गरेका काम र निर्वाचन सम्पन्न गर्न देखिन सक्ने चुनौती र केन्द्रबाट आफूहरू गरेका अपेक्षा सम्बन्धमा प्रस्तुति राख्नुभएको थियो ।

प्रदेशगत प्रस्तुति सुनेपछि तीनओटैै सुरक्षा निकायका प्रमुख, गृहसचिव पाण्डे र गृहमन्त्री खाँणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले उपलब्ध स्रोत र साधनको उपयोग गरेर सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।गोष्ठीमा केन्द्र, प्रदेश र जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सदस्यलाई निर्देशन दिँदै गृहमन्त्री खाँणले निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराख्न निर्देशन दिनुभयो । त्यस्तै, उहाँले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

‘निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू निर्वाचनमा सुरक्षा दिँदा नयाँभन्दा अनुभव प्राप्त हुन्छन्,’ गृहमन्त्री खाँणले भन्नुभयो– ‘आगामी दिनमा सुरक्षा निकायले नयाँ भर्ना लिँदा मापदण्डअनुरूप भएका भएमा उनीहरूलाई प्राथमिकतामा राख्नुहोला ।’त्यस्तै, गृहमन्त्री खाँणले निर्वाचन सम्पन्न हुने बेलासम्म देखिने सबै प्रकारका चुनौती उपलब्ध स्रोत र साधन उपयोग गरेर सामना गर्न तयारी अवस्थामा रहन समेत निर्देशन दिनुभयो ।

उहाँले सीमित स्रोत साधन उपयोग गरेर अहिलेसम्म जिल्ला जिल्लामा भएको निर्वाचनको सुरक्षा सम्बन्धमा भएको तयारी प्रशंसायोग्य रहेको पनि बताउनुभयो ।गृहसचिव पाण्डेले निर्वाचनको सुरक्षा र निष्पक्षता सरकारको मुख्य ध्येय भएकाले त्यसैअनुरूप काम गर्न निर्देशन दिनुभयो । सबै जिल्लाका प्रजिअ र सुरक्षा समितिका रहेका पदाधिकारीले सीमित स्रोत र साधनलाई उपयोग गरेर कुशलता प्रदान गरी उदाहरणयोग्य काम गर्ने अपेक्षा मन्त्रालयले राखेको गृहसचिव पाण्डेले बताउनुभयो ।