देउवाकै गृहजिल्लामा विद्रोहको नेतृत्व गर्दै मल्लद्वारा एमालेसँग गठबन्धन

0
Shares

डडेल्धुरा । 

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसकै एक समूहले नेकपा (एमाले)सँग चुनावी तालमेल गरेर मैदानमा उत्रिएसँगै आसन्न स्थानीय तह निर्वाचन थप रोमाञ्चक बन्न पुगेको छ ।

जिल्लाका सातवटै स्थानीय तहमा एमालेसँग चुनावी तालमेल गरेर अघि बढेको नेपाली कांग्रेस डडेल्धुराका असन्तुष्ट नेता कार्यकर्ताहरूको नेतृत्व नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्लले गर्नुभएको छ । पछिल्लो एक दशक नेपाली कांग्रेस डडेल्धुराको नेतृत्व गरेका मल्ल डडेल्धुराको जिल्ला राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित हुनुहुन्छ ।

२०४७ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय मल्ललाई हाल नेपाली कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । १६ वर्ष पहिले तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) को साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएका नेता मल्ललाई प्रधानमन्त्री देउवाले दोस्रोपटक कारबाही गर्दा स्पष्टीकरणको मौकासमेत दिइएको छैन ।

बिहेवारी सम्बन्धका कारण नजिकैको दाजु नाता पर्ने प्रधानमन्त्री देउवाबाटै प्रभावित भएर कांग्रेसको राजनीतिमा सक्रिय भएका मल्लले २०४७ सालमा पहिलोपटक देउवासँग भेटघाट गर्ने अवसर पाउनुभएको थियो । त्यतिबेला देउवा गृहजिल्ला डडेल्धुरामा संगठन बिस्तार गर्न सक्रिय हुनुहुन्थ्यो । नेपाल विद्यार्थी संघ डडेल्धुरा जिल्ला कार्यसमितिको उपाध्यक्ष रहेका मल्लले जनता मावि सकायलको प्राङ्गणमा कांग्रेसले आयोजना गरेको आमसभामा पहिलोपटक देउवासँग भेटघाट भएको बताउनुभयो ।

बाल्यकालमै बुबा गुमाएका मल्लले जेठो छोरो हुनुका कारण पारिवारिक जिम्मेवारी हुँदाहुँदै पनि देउवाकै सल्लाहमा नेपाली कांग्रेसको पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा होमिने निर्णय गर्नुभयो । संगठन विस्तारका क्रममा सांस्कृतिक टोलीको नेतृत्व गरेर सुदूरपश्चिम प्रदेशका सबै जिल्लासम्म पुगेका मल्लले देउवाका चुनावी आमसभाहरूमा गीत गाएर मतदाता प्रभावित पार्ने गरेको नेपाली कांग्रेस डडेल्धुराका पाका नेता भरत नेपालीले बताउनुभयो ।

२०५३ सालमा नेपाली कांग्रेस डडेल्धुराबाट पार्टीको नवौं महाधिवेशनमा सबैभन्दा कान्छो महाधिवेशन प्रतिनिधिमा छनोट भएका मल्लले २०५४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा डडेल्धुरा जिल्ला विकास समितिको उपसभापति पदमा प्रतिस्पर्धा गर्नुभएको थियो । राप्रपा र एमालेबीच चुनावी तालमेल भएपछि झिनो मतले पराजित मल्ल नेपाली कांग्रेस डडेल्धुराको तेस्रो जिल्ला अधिवेशनबाट पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा निजी सचिवालयमा सहसचिव र दोस्रोपटक प्रधानमन्त्री हुँदा स्वकीय सचिवको जिम्मेवारी निर्वाह गर्ने अवसर मल्लले पाउनुभएको थियो ।

२०६७ सालमा पाँचौं जिल्ला अधिवेशनमार्फत नेपाली कांग्रेस डडेल्धुराको सभापतिमा निर्वाचित मल्लसँग प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाको दूरी बढ्न थालेपछि प्रधानमन्त्री देउवा र मल्लबीच खटपट शुरू भएको जानकारहरू बताउँछन् । जिल्लामा कांग्रेसको संगठन निर्माणमा कुनै भूमिका नभएका तर चाकडी च्याप्लुसी गरेर राजनीति गरिरहेका केही नेताकार्यकर्ताले मल्लविरुद्ध डा. आरजुलाई अनावश्यक कुरा लगाएर दूरी बढाउन सफल भएको नेपाल महिला संघ डडेल्धुराकी निवर्तमान सभापति कमला विष्ट बताउनुहुन्छ ।

‘उसो त २०३६ सालदेखि २०५३ सालसम्म नेपाली कांग्रेस डडेल्धुराको नेतृत्व गरेका हीरादत्त भट्ट, २०५३ देखि नेपाली कांग्रेस डडेल्धुराको सभापति भएका रामचन्द्र चटौत र पूर्वसभापति शेरबहादुर ढाँट सबै प्रधानमन्त्री देउवाबाट पेलिएकैै हुन्’, नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान उपसभापति करुणाकर भट्टले भन्नुभयो – ‘जिल्लास्तरमा सम्भावना बोकेका

नेताहरूलाई प्रधानमन्त्री देउवाले उँभो लाग्न दिनुभएको छैन ।’
प्रधानमन्त्री देउवाले नचाहेर पनि नेपाली कांग्रेस डडेल्धुराको छैटौं जिल्ला अधिवेशनबाट पुनः जिल्ला सभापतिमा निर्वाचित मल्ल २०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. ख बाट निर्वाचित हुनुभएको थियो । वाम गठबन्धन भएकाले प्रधानमन्त्री देउवालाई समेत चुनाव जित्न मुस्किल परेका बेला प्रदेश सभामा निर्वाचित मल्ललाई प्रधानमन्त्री पत्नी डा. आरजुले सार्वजनिक कार्यक्रममै ‘वीर’भन्दै डडेल्धुरामा कांग्रेसको संगठन सुुदृढ बनाउन निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनका क्रममा मल्लले आफू निकटस्थ नेताहरूलाई नेतृत्व हस्तान्तरण गर्ने र देउवाले मल्ल निकटस्थ नेता कार्यकर्तालाई पाखा लगाउने खेल खेलेकाले डडेल्धुरा कांग्रेस विभाजनको अवस्थामा पुगेको युवा नेता सन्तोष देउवा बताउनुहुन्छ ।

‘जिल्ला कार्यसमितिबाट सिफारिस भएका ४ सय ६० क्रियाशील सदस्यहरूको नामावाली हटाएर केन्द्रबाटै ३ सय १२ जनालाई थप्ने काम भयो’, मल्ल नेतृत्वको जिल्ला कार्यसमिति सदस्य रहेका युवा नेता देउवाले भन्नुभयो– ‘क्रियाशील सदस्यता विवाद अन्त्य गरेर मात्रै जिल्ला अधिवेशनमा जाने निर्णय जिल्ला कार्यसमितिले गरेको थियो, तर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले सत्ता र शक्तिको आडमा सुदूरपश्चिमभरिका प्रहरीलाई डडेल्धुरामा खटाएर गाउँ, स्थानीय र जिल्ला अधिवेशन एकपक्षीय रूपमा सम्पन्न गरेपछि असन्तुष्टि चुलिएको हो ।’

विधिसम्मत रूपमा जिल्ला अधिवेशन हुनुपर्ने माग राख्दै नेपाली कांग्रेस मुख्यालयसम्म अनशनसहितका विरोध कार्यक्रम सम्पन्न गरेको मल्ल समूहले सातांै जिल्ला अधिवेशनबाट चयन भएको नेतृत्वलाई अस्वीकार गर्दै सामानान्तर गतिविधि सञ्चालन गर्दै आएको थियो । आसन्न स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा आफू निकटस्थ नेताकार्यकर्तालाई पनि टिकट दिएर उम्मेदवार बनाउनुपर्ने माग अघि सारेको मल्ल समूहका नेताकार्यकर्तालाई उपेक्षा गरिएपछि सिंगो समूहलाई नेपाली कांग्रेस (बीपी) मा समाहित गराएर एमालेसँग चुनावी तालमेल गरिएको हो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले विजयी भएका सदरमुकामस्थित अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाका साथै प्रधानमन्त्री देउवाको गृह गाउँपालिका गन्यापधुरामा मल्ल समूहका नेताहरूलाई नेतृत्व दिइएको छ भने कांग्रेस विजयी भएका परशुराम, भागेश्वर र माओवादी विजयी भएको अजयमेरु गाउँपालिकामा एमालेको नेतृत्वमा साझा उम्मेदवारहरू अघि सारिएका छन् ।‘मल्ल समूहले यसअघि एमाले निर्वाचित स्थानीय तहमा आफ्ना हेबिवेट उम्मेदवारलाई एमालेसहितको तालमेलमा उम्मेदवार बनाएको छ,’ नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले भन्नुभयो– ‘सत्तारूढ दलहरूबीच गठबन्धन नभएकाले डडेल्धुराको स्थानीय तह निर्वाचनमा कांग्रेसको असन्तुष्ट मल्ल समूह र एमालेबीचको गठबन्धन बलियो बन्ने देखिएको छ ।’

मल्ल समूहसम्बद्ध नेपाली कांग्रेस (बीपी)बाट अमरगढी नगरपालिकाका लागि अधिवक्ता हरिप्रसाद भट्टलाई नगरप्रमुखमा अघि सारिएको छ भने नेकपा (एमाले)का पाका नेता प्रदेश समिति सदस्य यज्ञराज भट्ट नगर उपप्रमुखको उम्मेदवार बन्नुभएको छ । नवदुर्गा गाउँपालिकामा नेपाली कांग्रेस (बीपी)बाट गोकुलबहादुर शाही अध्यक्ष र नेकपा (एमाले) बाट वीरबहाुदर विष्ट उपाध्यक्षका उम्मेदवार बन्नुभएको छ ।

प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेस (बीपी) का सुरेन्द्रबहादुर माली अध्यक्ष र एमालेका इन्द्रबहादुर महरा उपाध्यक्षका उम्मेदवार बन्नुभएको छ भने अजयमेरु गाउँपालिकामा एमालेका अधिवक्ता पदम पाल अध्यक्ष र नेपाली कांग्रेस (बीपी) का रामचन्द्र ऐर उपाध्यक्षका उम्मेदवार बनेका छन् ।भागेश्वर गाउँपालिकामा एमालेका रामबहादुर शाही अध्यक्ष र नेपाली कांग्रेस (बीपी) का नरेन्द्र ठकुराठी उपाध्यक्षका उम्मेदवार बनेका छन् । परशुराम नगरपालिकामा एमालेका केशव बोहरा नगर प्रमुख र नेपाली कांग्रेस (बीपी)की गोपा थापा नगर उपप्रमुख उम्मेदवार बन्नुभएको छ ।

आलिताल गाउँपालिकामा भने एमाले र नेपालीकांग्रेस (बीपी) का उम्मेदवारहरूले छुट्टाछुट्टै प्रतिस्पर्धा गरिरहेका छन् । ‘सातवटै स्थानीय तहमा मात्रै नभई ५२ वटै वडासम्म एमाले र नेपाली कांग्रेस (बीपी) को चुनावी तालमेल भएको छ,’ नेकपा (एमाले) डडेल्धुराका अध्यक्ष प्रकाशबहादुर साउदले भन्नुभयो– ‘कर्ण मल्लजीको अदम्य साहस र जुझारी संगठनसँग चुनावी तालमेल भएकाले स्थानीय तह निर्वाचनमा हामी सहजै जित्ने सुनिश्चितजस्तै भएको छ ।’