नयाँ वर्षको हेल्थ एजेन्डा

0
Shares

  • प्रा.डा. प्रकाशराज रेग्मी
प्रा.डा. प्रकाशराज रेग्मी मुटुरोग विशेषज्ञ

नयाँ वर्ष २०७९ को शुरुवात भएको छ । नयाँ वर्षमा नयाँ कुरा सोच्नुपर्छ, नयाँ काम गर्नुपर्छ । नयाँ जोश, जाँगर, उमंग पनि यो समयमा थपिन्छ । नयाँ कामको शुरुवात गर्ने यो अत्यन्तै उपयुक्त समय हो । यो समयमा आफ्ना नराम्रा बानीहरु केही छन् भने त्यसलाई सुधार्ने र केही असल अनि स्वास्थ्यवद्र्धक कार्यको शुरुवात गर्नुपर्छ । यसलाई मैले ‘नयाँ वर्षको हेल्थ एजेन्डा’ भन्ने गरेको छु ।

हामीले आफन्त र साथीसंगीहरुलाई नयाँ वर्षको शुभकामना दिने गर्दछौं । यस अवसरमा सुख, सुस्वास्थ्य र समृद्धिको कामना गर्दछौं । अरुलाई सुस्वास्थ्यको कामना गर्दा आफ्नो सुस्वास्थ्यका बारेमा पनि सोच्नु र यसका लागि योजना बनाउनु बुद्धिमानी हुन्छ । सर्वप्रथम आफू स्वस्थ रहने र त्यसपछि अरुलाई स्वस्थ बनाउन सहयोग पुर्याउने नयाँ सोच लिनु उपयुक्त हुन्छ ।

२०७९ सालका लागि तपाईंको हेल्थ एजेन्डा के छ ? यसबारे केही विचार गर्नुभएको छ कि छैन ? यदि छैन भने मैले तपाईंका लागि नयाँ वर्ष २०७९ का पाँच हेल्थ एजेन्डा तयार पारेको छु । आउनुस्, अब यी पाँचैवटा एजेन्डामाथि छलफल गरौं ।

१. स्वास्थ्यको सबैभन्दा ठूलो शत्रुलाई त्याग्नुहोस्
यो पहिलो र प्रमुख एजेन्डा हो । चुरोट, बिँडी, सुर्ती, खैनीजस्ता सुर्तीजन्य पदार्थहरु मानव स्वास्थ्यका लागि सबैभन्दा ठूला शत्रु हुन् । सुर्ती सेवन गर्ने दुईजनामध्ये एकको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण उत्पन्न हुने रोगबाट हुन्छ । सुर्ती त्याग सुस्वास्थ्यका लागि सबैभन्दा ठूलो काम हो । यो वर्ष तपाईं, तपाईंको परिवार, साथीसंगी सुर्तीमुक्त बन्न सक्नुभयो भने यो भन्दा ठूलो उपलब्धि अरु केही चाहिँदैन । तपाईंले बाँड्ने शुभकामनामा यो एजेन्डा प्रमुख बनोस् ।

२. स्वास्थ्यको सबैभन्दा ठूलो मित्रलाई स्वागत गर्नुहोस्
यो दोस्रो महत्वपूर्ण एजेन्डा हो । विश्व स्वास्थ्य संगठनले मानव स्वास्थ्य सुरक्षा र प्रवद्र्धनका लागि चुरोट, सुर्ती त्यागपछि दोस्रो नम्बरमा स्वस्थ र सन्तुलित आहारलाई राखेको छ । स्वस्थ आहार सुस्वास्थ्यका लागि परम मित्रसमान हो । यसलाई स्वागत गर्नु र अँगाल्नु सुस्वास्थ्यका लागि अपरिहार्य छ । यो तपाईंको दोस्रो हेल्थ एजेन्डा हो । स्वस्थ आहार भनेको के हो ? यसलाई नयाँ किसिमले सोचौं । स्वस्थ आहारबारे धेरै नयाँ अवधारणाहरु आएका छन् । यसबारे छोटो चर्चा गर्न चाहन्छु ।

अखचि वनस्पति घिउ र धेरैपल्ट तताएको वनस्पति तेलमा बढी पाइन्छ ।

क) पौष्टिक तत्वहरुको सन्तुलन मिलाउने :
स्वस्थ आहारको पहिलो सर्त पौष्टिक तत्वहरुको सन्तुलन हो । पौष्टिक तत्वहरु भनेको कार्बोहाइड्रेट्स (गुलियो पदार्थहरु, अन्न, आलु आदि), फ्याट (घिउ, तेल, बोसोजस्ता चिल्लो पदार्थहरु), प्रोटिन (माछा, मासु, अण्डा, दूध, गेडागुडी आदि), भिटामिन र मिनरल्स (सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियमजस्ता लवणहरु) आदि हुन् । हामीले खाने दैनिक आहारमा यी सबै पौष्टिक तत्वहरु सन्तुलित मात्रामा हुनुपर्छ । खानाबाट हामीलाई ऊर्जा प्राप्त हुन्छ । एक ग्राम कार्बोहाइड्रेट्स र प्रोटिनले चार क्यालोरी ऊर्जा दिन्छ भने त्यति नै मात्रा फ्याटले नौ क्यालोरी ऊर्जा दिन्छ । हामीलाई तीनै प्रकारका पौष्टिक तत्वबाट बराबर मात्रामा ऊर्जा प्राप्त भएको हुनुपर्दछ । अथवा कार्बोहाइड्रेट्सबाट एक तिहाइ, फ्याटबाट एक तिहाइ र प्रोटिनबाट एक तिहाइ ऊर्जा पाउने आहारलाई ऊर्जाको दृष्टिकोणले सन्तुलित मानिन्छ । यसबाहेक खानामा प्रशस्त भिटामिनहरु र मिनरलहरु पनि हुनुपर्दछ । यो सबै भयो भने आहार सन्तुलित बन्दछ ।

ख) फाइबर बढी भएको खाना छनोट गर्ने :
फाइबर (रेसा) बढी भएको आहार स्वस्थ मानिन्छ । फाइबरले मुटुरोग, मधुमेह, कोलेस्टेरोल, क्यान्सरजस्ता नसर्ने रोगहरुको रोकथामलगायत अन्य धेरै स्वास्थ्य समस्याको समाधानमा सकारात्मक प्रभाव पार्दछ । फलफूल, हरियो सागपात, गेडागुडी, अन्नहरु आदिमा धेरै फाइबर पाइन्छ । अन्नहरुको बाहिरी बोक्रामा धेरै फाइबकर हुन्छ । मिलमा पिसेका अन्नहरुमा फाइबरको मात्रा कम हुन्छ ।

ग) प्रशोधन नगरिएका खानाको छनोट गर्ने :
बजारमा बेच्न राखिएका प्याकेटका, बोतल र बट्टाहरुभित्रका खानेकुराहरु प्रशोधन गरिएका हुन्छन् । यस्ता खानेकुराहरुमा फाइबर कम हुन्छ र नुन, चिनी बढी हुन्छ । भिटामिन कम हुन्छ र स्वास्थ्यलाई हानि पुग्ने रसायनहरु रहेका हुन्छन् । आकर्षक बोतलमा सजिएका वनस्पति तेलहरु, आकर्षक बट्टामा सजिएका कुनै पनि व्यावसायिक ब्रान्डको नामबाट बिक्री हुने खानेकुरा प्रशोधन गरिएको हुन्छ ।

यस्ता खानेकुराले स्वास्थ्यलाई हानि गर्छ । बजारबाट खाद्यसामग्री किनेर ल्याई घरमा पकाएर खानु राम्रो हुन्छ । बजारबाट तेल, चामल, पिठो आदि किन्दा प्रशोधन नगरिएको छनोट गर्नुपर्दछ । चामल जति खस्रो भयो त्यति राम्रो मानिन्छ ।

घ) खानामा चिनी, नुन र ‘अखचि’को प्रयोग कम गर्ने :
सुस्वास्थ्यका लागि चिनी नखाए पनि हुन्छ, नुन दैनिक ५ ग्रामभन्दा कम चाहिन्छ अनि अखचि अर्थात् अति खराब चिल्लो (ट्रान्सफ्याट) खानुहुँदैन । अखचि वनस्पति घिउ र धेरैपल्ट तताएको वनस्पति तेलमा बढी पाइन्छ । खाना खाँदा त्यसमा नुन, चिनी र अखचिको मात्रा कति छ त्यसबारे जानकारी लिएर मात्र खाने गर्नुपर्दछ । यिनीहरुले थाहा नपाइने तरिकाले स्वास्थ्यलाई हानि पुर्याइराखेका हुन्छन् । हिजोआज तीव्र वृद्धि भइरहेको नसर्ने रोगहरुको एउटा मुख्य कारण अत्यधिक नुन, चिनी र अखचिको सेवन पनि हो ।

ङ) खानाको मात्रामा नियन्त्रण गर्ने :
खाना स्वस्थ छ भने पनि त्यो ठीक मात्रामा खाने गर्नुपर्दछ । धेरै खानु रोगलाई निम्त्याउनु हो । पेटको ८० प्रतिशतभन्दा कम मात्र भोजन गर्नु स्वास्थ्यवद्र्धक मानिन्छ । थोरै खाने मानिस दीर्घजीवी हुन्छन् भन्ने थुप्रै प्रमाणहरु पाइएका छन् । खानाले शरीरको अवश्यकता पूर्ति गर्नुपर्दछ । आवश्यकभन्दा बढी खानाले रोगी गराउँछ । थोरै खाएर बाँच्न सिक्नु एउटा स्वास्थ्यवद्र्धक कला हो । यसको अनुशरण गर्नु उपयोगी हुन्छ ।

 

सुस्वास्थ्यका लागि रिटायर्ड हुनु राम्रो होइन, बाचुन्जेल काम गर्नुपर्छ ।

३. शारीरिक सक्रियता बढाउनुस्
यो तेस्रो महत्वपूर्ण हेल्थ एजेन्डा हो । शारीरिक रुपमा सक्रिय रहनु स्वास्थ्यवद्र्धक मानिन्छ । दीर्घ जीवनका लागि थोरै भोजनपछिको यो अर्को महत्वपूर्ण सूत्र हो । शारीरिक सक्रियता भनेको व्यायाम होइन तर शरीरलाई चलायमान बनायो भने व्यायाम आफैं हुन्छ । कस्सिएर व्यायाम नै गर्नुपर्छ भन्ने छैन । शरीरलाई स्थिर राख्नुहुँदैन, यताउता चलिराख्ने, हिँडिराख्ने र शारीरिक काम गरिराख्ने हुनुपर्छ । शारीरिक सक्रियताले शरीरमा रक्त सञ्चालनको गतिलाई बढाउँछ, जसबाट धेरै स्वास्थ्य लाभ हुन्छ । थोरै खाने र धेरै हिँड्ने बानी असाध्य राम्रो मानिन्छ ।

४. उत्तेजना नियन्त्रण
उत्तेजना, आवेग, क्रोधजस्ता बानी–व्यहोरा र मानसिक अवस्थालाई नियन्त्रण गर्न सके स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । यो तपाईंको चौथो हेल्थ एजेन्डा हो । मानसिक र शारीरिक विस्फोट (दुर्घटना) को मुख्य कारण उत्तेजना हो । उत्तेजित मनस्थितिमा मान्छेलाई हृदयघात, मस्तिष्कघातजस्ता प्राणघातक रोग लाग्दछन् । यस्तै प्रकारले उत्तेजना, क्रोध, तनाव आदिबाट धेरै रोगहरु उत्पन्न हुन्छन् । उत्तेजनाको नियन्त्रण र व्यवस्थापन सुस्वास्थ्यका लागि आवश्यक छ । यसका लागि योग, साधना र आध्यात्मिक चिन्तनको बाटो समाउनु सबैभन्दा उपयुक्त हुन्छ ।

५. कार्यनिवृत्त (रिटायर्ड) नहुने
हामीकहाँ ६० वर्ष पुगेपछि कामबाट रिटायर्ड हुने चलन छ । सुस्वास्थ्यका लागि रिटायर्ड हुनु राम्रो होइन । बाचुन्जेल काम गर्नुपर्छ, रिटायर्ड अर्थात् कार्यनिवृत्त हुनुहुँदैन । आफूलाई सुख, सुखी र आनन्द दिने काम निरन्तर गरिनै रहनुपर्दछ । तपाईंको एउटा बाँच्ने उद्देश्य हुनुपर्दछ । त्यो उद्देश्य प्राप्तिका लागि शारीरिक र मानसिक रुपमा निरन्तर सक्रिय भइराख्नुपर्दछ । यस्तो सक्रियताले तपाईंलाई सुस्वास्थ्य प्रदान गर्दछ ।

अन्त्यमा सम्पूर्ण पाठकहरुलाई यी ५ हेल्थ एजेन्डासहितको नयाँ वर्षको शुभकामना व्यक्त गर्दछु ।