‘सैंबुका ८० प्रतिशत जनता एमालेको पक्षमा’


ललितपुर  ।

नेकपा एमालेबाट ललितपुर महानगरपालिका–१८ का वडाध्यक्ष पदका उम्मेदवार दामोदर खड्काले सैंबुका ८० प्रतिशत जनता आफ्नो पक्षमा रहेको बताउनुभएको छ । बुधबार नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

विगत ४० देखि ४५ वर्ष अघिदेखि आफू राजनीतिक क्षेत्रमा लागेको जानकारी गराउँदै खड्काले वडावासीको हितमा सदैव निष्पक्ष रूपमा काम गर्दै हिँडेको दाबीका साथ आसन्न निर्वाचनमा आफ्नो टिमको जित सुनिश्चित रहेको मत व्यक्त गर्नुभएको थियो । ‘मैले वडाबासी बालबालिकाका साथै महिला तथा वृद्ध तीनै पुस्ताको हितमा काम गर्दै आएकाले उहाँहरुले हामीलाई नै सहयोग गर्नुहुन्छ’, उहाँले भन्नुभयो– ‘मेरो कामप्रति वडाबासी ज्यादै खुसीका साथै सन्तुष्ट पनि देखिनुहुन्छ । मलाई निष्पक्ष अनि अन्याय र अत्याचारका विरुद्ध लड्ने व्यक्तिका रूपमा यहाँका साथीहरुले सदैव लिने गर्नुभएकाले पनि विजयको माला लगाउन मात्रै बाँकी रहेको छ ।’

आसन्न निर्वाचनमा विजयपश्चात् वडामा रहेको गरिबी तथा बेरोजगारको समस्या समाधान गर्ने, हरेक घरमा एक वर्षभित्र पानीको धारा जडान गरी यथेष्ठ पानीको सुविधा पु-याउने, हरेक घरमा सवारीसाधन पुग्न सक्ने पक्की सडकको निर्माण गरिने, वडावासीलाई विभिन्न किसिमको सीपयुक्त तालिम प्रदान गरिने, वडाभित्र प्राथमिक तहदेखि स्नात्तकोतर तहसम्म ‘शैक्षिक विकास कोष’ खडा गरी निःशुल्क शिक्षा प्रदान गरिने, वडामा रहेका साना किसानका हितमा ‘किसान विकास कोष’ खडा गरी २ लाखदेखि १० लाख रूपियाँसम्मको निब्र्याजी ऋण प्रदान गरिने, वडाभित्र करेसाबारी तथा तरकारी व्यवसाय गर्नेका लागि बीउबिजन र बिरुवाबिना शुल्क उपलब्ध गराई त्यसको उत्पादनलाई पटक–पटक निरीक्षण र अनुगमन गरी हप्ताको एक दिन हाटबजार सञ्चालन गरिने, वडाभित्रका बस्तीलाई आवश्यकताअनुसार सांस्कृतिकरूपमा सजाइने, वडाका सामुदायिक विद्यालयलाई निजीसरह स्तरीकरण गर्दै अङ्ग्रेजी माध्यमबाट अध्ययन तथा अध्यापन गराउनका लागि शिक्षक लगायत आवश्यक भौतिक संरचनाको समेत व्यवस्था गरिने आफ्नो योजना रहेको खड्काले जानकारी गराउनुभयो ।

त्यस्तै, बढ्दो शहरीकरणका कारण वडामा स्वच्छ तथा हरियाली कायाम गराउन वृक्ष तथा बोटविरुवा रोपण गरी सन्तुलित वातावरण कायम गराउने, वडामा एक चिकित्सकसहितको प्राविधिक टोली २४औं घण्टा खडा गरिने, बेरोजगार युवालाई रोजगार प्रदान गर्न वडाभित्रै सञ्चालन भइरहेको संघ–संस्था तथा होटल, रेस्टुरेन्ट आदिमा कम्तीमा एक वर्षका लागि काममा लगाई ९९ प्रतिशत बेरोजगारको समस्या अन्त्य गर्ने लक्ष्य रहेको उहाँको कथन छ ।

२०४९ सालमा सैंबुका वडाध्यक्ष जित्नुभएका खड्काले सोहीमार्फत जिल्ला विकास समितिका सदस्य, २०५४ सालमा पुनः जिल्ला विकास समिति सदस्य, १० वर्ष नगर विकास समितिअन्तर्गत सैंबु आवास आयोजनाको बोर्ड सदस्यका रूपमा आयोजनाका कामलाई जनताका लागि बढीभन्दा बढी लाभदायी हुने गरी आयोजनाका काम अघि बढाइएको जिकीर गर्नुभयो । शुरुमा सैंबु विकासका लागि १ करोड रुपियाँ बजेटबाट थालिएको काममा पछि बीसौं करोड बजेट भित्र्याउन आफू सफल भएको उहाँको दाबी छ ।