मकवानपुर कांग्रेसले तोक्यो पालिका संयोजक

0
Shares

हेटौंडा

वैशाख ३० गते हुने निर्वाचन अभियानलाई प्रभावकारी बनाउन नेपाली कांग्रेस मकवानपुरले पालिका संयोजक तोकेको छ । बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले १० वटै स्थानीय तहका लागि पालिका संयोजक तोकेको हो ।

स्थानीय निर्वाचन सञ्चालन तथा समन्वयका लागि वागमतीमा ईश्वर पाठक, बकैयामा ताराचन्द्र बजगाईं, मकवानपुरगढीमा यतिराज सापकोटा र खेमराज सापकोटालाई संयोजक तोकिएको छ । भीमफेदीमा आनन्द कठायत, इन्द्रसरोवरमा विष्णुप्रसाद लामिछाने, थाहामा अशोक शाक्य, मनहरीमा अर्जुनप्रसाद चौलागाईं, राक्सिराङमा उमा दाहाल, हेटौंडामा माइकल रामचन्द्र अर्याल र कैलाशमा शैलेन्द्र बानिया“लाई संयोजक तोकिएको कांग्रेस मकवानपुर प्रवक्ता अर्जुनप्रसाद चौलागाईंंले जानकारी दिनुभयो ।

जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन व्यवस्थितढंगले मतदाता भेटघाट, प्रचारप्रसार अभियान सञ्चालन र व्यवस्थापन गर्न संयोजक तोकेको जनाइएको छ ।

समाजवादीको उम्मेदवारी खारेज

हेटौंडा उपमहानगरपालिका–१ मा खुलातर्फबाट सदस्य उम्मेदवारी दिएका पवन खतिवडाको उम्मेदवारी खारेज भएको छ । खतिवडाले नेकपा (एकीकृत समाजवादी) बाट वडा सदस्य उम्मेदवारी दिनुभएको थियो ।छानबिनका क्रममा खुला वडा सदस्यतर्फ तीन जनाको उम्मेदवारी परेको र सिफारिस प्रमाणित नभएका कारण उहाँको उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिनुभयो । स्थानीय निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकामा मनोनयन दर्ता गरेका एमालेका २ जनाविरुद्ध परेको उजुरी भने खारेज भएको छ ।

नेकपा एमालेबाट हेटौंडा–४ का अध्यक्ष उम्मेदवार नवीन सिग्देल र १९ नम्बर वडाध्यक्ष उम्मेदवार नरनाथ सुवेदीविरुद्धको उजुरी दाबी नपुगेकाले उनीहरुको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।अधिकृत शर्माका अनुसार सिग्देलविरुद्ध अवैधरूपमा उपभोक्ता समिति गठन गरी राज्यकोषको पैसा हिनामिना गरेको र सुवेदीविरुद्ध करछली गरेको उजुरी परेको थियो । दुवैविरुद्धका उजुरी पुष्टि नभएको शर्माको भनाइ छ ।