शिल्पाको उम्मेदवारी सदर


विराटनगर । 

विराटनगर महानगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट उम्मेदवार बनेकी शिल्पा निराला कार्कीविरुद्ध परेको उम्मेदवारी खारेजीको दाबी विरोध निर्वाचन आयोगले खारेज गरेको छ ।

उपमेयरको उम्मेदवार बनेकी कार्कीविरुद्धको दाबी विरोधको उजुरीअनुसार दाबी नपुग्ने भन्दै आयोगले निवेदन बदर गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले बिहीबार जनाएको छ । कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले उपमेयर कार्कीसहित दाबी विरोधको उजुरी परेका चारै जनाको उम्मेदवारी सदर भएको बताउनुभयो ।

उहाँले उपमेयर कार्कीको हकमा दाबी विरोधमा उल्लेख भएको व्यहोराअनुसार निर्वाचन आयोगले मनोनयन जाँच गर्ने अन्तिम समय बिहीबार ५ बजेसम्म कोशी अस्पतालको विकास समितिको सदस्यबाट राजीनामा गरिसकेको देखिएकोले मनोनयन सदर गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा गठबन्धनबाट उपमेयरका अर्का उम्मेदवार जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले दाबी विरोध दर्ता गर्नुभएको थियो । अस्पतालको व्यवस्थापन समितिको सदस्यमा नियुक्ति लिएर कार्कीले सेवा सुविधा लिएको भन्दै यादवले मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा दाबी विरोध दर्ता गराउनुभएको थियो ।