ट्राफिक जरिवाना क्यूआर कोडबाटै तिर्न सकिने


काठमाडौं  ।

काठमाडौं उपत्यकामा ‘क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था शुरू भएको छ । अर्थात् क्यूआर स्क्यान, पे फाइन एन्ड विथड्र डकुमेट सुविधाको थालनी भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैंक लिमिटेडबीच सहकार्यबाट उक्त प्रविधि जडान गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक कार्यक्रमका बीच उक्त सेवा शुभारम्भ गरेको हो । उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बंैक खोज्न भौंतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता विस्थापित भएको छ ।कार्यक्रममा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक नियम उल्लंघन गरे उपर सेवाग्राहीले आफ्नो

डिजिटल वालेट वा मोबाइल बैंकिङ एप्लिकेसनमार्फत मनिटरको स्क्रिनमा देखिएको क्यूआर कोड स्क्यान गरी तोकिएको जरिवाना रकम तिरीसकेपछि तुरुन्तै आफ्नो कागजपत्र लिन सकिने बताउनुभयो ।उहाँले ट्राफिक व्यवस्थापनमा नयाँ नयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगिएको र यसबाट आम सडक प्रयोगकर्तालाई थप सहज, सरल, छिटो र भरपर्दो भएको पनि उल्लेख गर्नुभयो ।

कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख अनिश ताम्राकारले यसरी ट्राफिक प्रहरीसँग सहकार्य गरी काम गर्न पाउँदा धेरै खुसी भएको व्यक्त गर्दै यस व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पारी सहकार्य गर्दै जाने प्रतिबद्धतासमेत जनाउनुभयो ।