गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी अवतरण


बुटवल । 

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी प्रदेशको भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राष्ट्रिय ध्वजावाहक जहाज अवतरण भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात दशकपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० जहाज अवतरण भएको हो । बिहीबार दिउँसो ३ बजे आउने भनिएको जहाज साँझ पौने ६ बजे मात्रै अवतरण भएको थियो । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहीबारदेखि तराई क्षेत्रका अन्तरिक विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुनेछन् । गौतम बुद्ध विमानस्थलमा पनि आजदेखि दैनिक १८ घण्टा र आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि २४ सै घण्टा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुने प्राधिकरणले जनाएको छ । यो विमानस्थल राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएर पूर्ण कार्यान्वयनमा आएको पहिलो आयोजना हो ।

यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरूमा थालनी गरिएको भए पनि ठेकेदार कम्पनीको लापरबाहीले विमानस्थल निर्माणमा ढिलाइ भएको थियो । कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावन मार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घट्ने प्राधिकरणले जनाएको छ ।