हेटौंडामा देखियो बर्डफ्लु


हेटौंडा  ।

हेटौंडा उपमहानगरमा यस वर्ष पनि बर्डफ्लु भेटिएको छ । कुखुरापालनका लागि उर्वर मानिएको वडा नम्बर–७, नागस्वतीका कुखुरा व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा पोल्ट्री फर्ममा रहेका लेयर्स प्रजातिका कुखुरामा बर्डफ्लु भेटिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको हो ।

केन्द्र प्रमुख डा. ब्रजकिशोर ठाकुरले फर्ममा रहेका ४ हजार कुखुरामध्ये सयौंको संख्यामा कुखुरा मरिसकेको बताउनुभयो । बर्डफ्लु शंका लागेपछि पशुसेवा विभाग काठमाडौंमा वैशाख ९ गते नमुना पठाइएकोमा बिहीबार बर्डफ्लु प्रमाणीकरण भएको रिपोर्ट आएको डा. ठाकुरले बताउनुभयो ।बर्डफ्लु प्रमाणित भएको फर्मको कुखुरा नष्ट गर्ने टोली फिल्डमा गएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो । फर्ममा रहेको कुखुरामा बर्डफ्लु प्रमाणित भए पनि आसपासका कुखुरा फर्ममा गरिएको नमुना परीक्षण भने त्यस्तो रिपोर्ट नआएको डा. ठाकुरले जानकारी दिनुभयो ।

आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कुकुरा नष्ट गरिने उहाँले बताउनुभयो । बर्डफ्लु प्रमाणित भएको रिपोर्ट आएपछि नियन्त्रण समितिको बैठक बसेर व्यवसायीलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णयपछि कुखुरा नष्ट गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो ।फागुन अन्तिम साता मकवानपुरमा बर्डफ्लु देखिएको थियो । जिल्ला पशुसेवा विज्ञकेन्द्र तथा भेटेरिनरी अस्पतालका अनुसार जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर–२, आँपचौरस्थित एक कुखुरा फर्ममा बर्डफ्लु देखिएको हो । उक्त क्षेत्रमा कुखुरा मर्न थालेपछि ल्याब परीक्षण गर्दा बर्डफ्लु एचफाइब एनवान नामक भाइरस संक्रमण पुष्टि भएको हो ।

आँपचौरस्थित लीला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएको थियो । थिङको खोरमा पालिएका कुखुरा धमाधम मर्न थालेपछि ल्याब परीक्षण गर्दा बर्डफ्लु संक्रमण भएको पुष्टि भएको हो । थिङको खोरमा रहेका टर्की, लोकल कुखुरा, लौकाट, ब्रोइलर र परेवा मरेका थिए ।

कुखुरा मरेपछि फागुन २८ गते ल्याब परीक्षण गर्न काठमाडौंस्थित पशुरोग अन्वेषण प्रयोगशालामा नमुना पठाइएको थियो । मकवानपुरमा २०६९ र २०७५ सालमा पनि बर्डफ्लु देखिएको थियो । जिल्लामा करिब १ हजार ३ सय कुखुरापालक किसान छन् ।