गठबन्धनको घोषणापत्र: ७ प्रस्थान बिन्दु दीर्घकालीन योजनाको शुरूआत


 पोखरा  ।

पोखरा महानगरपालिकामा पाँच दलीय गठबन्धनले पाँच वर्षका लागि योजनासहित चुनावी घोषणापत्र सार्वजानिक गरेको छ । समुन्नत पोखराको आधार: सबल अर्थतन्त्र र पूर्वाधार नारासहित गठबन्धनले पोखरालाई समुन्नत बनाउन सातवटा प्रस्थान बिन्दु तय गर्दै त्यसको कार्यान्वयनको आधारसमेत घोषणापत्रमा समावेश गरेको छ । घोषणापत्रअनुसार ६ महिनामा ३ हजार बढीलाई रोजगार प्रदान गर्नेदेखि सुशासन कार्यान्वय गर्नेसम्मको विषय रहेका छन् ।

घोषणा पत्रमा प्राकृतिक स्रोत साधनको उपयोग शीर्षकमा जलाधार क्षेत्रको विस्तृत अध्ययन गरी संरक्षण परियोजना सञ्चालन गर्ने भनिएको छ । फेवाताल संरक्षण र सौन्दर्यकरण परियोजना शुरू गर्ने र ढल व्यवस्था बाइपास ड्रेन बनाई संरक्षण गर्ने उल्लेख भएको घोषणापत्र तालका अतिक्रमणदेखि अहिलेका महानगरको नेतृत्वले गरेको मापदण्ड घटाउने निर्णयका विषयमा भने मौन छ । पोखरा महानगरपालिकामा गठबन्धनले चुनावी घोषणापत्र सार्र्वजानिक गर्न आयोजना गरिएको कार्यक्रममा सर्वोच्चले फेवातालको मापदण्ड ६५ मिटर तोक्न आदेश दिँदा पोखराका मेयर मानबहादुर जिसीले अचानक ३५ मिटर तोकेको विषयमा सोधिएको प्रश्नमा मेयरका उम्मेदवार धनराज आचार्यले कुनै जवाफ नै दिनुभएन वहाँले मापदण्डका बारेमा माइन्युट नै नभएको भन्दै उम्किनुभयो ।

उहाँले पोखराको आवश्यकता महसुस गरी साझा उम्मेदवारसहित आएको र समृद्घिको सपना देखाउँदै झुक्याएर पाँच वर्ष खेर गएको बताउनुभयो । ओलीतन्त्रले देश खाएको आरोप लगाउँदै उहाँले भन्नुभयो– ‘कहिले पटक–पटक संसद् विघटन गर्ने नाममा, दम्भ र अहंकारी ओलीतन्त्रले स्थानीय तहदेखि केन्द्रसम्म रजगज ग-यो ।’उहाँले पोखराको विकासको बारेमा भन्नुभयो – ‘पोखरा महानगरपालिकाको समग्र विकास र समुन्नतिका लागि स्थानीय आवश्यकतालाई प्राथमिकतामा राख्दै ७ वटा प्रस्थान बिन्दु तय गरेका छौं । यसका लागि क्षेत्रगत योजना, प्राथमिकता र ७ वटा प्रतिबद्घता कार्यान्वयनका आधार र कार्ययोजनासहित हामी प्रस्तुत भएका छौं ।’

अबको महानगर कस्तो हुने भन्नेतर्फ गम्भीर रहँदै सबैभन्दा पहिला महानगरलाई डिजिटल महानगर बनाउने उहाँको भनाइ थियो । उहाँले फेवातालको विषयमा बोल्दै पाँच वर्ष कुनै पनि किसिमका विवाद आउनै नदिने स्पष्ट पार्नुभयो । पर्यटकीय क्षेत्रमा २४ सै घण्टा सेवा दिँदै पोखरालाई चलायमान बनाउने जिकिर गर्दै उहाँले पोखरालाई दीर्घकालीन विकास गर्नका लागि रिङरोडको खाँचो रहेको र तत्कालै नसकिने हुँदा कार्यको थलानी आफ्नो कार्यकालमा गर्ने प्रतिबद्धता उहाँको छ । उहाँले लेखनाथमा ठूलो बसपार्क बनाउनेदेखि विमानस्थलबाट मुस्ताङचोकसम्म फास्ट ट्रयाक बनाउन शुरू गर्ने प्रतिबद्धता पनि बताउनुभयो ।

यसैबीच, नगर प्रमुख, उपप्रमुख, पालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्ष र सदस्यहरू मत माग्दै घरदैलो अभियानलाई तीव्रता दिइरहँदा कास्की कांग्रेसको विवाद भने टुंगिएको छैन । सुरूआतदेखि नै पोखराको प्रमुख र वडा अध्यक्षसमेत कांग्रेसले नै पाउनुपर्ने माग राख्दै आएको भए पनि केन्द्रले जिल्लाको माग सम्बोधन नगरेपछि यतिबेला पोखरामा गठबन्धनको भविष्य राम्रो देखिएको छैन ।पोखरा महानगरपालिकामा गठबन्धनले चुनावी घोषणापत्र सार्र्वजानिक गर्ने क्रममा कांग्रेसका कार्यकर्तामा अराजकता देखियो । उनीहरूले आन्दोलन गर्दै केहिबेर पत्रकारलाई आउजाउमा रोक लगाए । यतिमात्र होइन कास्की कांग्रेसका नेता तथा पदाधिकारी रकममा बेचिएको समेत आरोप लगाउँदै मन्त्रीलाई कालोमोसो लगाउनेसमेत बताए ।

घोषणापत्र सार्वजानिक कार्यक्रममा सहभागी हुन आएका गण्डकी प्रदेशका कानुन तथा सञ्चार मन्त्री बिन्दुकुमार थापालाई कार्यकर्ताले रोकेरै कालोमोसो लगाउने चेतावनी दिएका थिए ।कार्यक्रममा सहभागी हुन पुगेका थापालाई गेटमै घेरेर पोखरा १८ र २४ का कांग्रेस कार्यकर्ताले आज अर्कै चिह्नमा भोट हाल्न लगाउने, भोलि चुनाव आउँछ । त्यतिबेला चुनाव जित्नुपर्दैन ? भन्दै प्रश्नसमेत गरेका थिए ।एक्लै चुनाव लडेर जित्ने अवस्था हुँदाहुँदै गठबन्धन गर्न नहुने वडाका कांग्रेस नेता–कार्यकर्ताको धारणा थियो । पोखरामा मात्रै नभई रूपा गाउँपालिकामा समेत कार्यकर्ताहरूमा असन्तुष्टि देखिएको छ । उनीहरूले पनि नेताहरूले कांग्रेसलाई सिध्याउन लागेको आरोप लगाइरहेका छन् ।

बाहिर कार्यकर्ताले नाराबाजी गर्दै असन्तुष्ट पोखिरहँदा कार्यक्रमभित्र कांग्रेसबाट उपमेयरको उम्मेदवार बन्नुभएको कोपिला रानाभाटले भने गठबन्धनलाई कसैले रोकेर नरोकिने बताउनुभयो । उहाँले गठबन्धन आजको आवश्यकता रहेको जिकिर गर्दै भन्नुभयो– ‘गठबन्धनलाई कसैले रोकेर नरोकिने र देश संकटमा गएपछि राष्ट्रियता जोगाउनका लागि विभिन्न पार्टीहरू एक भएको अवस्था हो ।’

कांग्रेस प्रदेश कार्यालयमा तोडफोड २३ जना पक्राउ

नेपाली कांग्रेस गण्डकीको पोखरा ३, तेर्सापट्टिस्थित पार्टी कार्यालयमा बिहीबार कार्यकर्ताले तोडफोड गरेका छन् ।कांग्रेसको पार्टी कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । घोषणापत्र सार्वजानिक कार्यक्रम जबरजस्ती भएपछि कार्यकता पार्टी कार्यालय पुगेका थिए । उनीहरूले त्यहाँ पुगि केही समय नाराबाजी गरेपछि तोडफोड गरेका थिए ।पोखरा १८ र २४ नम्बर वडाध्यक्षमा उम्मेदवारी दिएका वडाध्यक्षलाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिएपछि स्थानीय कार्यकर्ताले विरोध गर्दै तोडफोड गरेका हुन् ।