आर्ट फेस्टिबलमा उत्साहवद्र्धक सहभागिता


काठमाडौं  ।

नेपाल ओलम्पिक कमिटीको आयोजनामा बिहीबार भएको आर्ट फेस्टिबलमा ६२ विद्यार्थीको सहभागिता रहेको छ । चीनको हाङचोउमा हुने एसियाली खेलकुद प्रचार प्रसारका क्रममा आर्ट फेस्टिबलको आयोजना गरिएको हो । विश्व खेलकुदका कुनै ठूलो महोत्सव अगाडि विद्यार्थी सम्मिलित यस्तो महोत्सव आयोजना गर्ने परम्परा छ ।

फेस्टिभलमा १७ स्कुलका विद्यार्थीको सहभागिता रहेको हो र यी सबैलाई यहि आउने मंगलबार वैशाख २० गते प्रदर्शनमा राखिनेछ । यसमा सहभागी हुनेमध्येबाट ब्वाइजतर्फ ५ र गल्र्सतर्फ ५ उत्कृष्ट चयन गरिनेछ । यसलाई ओलम्पिक काउन्सिल अफ एसियामा पठाइने छ र उसले थप छनोट गर्दै हाङचोउमा हुने प्रदर्शनमा राखिनेछ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले महोत्सवको उद्घाटन गर्नु हुँदै प्रतिकात्मक रूपमा चित्र कोर्नुभएको थियो । उहाँले चित्रकला र खेलकुदबीच नजिकको सम्बन्ध रहेको बताउनुभयो । त्यस क्रममा करातेका मन्डेकाजी श्रेष्ठ र टेबल टेनिसका मुना वासुकलाले आफूले कारेको चित्र प्रस्तुत गर्नुभयो ।

यसै क्रममा उहाँहरूले आफ्नो खेल खेल जीवनको अनुभवबारे पनि बताउनुभयो । उहाँ आफू खेलकुदबाट कसरी आकर्षित भयो भनेर पनि सहभागी विद्यार्थीसँग अनुभव साट्नुभएको थियो । कमिटीका वरिष्ठ उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले चित्रकलाको माध्यमबाट नेपाली खेलकुदबारे नयाँ पुस्तामा जानकारी दिन पाएको खुसी व्यक्त गर्नुभयो ।