अल्मुताइरीको प्रशिक्षणमा खेल्न चाहेनन्


 काठमाडौं ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी विवादमा फेरि फसेका छन् । राष्ट्रिय टोलीका फुटबलरहरूले बिहीबार एक पत्रकार सम्मेलनमा अल्मुताइरीको प्रशिक्षणमा खेल्न नसेको बताएका हुन् । अल्मुताइरीको प्रशिक्ष्ँणमा रहेका १० खेलाडीले मंगलबार क्लोज क्याम्प छाडेका थिए । नेपालका चर्चित डिफेन्डर रोहित चन्दलाई निकालेसँगै अन्य ९ खेलाडीले पनि क्लोज क्याम्प छाडेका थिए ।

यसै विषयमा आयोजित पत्रकार सम्मेलनमा बताएअनुसार होटेलमा राख्न अनुरोध गरेका सिनियर फुटबलर चन्दलाई अल्मुताइरीले टोलीबाट निष्कासित गरेका थिए । उनले एन्फाको होस्टलमा बस्न त्यति सुविधाजनक नभएको हुँदा होटलमा सार्न अनुरोध गरेका थिए । तर, अल्मुताइरीले उक्त कुरा सुन्नुको सट्टा चन्दलाई टोलीबाट नै हटाइदिएर घरको ढोका देखाइदिए । यसको विरोधमा अन्य चर्चित खेलाडी सुजल श्रेष्ठ, अनन्त तामाङलगायतले प्रशिक्षण शैली चित्त नबुझेको प्रतिक्रिया दिए ।

अनन्त तामाङले व्यक्तिगत स्वतन्त्रतामा पनि प्रश्न चिह्न उठाउने गरेको बताए । उनले अल्मुताइरीले भनेको कुरा यसरी बताए–तेरो कपाल लामो भयो, ट्याटु किन कुदाइएको आदि यस्ता निजी कुरामा पनि दवाव दिने गर्छन् । यस्तो त कतै भएको छैन होला । प्रशिक्षकले यतिसम्म दबाब दिए कि, उनले लेखेका स्टाटससमेत खेलाडीले सेयर गर्नुपर्ने थियो । मानसिक रूपमा धेरै दबाब छ ।विशाल राईले पनि चित्त नबुझेको कुरा भन्दा प्रशिक्षकले निकालिदिन्छु भनेर चेतावनी दिने गरेको बताए । खेलाडीले यस विषयमा एन्फासमक्ष छानविन गर्न पनि आग्रह पनि गरेका छन् । प्रशिक्षण छाडेपछि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई भेटेर खेलाडीले समस्या समाधानका लागि आग्रह गरेका थिए ।

खेलाडीले अल्मुताइरीकै कारण प्रशिक्षण छाड्नु परे पनि उनले नेपालको फुटबलमा क्रमिक सुधारका लागि काम गरेको बताए । अल्मुताइरीकै पहलमा मैत्रीपूर्ण खेल भएको र यसले खेलाडीको आत्मविश्वास बढेको भन्दै विदेशी प्रशिक्षकको प्रशंसा गर्न भने असन्तुष्ट खेलाडी चुकेनन् ।