दहचोकमा नबिल बैंकको शाखा विस्तार


काठमाडौं ।

पछिल्लो समय तीव्र शहरीकरण तथा वित्तीय गतिविधि वृद्धि भइरहेको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ । योसँगै बैंकको शाखा १४८ तथा एटीएम सेवा १८७ पुगेको छ । विसं २०४१ असार १२ गते स्थापना भएको सो बैंकले यस वर्ष १५४ शाखा पु¥याउने लक्ष्य राखेको छ ।

चन्द्रागिरि नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेल र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले संयुक्त रूपमा आज यहाँ आयोजित कार्यक्रममा शाखा शुभारम्भ गर्नुभयो ।समारोहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत शाक्यले स्थानीय समुदायका घर दैलोमा नै बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन शाखा विस्तार गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘विभिन्न बैंक मर्ज गरेर बैंकको सेवालाई अझै विस्तार गर्ने अभियान जारी छ । ‘क्यासलेस’ अवधारणाअनुसार घरमै बसेर नागरिकले सेवा पाउने वातावरण निर्माणमा बैंक लागेको छ । सेवाग्राहीको पहिलो रोजाइको बैंक बनाउने अभियानमा लागेका छौं ।

गत वर्ष युनाइटेड फाइनन्सलाई समाहित गरेको बैंकले एनबी बैंक मर्ज गरी थप सेवा दिने तयारी गरेको जनाएको छ । चन्द्रागिरिका प्रमुख प्रशासकीय अधिकृत पौडेलले ३६ हजार घरधुरी र एक लाख ३५ हजार जनसंख्या रहेको नगरमा वित्तीय क्षेत्रको माग बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘बैंकले गुणस्तरीय वित्तीय सेवा प्रवाह गरेमा सेवाग्राहीको मन जित्न सक्छ । यसका लागि व्यवस्थापन पक्षले ध्यान दिनुपर्छ ।’

बैंकका नायव महाप्रबन्धक कृष्णदत्त भट्टराईले मुलुकमा आधुनिक बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता महसुस गरेर स्थापना भएको नबिल बैंक जनताको विश्वासिलो बैंकका रूपमा रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो – ‘बैंकले विदेशमा भएको तर नेपालमा सेवा नभित्रिसकेको अवस्थामा क्रेडिट कार्डका व्यवस्थालगायत आधुनिक वित्तीय सेवा भित्र्याउन सफल भएको छ ।’कार्यक्रममा बैंकका दहचोक शाखा प्रमुख आश्विन श्रेष्ठले बैंकले सरल र सहज रूपमा सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने जानकारी दिनुभयो । यसै गरी कलंकी शाखा प्रमुख राजदीप उप्रेतीले सबै वित्तीय सुविधा प्रदान गर्ने गरी बैंकको दहचोक शाखा विस्तार गरिएको बताउनुभयो । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम गिरीको उपस्थिति रहेको थियो ।