हेलिकोप्टरबाट मतपत्र ढुवानी

0
Shares

मनाङ । 

यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि हिमालपारिको जिल्ला मनाङमा हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरिएको छ ।
हेलिकोप्टरमार्फत नेपाली सेनाले ९ हजार थान मतपत्र ढुवानी गरेको हो । ढुवानी गरिएको मतपत्र जिल्ला सदरमुकाम चामेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सुरक्षित रूपमा राखिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जिल्लामा मतपत्र पठाएको हो । सुरक्षा संवेदनशीलताका आधारमा आयोगले हेलिकोप्टरको प्रयोग गरी मतपत्र जिल्लामा पठाएको हो । निर्वाचन आयोगले हिमाली र विकट जिल्लाहरूमा मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको छ ।जिल्लामा २८ वटा मतदान स्थललाई नै मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बताउनुभएको छ । शान्त र भयरहित तरिकाले निर्वाचन गराउनका लागि प्रतिबद्ध रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभएको छ । उहाँले निर्वाचनमा सहभागी सबैको सुरक्षाको प्रत्याभूति हुने गरी जिल्लामा सुरक्षा योजना बनाएको बताउनुभएको छ । मनाङमा कुल मतदाता ६ हजार ४ सय ९६ जनामध्ये ३ हजार ३ सय ४८ जना महिला र ३ हजार १ सय ४८ जना पुरुष मतदाता रहेको छ ।

यस्तै, जिल्लामा २ सय १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । ङिस्याङ गाउँपालिकामा ७३, चामे गाउँपालिकामा ४२, नासों गाउँपालिकामा ६८, नार्पाभूमि गाउँपालिकामा २७ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिनुभयो । यस्तै, चार गाउँपालिका अध्यक्ष पदका लागि ९ जना र उपाध्यक्षमा ८ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यालय मनाङका अनुसार जिल्लामा वडाध्यक्ष पदका लागि ४८, महिला वडा सदस्यमा ४१, दलित सदस्यमा २२ र खुला सदस्य पदमा ८२ जनाले उम्मेदवारी मनोनयन गराएका छन् ।