काठमाडौं महानगरका उम्मेदवार सिर्जनाको सात ‘स’

0
Shares

काठमाडौं । 

सत्तारूढ दलको गठबन्धनबाट काठमाडौं महानगरपालिकामा प्रमुखको उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहले घोषणापत्र सार्वजनिक गर्दै सात ‘स’ को संकल्प गर्नुभएको छ ।राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको संकल्पको पहिलो बुँदामा सेवा र सुशासनलाई जोड दिइएको छ । मेयरका उम्मेदवार सिंहले महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउने र भ्रष्टाचार मुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रूपमा काठमाडौं महानगरलाई स्थापित गर्ने संकल्प गर्दै संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्ने बताउनुभएको छ ।

त्यसै गरी दोस्रो संकल्पमा स्वास्थ्य, शिक्षा, तथा सामाजिक सुरक्षा रहेको छ । यसमा शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउने, महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरूमा रोगको रोकथाम, परीक्षण, उपचार र पुनःस्थापनासहितको ‘शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ को स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको सञ्चालन गर्ने र ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्नलगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याइने उल्लेख छ ।

संकल्पको तेस्रो ‘स’ मा स्वच्छ, सफा र दिगो पर्यावरण रहेको छ । यसअन्तर्गत काठमाडौं महानगरलाई फोहोरमुक्त नगरपालिका बनाउने, पिउन योग्य पानी, श्वास फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने र सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहा, फल्चा आदिको संरक्षण, पुनःस्थापना तथा विस्तार गर्ने संकल्प उल्लेख छ । त्यसै गरी चौथो ‘स’ मा महागनरलाई सुरक्षित सहर बनाउने उल्लेख छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण गरी विपत् थेग्न सक्ने क्षमतायुक्त शहरको निर्माणका लागि काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पाचाै ‘स’ मा संस्कृति, सम्पदा र सभ्यता उल्लेख गरिएको छ । यो संकल्पमा मौलिक ज्ञान, भाषा, जात्रा, बाजा–गाजा, चाड–पर्व, मेला, ग्रन्थ, पेसालाई समुदायको अपनत्व र संलग्नतामा संवद्र्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्ने र गुठी प्रणालीको प्रवद्र्धन र संरक्षण गर्दै दिगो विकासका लागि प्रतिबद्ध रही कार्य गर्ने बताइएको छ । छैटौं ‘स’ अन्तर्गत सबल र समुन्नत पूर्वाधार शीर्षकमा सहज रूपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रित शहरका रूपमा महानगरलाई विकास गर्ने, महानगर क्षेत्रभित्र सबै खालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने भनिएको छ । साथै, महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रूपमा समयमै सम्पन्न गर्ने तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्ने गरी संस्थागत क्षमताको विकास गर्ने कुरामा पनि जोड दिइएको छ ।

संकल्पमको सातौं ‘स’ मा सबल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगरबासी उल्लेख छ । मेयरका उम्मेदवार सिंहले युवाका लागि अवसर, महिलाको सशक्तिकरण र सम्पूर्ण महानगरबासीको सिर्जनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी लिने र उद्यमशीलता विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने बताउनुभएको छ ।