हवाई कम्पनीद्वारा क्यान निर्णयको विरोध


काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाप्रति हवाई कम्पनीले विरोध जनाएका छन् । वायुसेवा सञ्चालक संघले बिहीबार विज्ञप्ति जारी गरी क्यानको उक्त निर्णय आफूहरूलाई अमान्य भएको बताएको छ ।

क्यानले हवाई कम्पनीहरूलाई १५ गतेदेखि नियमित दैनिक १८ घण्टा रात्रिकालीन सेवासमेत हुने गरी उडान सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । क्यानको निर्देशनप्रति आपत्ति जनाउँदै संघमा आबद्ध वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र गुण एयरलाइन्सले उक्त निर्णय तत्काल सच्याउन र वैशाख ३ गतेकै उडान तालिका कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ ।
संघले आफ्नो माग सम्बोधन नभए शुक्रबारदेखि सम्पूर्ण उडान बन्द गरेर आन्दोलनमा जाने हवाई कम्पनीले चेतावनी दिएका छन् ।