रामेछापमा ६ उम्मेदवारविरुद्ध उजुरी


रामेछाप । 

रामेछापमा ६ जना उम्मेदवारविरुद्ध उजुरी परेको छ । कार्यालयकाअनुसार खाडाँदेबी गाउँपालिकाका २ जना, रामेछाप नगरपालिकाका ३ जना र लिखुतामाकोसी गाउँपालिकाका १ जना उम्मेदवारविरुद्ध उजुरी परेको हो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रामेछापमा १३ सय ६७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये ६ जना उम्मेदवारविरुद्ध उजुरी परेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । उजुरी पर्नेमा खाडाँदेवी गाउँपालिका–३ का वडाध्यक्षका उम्मेदवार ज्ञानकुमार लामा र शंकरदास श्रेष्ठ रहेका छन् । लामा माओवादी केन्द्र र श्रेष्ठ नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका छन् । उनीहरूविरुद्ध उपभोक्ता समितिमा बसेर हिसाब फरफारक नगरेको भन्दै उजुरी परेको हो । नेकपा एमालेको तर्फवाट वडाध्यक्षका उम्मेदवार केशवकुमार प्रधानले उनीहरूविरुद्ध उजुरी गरेको खाडादेवी गाउँपालिकाका निर्वाचन अधिकृत वासुदेव लम्सालले बताउनुभयो ।

त्यसै गरी, रामेछाप नगरपालिकाका मेयर पदका उम्मेदवार रत्नबहादुर नेवारविरुद्ध उजुरी परेको छ । नेवार स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । उहाँविरुद्ध माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार बनेका नरेशबाबु श्रेष्ठले उजुरी हालेका हुन् । नेवारमाथि नगरभित्र ठेक्कापट्टा लिएको उजुरी छ । रामेछाप नगरपालिका–७ का वडाध्यक्ष पदका उम्मेदवार समीर कार्कीविरुद्ध उजुरी परेको छ । कार्की नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएको हो । उहाँविरुद्ध नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका ध्रुवकुमार बस्नेतले उजुरी हाल्नुभएको हो ।

त्यस्तै, नेकपा एमालेको तर्फबाट रामेछाप नगरपालिका–१ बाट वडा सदस्यको उम्मेदवार बनेकी सुकमाया श्रेष्ठविरुद्ध पनि उजुरी परेको निर्वाचन कार्यालय रामेछापले जनाएको छ । उहाँविरुद्ध नेपाली कांग्रेसबाट वडा सदस्यकी उम्मेदवार बनेकी सुकमाया श्रेष्ठले उजुरी गर्नुभएको हो । उहाँले महिला स्वास्थ्य स्वयंसेविकाबाट राजीनामा नगरी उम्मेदवारी बनेको उजुरीमा उल्लेख छ ।

त्यसै गरी, रामेछापको लिखुतामाकोसी गाउँपालिका–३ का वडाध्यक्षका उम्मेदवार राजकुमार खड्काविरुद्ध उजुरी परेको छ । खड्का एमालेबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएका हो । उहाँविरुद्ध नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका अनिल तामाङले उजुरी दिएको लिखुतामाकोसी गाउँपालिकाकी निर्वाचन अधिकृत तारादेवी महर्जनले बताउनुभयो ।

खड्काविरुद्ध करछलीको उजुरी परेको छ ।

जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार स्थानीय तहको निर्वाचनमा रामेछापका २४ दलले भाग लिएका छन् । रामेछापमा ९१ हजार १ सय ३१ जना पुरुष मतदाता र ८७ हजार ७ सय ६७ जना गरी कुल १ लाख ७८ हजार ८ सय ६७ जना मतदाता रहेका छन् । २ सय २३ मतदाता केन्द्र तथा ९२ मतदानस्थल रहेका छन् ।