कुस्माका मेयर जोशी र उपमेयर रिजालविरुद्ध उजुरी


पर्वत  ।

पर्वत जिल्लाको कुस्मा नगरपालिकामा मेयरका उम्मेदवार रामचन्द्र जोशी र उपमेयरकी उम्मेदवार स्वस्थानी रिजालविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका जोशीले विद्यालय भवन निर्माणको पेस्की रकम फस्र्योट नगरेको भन्दै उम्मेदवारी खारेजी गर्न उजुरी परेको हो भने उपमेयर रिजालका श्रीमान्विरुद्ध विशेष अदालतमा विचाराधीन मुद्दामा रिजाललाई पनि बिपक्षी बनाइएको भन्दै उजुरी परेको हो ।

कुस्मा नगरपालिकामा मेयर रहेका जोशी संलग्न निर्माण कम्पनीले नारायण माध्यमिक विद्यालयको भवन निर्माणका क्रममा लगेको १ लाख रुपियाँ पेस्की फस्र्योट नभएको भन्दै उम्मेदवारी खारेजी गर्न माग गरिएको छ । आफ्नो पालिकाभित्रको निर्माणको काममा पेस्की वा बेरुजु भएका व्यक्ति उम्मेदवार बन्न नपाउने निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ ।

यसै गरी, नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार रहेकी रिजालका श्रीमान् रामजी रिजालविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन रहेको र उपमेयरकी उम्मेदवार रिजाललाई पनि दुवैको नाममा साझा सम्पत्ति भएकाले सम्पति जफत गर्ने प्रयोजनका लागि मात्रै विपक्षी बनाइएको छ । दुवै उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानबिन भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जनाएको छ ।

उजुरीका आधारमा मेयर जोशी र उपमेयर रिजालको उम्मेदवारी खारेज हुने सम्भावना भने न्यून रहेको बताइन्छ । मेयर जोशीले आफ्नो नाममा रहेको निर्माण कम्पनी मेयर निर्वाचित भएपछि नामसारी गरिसकेका थिए भने रिजालका श्रीमान्विरुद्ध मुद्दा रहेका कारण त्यसले श्रीमतीलाई असर नगर्ने जानकारहरु बताउँछन् ।यसै गरी, कुस्मा नगरपालिका–१ मा वडा सदस्यकी उम्मेदवार बेलकुमारी अर्यालले महिला स्वास्थ्य स्वयंसेविकाबाट राजीनामा नगरी सदस्यमा उम्मेदवारी दिएको भन्दै खारेजीको माग गरेर उजुरी परेको छ ।