टिकट बितरणको प्रभावले एकीकृत समाजवादीमा पहिरो


रोशन पराजुली, हेटौंडा  । 

स्थानीय चुनावमा टिकट वितरणको प्रभावका कारण नेकपा (एकीकृत समाजवादी) पार्टी मकवानपुरमा पहिरो गएको छ । पार्टीको मकवानपुर नेतृत्व गरिरहनुभएका बहालवाला अध्यक्ष श्रीधर पोखरेलसहित नेताहरुले वैशाख ३० गते हुने स्थानीय तह चुनावको मुखैमा पार्टी परित्याग गरेका छन् ।

यसलाई मकवानपुरको राजनीतिमा अर्थपूर्णरूपमा हेरिएको छ । पार्टीको सदस्यसमेत नरहने गरी पार्टीका सबै जिम्मेवारीबाट राजीनामा गर्ने निधो गरेको पोखरेलले बताउनुभयो । पार्टी छाड्न दलबलसहित मनहरीबाट हेटौंडा आइपुगेका नेकपा (एस) मकवानपुर सचिवालय सदस्य वीरेन्द्र डीसीले पत्रकार सम्मेलन गरेको केही मिनेटमै पार्टी जिल्ला अध्यक्ष पोखरेलले समेत पार्टी परित्यागको घोषणा गर्नुभएको थियो । दुवै नेताले लगातार पत्रकार सम्मेलन गरेका थिए । उहाँहरुले स्वतन्त्र ढंगले केही दिन रहने पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ । उहाँहरुले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणका विषयमा पार्टीले चालेको कदमका विरोध गर्दै पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

मनहरीबाट आएका नेताहरुको पत्रकार सम्मेलनमा पुगेका पत्रकारले नेकपा (एस) कै अर्को पत्रकार सम्मेलनसमेत भ्याए । नेकपा (एस) मा अब ठूलै पहिरो जाने अध्यक्ष परित्याग गरेका पोखरेलको दाबी छ । पार्टीमा गठबन्धनका नाममा अन्याय भएको उहाँको तर्क थियो । भर्खर जन्मिएको पार्टीमा पनि चरम गुटबन्दी भएको पोखरेलले बताउनुभयो । तत्काल अन्य पार्टीमा नजाने र स्वतन्त्र रहेको घोषणा उहाँहरुले गर्नुभएको थियो ।

पार्टी परित्याग गर्दै पोखरेलले भन्नुभयो– ‘गठबन्धनका नाममा जे–जसरी अँध्यारो कोठामा बसेर नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने गरी आफ्नो कुत्सित मनशाय पूरा गर्न जे षड्यन्त्र भइरहेका छन्, एउटा निर्वाचित निकायलाई भोलि भ्रष्टाचारको अखडा बनाउने नियतप्रति मेरो असहमति छ ।’ उहाँले कम्युनिस्ट आन्दोलन रक्षाका लागि विद्रोह गर्न र व्यक्तिवादी पद्धतिविरुद्ध आवाज उठाउन कार्यकतर्छालाई आग्रहसमेत गर्नुभएको थियो ।

पोखरेललाई एक कुशल संगठकका रूपमा लिइन्छ । उहाँले पार्टीभित्र हेटौंडा उपमहानगर मेयरको दाबी गर्नुभएको थियो । पोखरेललाई पछाडि पार्दै नेकपा (एस) की मीना लामाले सत्तारूढ गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बन्न सफल हुनुभएको छ ।जिल्ला सचिवालय सदस्य डीसीले पनि पार्टी परित्यागको घोषणा गर्नुभयो । उहाँले पश्चिम मनहरी, राक्सिराङ र कैलाशमा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र संगठन निर्माणको काममा लागेकाहरुलाई बाइपास गरेको भन्दै पार्टी परित्याग गरेको बताउनुभएको छ ।

डीसीले पार्टीले गठबन्धनको नाममा हेटौंडालाई मात्र ध्यान दिएर जिल्लाभरका अन्य स्थानीय तहका कार्यकर्तालाई विचल्ली बनाएको भन्दै पार्टी परित्याग गरेको बताउनुभयो । आफ्नै पार्टीका मन्त्रीसमेत भएको जिल्लामा समाजवादीको हैसियत सकिएको उहाँको टिप्पणी छ । डीसीसँगै जिल्ला सदस्य गोपालबहादुर स्याङ्तान, गाउँपालिका सहसचिव जोन प्रजालगायतले पनि पार्टी परित्याग गरेका छन् ।
पार्टी परित्याग गर्नेहरुमा जिल्ला सदस्य टीएन शर्मा, रवीन्द्र पोखरेल तथा रामजी भट्ट छन् ।

समाजवादीका हेटौंडा उपमहानगरपालिका वडा–५ का उपाध्यक्ष सुनील लामिछानेले पनि पार्टी परित्याग गर्नुभएको छ । पोखरेल र डीसी नेकपा एमाले विभाजनपश्चात् नेकपा (एस) मा आबद्ध भएका थिए ।हेटौंडामा गठबन्धनका तर्फबाट मेयरमा समाजवादीकी लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ उम्मेदवार छन् । नेकपा एमालेबाट मेयरमा अनन्त पौडेल र सुमित्रा काफ्ले ‘पराजुली’ को उम्मेदवारी परेको छ ।