प्रहरी महानिरीक्षक थापाद्वारा समसामयिक विषयमा छलफल


काठमाडौं  ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बुधबार प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक विषयमा छलफल कार्यक्रमको आयोजना गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कार्यकालमा भएका उल्लेखनीय कामको चर्चा गर्दै माथिल्लो तहमा मात्रै नभई तल्लो तहका कर्मचारीलाई प्राथमिकतामा राखेर काम गरेको, उनीहरूका लागि प्रहरी नियमावली संशोधन गरी कार्यान्वयनमा ल्याइएको, प्रहरी नियमावलीअनुसार सरुवा-बढुवा गरिएको, अपराध अनुसन्धानलगायत फरार अभियुक्त पक्राउ एवम् लागुऔषधविरुद्धको अभियानलाई तीव्र पारिएको बताउनुभयो ।

नेपाल प्रहरी कार्ययोजना जारी गरी कार्यान्वयन गरिएको, नेपाल प्रहरीलाई एउटा प्रणालीमा लैजान विशेष पहल गरिएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासा निरूपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीले कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथाममा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।नेपाल प्रहरीमा नीतिगत सुधारका लागि विविध प्रयासहरू गरेको चर्चा गर्दै उहाँले प्रहरी ऐन तथा प्रहरी नियमावलीअनुसार नेपाल सरकार र तालुक मन्त्रालयले गरेको निर्णयलाई कार्यान्वयन गर्दै काम गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको कार्यकालका प्रमुख उपलब्धिसहितको कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । एसएसपी केसीले नेपाल प्रहरी कार्ययोजना २०७७, आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ मा वार्षिक कार्यसम्पादन सम्झौता तथा अनुगमन प्रणाली कार्यान्वयन, नीतिगत सुधार तथा कार्यक्रमहरू, भवन निर्माण, तालिम, अन्वेषणमा आधारित योजना निर्माण र कार्यान्वयन प्रणाली कार्यान्वयन, अपराध नियन्त्रण तथा अनुसन्धान, अन्तर्राष्ट्रिय प्रहरी समन्वय, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, कोरोना रोकथाम तथा नियन्त्रण, नेपाली सेनाबाट नेपाल प्रहरीलाई हतियार हस्तान्तरण, वैदेशिक सहायता, कल्याणकारी कार्यक्रमबारे विश्लेषणसहित जानकारी दिनुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्री र उपस्थित सञ्चारकर्मीबीच समसामयिक विषयमा छलफल तथा अन्तरक्रियासमेत भएको थियो ।