राष्ट्रिय वाणिज्य बैंक र सशस्त्र प्रहरी बलबीच सम्झौता

0
Shares

काठमाडौं ।

सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सशस्त्र प्रहरी कर्मचारीहरूको हित तथा सुविधाका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जालगायतका विविध बैंकिङ्ग सुविधा प्रदान गर्ने गरी सम्झौता भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्य तथा सो बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्का र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

त्यसअवसरमा महानिरीक्षक के.सी.ले संगठनले विभिन्न कल्याणकारी योजनाहरूमार्फत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूलाई विभिन्न सुविधाहरू प्रदान गर्दै आइरहेको उल्लेख गर्नुहुँदै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकसँग भएको यस सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीहरूले उक्त बैंकले प्रदान गरिरहेको विभिन्न सुविधा लगायत कर्जा सुविधा समेत न्यून शुल्कमा प्राप्त गर्ने बताउनुभयो ।

कार्यक्रममा सो बैंकका कार्यकारी अधिकृत श्रेष्ठले बैंकको विविध पक्षबारे जानकारी गराउनुहुँदै सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको उल्लेख गर्नुहुँदै सो बैंक करिब ५५ वर्षदेखि नागरिकको सेवामा समर्पित रहेको बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवकहरूले पाउने तलव भत्ता तथा आर्थिक सुविधाहरू अनिवार्य रूपमा बैंक खातामार्फत् भुक्तानी गर्नुपर्ने नेपाल सरकारको नीतिअनुरूप भएको सो सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीहरूले बिना धितो ५ वर्षका लागि अधिकतम १५ लाखसम्मको ऋण सुविधा पाउनुका साथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरूसमेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात् न्यून शुल्कमा उपभोग गर्न पाउनेछन् ।