नेपालले पहिलो खेलमा ओमानसँग खेल्दै



काठमाडौं । 

नेपालले जुन दोस्रो सातादेखि अमेरिकामा शुरु हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा पहिलो खेल ओमानसँग खेल्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिजको खेल तालिका बुधबार सार्वजनिक गरेको हो । नेपालले पहिलो खेल वैशाख जेठ २६ मा ओमानसँग खेल्दै शुरुवात गर्नेछ । यस सिरिजपछि ओमानको आईसीसी विश्वकप लिग–२ मा ३६ खेल पूरा हुनेछ । नेपालले हाल १२ खेल खेलेको छ । ओमान ३२ खेलमा १९ मा जित र ११ मा हारका साथ शीर्षस्थानमा छ ।

अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हारसहित १४ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल १२ खेलमा ६ मा जित र ६ मा हारसहित छैटौं स्थानमा छ । विश्व लिग–२ को पूरा खेल नसकिने सम्भावना उच्च हुँदा विजयी प्रतिशतको आधारमा शीर्ष तीन टोली निर्धारण हुनेछ । नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो ।

नेपालले अमेरिकापछि उतैबाट स्कटल्यान्ड भ्रमण गर्नेछ । विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा नेपाल र नामिबियाबीच सिरिज हुनेछ । ७ टोली सहभागी विश्वकप लिग–२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सीधैं खेल्न पाउनेछन् । बाँकी चार टोलीले ‘प्ले अफ’ खेल्नुपर्ने हुन्छ ।

नेपाल हाल भने घरेलु मैदानमा जिम्बावे ‘ए’ सँग तीन एकदिवसीय र तीन टि२० सिरिज खेल्दैछ । लिस्ट ‘ए’ र टी–२० मान्यता नहुँदा यो सिरिज अभ्यास सरह हुनेछ । नेपाल र जिम्बावे ‘ए’ बीच पहिलो एक दिवसीय खेल शनिबार टीयू मैदानमा हुनेछ ।
अमेरिकामा नेपालको खेल तालिका –
जेठ २६ (जुन ९) – ओमानविरुद्ध
जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध
जेठ ३१ (जुन १४) – ओमानविरुद्ध
असार १ (जुन १५) – अमेरिकाविरुद्ध

नेपालको जिम्बावे ‘ए’ विरुद्ध एकदिवसीय खेल
वैशाख १७ (अप्रिल ३०) : पहिलो एकदिवसीय
वैशाख १९ (मे २) : दोस्रो एकदिवसीय
वैशाख २१ (मे ४) : तेस्रो एकदिवसीय
टी २०
वैशाख २३ ( मे ६) : पहिलो खेल
वैशाख २४ ( मे ७) : दोस्रो खेल
वैशाख २६ ( मे ९) : तेस्रो खेल

प्रतिक्रिया दिनुहोस्