ब्रुएने र बेन्जेमाको कीर्तिमान



मंगलबार राति भएको सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा केभिन डे ब्रुएने र करिम बेन्जेमाले इतिहास रचेका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डे ब्रुएन यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा सबैभन्दा छिटो गोल गर्न खेलाडी बनेका छन् । सेमिफाइनलको पहिला लेगमा ४–३ गोलअन्तरको जित निकालेको खेलमा ब्रुएनले रियल मेड्रिडविरुद्ध ९४ सेकेन्डमै गोल गर्न सफल भए । उनकै गोलमा सिटीले खेलमा शुरुवाती अग्रता लिन सफल भएको थियो ।

ब्रुएनेले मे २०१८ मा मेड्रिडविरुद्ध नै तेस्रो मिनेटमा योसुवा किम्मिखले बनाएको कीर्तिमानलाई तोडेका हुन् । च्याम्पियन्स लिगमै भने जर्मन क्लब बायर्न म्युनिखका रोय माकाएको नाममा छिटो गोलको कीर्तिमान रहेको छ । उनले सन् २००७ मा रियलविरुद्ध २–१ को जित निकालेको खेलमा उक्त गोल गरेका थिए ।

लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको फाइनलमा पुग्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीका लागि फरवार्डद्वय रियाद महारेज र केभिन डि ब्रुएनेको समन्वयमा गोल निस्कन सफल भएको थियो । पेनाल्टी बक्स बाहिरको क्रसलाई मिडफिल्डर ब्रुएनेले रियलको पेनाल्टी बक्समा दौडिँदै डाइभिङ हेडरमार्फत गरेको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले रोक्ने कुनै मौका नै पाएन ।

त्यसैगरी, फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले पनि स्पेनिस क्लब रियल मेड्रिडबाट अर्को इतिहास रचेका छन् । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलकै पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध खेल्दै बेन्जेमाले रियलको जर्सीमा ६ सय खेलको आँकडा पूरा गर्दै नयाँ इतिहास कोरेका हुन् ।

उनले रियलका अर्का लेजेन्ड पाको जेन्टोको ६ सय खेलको कीर्तिमानसँग बराबरी गरेका हुन् । उनले आफ्नो कीर्तिमानी खेलमा दुई गोल थप्दै खेललाई अविस्मरणीय बनाए । इत्तिहाद स्टेडियममा उनले दुई गोल गरेसँगै बेन्जेमाले यो सिजन ४१ खेलमा आफ्नो गोल संख्या ४१ नै पु-याएका छन् ।

उनले च्याम्पियन्स लिगमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । सिटीविरुद्धको दुई गोलसँगै उनी यो सिजनको च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको सूचीको शीर्षस्थानमा उक्लिएका छन् । उनले जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पछि पारेका हुन् । च्याम्पियन्स लिगमा बेन्जेमाले आफ्नो गोल संख्या १४ पु-याएका छन् । लेवान्डोस्कीको नाममा भने १३ गोल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्