सिटीद्वारा रियल मेड्रिड पराजित


लन्डन, (एजेन्सी)  ।

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीद्वारा स्पेनिस महारथी रियल मेड्रिडलाई पराजित गरेको छ ।

घरेलु मैदान इत्तिहाद रंगशालामा सिटीले रियलविरुद्ध ४–३ गोलअन्तरको रोमान्चक जित निकालेको हो । सिटीको जितमा केभिन डे ब्रुएने, ग्याब्रिएल जेसस, फिल फोडेन र बर्नार्डो सिल्भाले गोल गरे । अर्कोतिर रियलका लागि फरवार्ड करिम बेन्जेमाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे ।

खेलको अधिकांश समय बल पोसेसनमा पकड जमाउँदै रियलको पोस्टमा आक्रमण गरेको सिटीले थुप्रै गोलको अवसर सिर्जना गरेको थियो । रियलले तुलनात्मक रूपमा कम आक्रमण गरे पनि तीन गोल भने गर्न सफल रह्यो । खेलको दोस्रो मिनेटमा नै डे ब्रुएनेको उत्कृष्ट गोलमा अग्रता लिएको सिटी ११औं मिनेटमा जेससले गोल गरेपछि २–० ले अघि बढेको थियो । तर, बेन्जेमाले ३३औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काए ।

दोस्रो हाफको शुरुवातमा फोडेनले गोल गर्दै सिटीको गोलसंख्या तीन पु-याए । तर, भिनिसियसले त्यसको दुई मिनेटमा एकल प्रयासमा दर्शनीय गोल गर्दै रियललाई खेलमा कायम राखे । खेलको ७४औं मिनेटमा सिटीले सिल्भाको गोलमा ४–२ को अग्रता बनायो ।

तर, खेलको अन्त्यतिर सिटीका डिफेन्डर एमेरिक लापोर्टले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै बेन्जेमाले रियलका तर्फबाट तेस्रो गोल गरे । अब दोस्रो लेग अर्को साता रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ ।