उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन शुरू



काठमाडौं  ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका मनोनयनमाथि परेका उजुरीउपर छानबिन प्रक्रिया शुरू गरेको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका विभिन्न पार्टीका उम्मेदवारविरुद्ध उजुरी पर्न थालेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार ती उजुरीउपर छानबिन भइरहेको बताउनुभयो । उहाँले उम्मेदवारीविरुद्ध मंगलबार परेकोे उजुरीउपर बुधबार र बिहीबार छानबिन गरेर निर्णय गर्नेे बताउनुभयो । ७ सय ५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यका लागि १ लाख ४१ हजार १ सय २३ जनाको उम्मेदवारी परेको थियो ।

ललितपुर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट उम्मेदवार रहेका चिरिबाबु महर्जनविरुद्ध पनि उजुरी परेको ललितपुर महानगरका मुख्य निर्वाचन अधिकृत किरण शिवाकोटीले जानकारी दिनुभयो । महर्जनविरुद्ध बेरुजुसम्बन्धी उजुरी परेको हो । ललितपुर वडा नम्बर १८ का गोपाल डंगोलले उहाँको कार्यकालमा सो बेरुजु रहेको भन्दै उजुरी दिनुभएको हो । उहाँले महानगरपालिकाको बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको भन्दै महर्जनको उम्मेदवारी रद्द हुनुपर्ने माग गर्नुभएको छ ।

आयोगले जारी गरेको आचारसंहिताको परिच्छेद ९ को धारा ४७ मा बेरुजु फछ्र्यौट गर्नुपर्ने भन्ने उल्लेख छ । चिरिबाबुलगायत ललितपुर महानगरकै पाँच जनाविरुद्ध उजुरी परेको हो ।ललितपुर महानगरमा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ । उपमेयरका उम्मेदवार शाक्यविरुद्ध मंगलबार आयोगमा ज्ञानबहादुर खत्रीले उजुरी दर्ता गर्नुभएको हो ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा शाक्यको नाम समानुपातिकतर्फको बन्द सूचीमा रहेको थियो । उहाँको नाम आयोगको बन्द सूचीबाट नहटाई महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गराएको जानकारी दिँदै मुख्य निर्वाचन अधिकृत शिवाकोटीले भन्नुभयो– ‘उहाँको नाम बन्दसूचीबाट हटाउने प्रक्रिया अघि बढिसकेको छ ।’
यस्तै, कोसी अस्पताल सञ्चालक समिति सदस्य पदबाट राजीनामा नदिई विराटनगर महानगर उपप्रमुखमा उम्मेदवारी दिएको उजुरी परेपछि नेकपा एमालेकी शिल्पा निराला कार्कीले मंगलबार राजीनामा दिनुभएको छ । सत्तारूढ गठबन्धनका उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएको थाहा पाएपछि उहाँले अस्पतालमा राजीनामा बुझाउनुभएको थियो ।

कार्कीलाई केपी ओली नेतृत्वको सरकारले अस्पतालमा नियुक्त गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ माघ २१ मा उहाँसहितका सबै पदाधिकारीलाई हटाएको थियो । सरकारको निर्णयविरुद्ध कार्कीसहितका पदाधिकारी सर्वाेच्च अदालत जानुभएको थियो । सर्वाेच्चले उहाँहरूको पक्षमा फैसला सुनाएपछि कार्कीसहितका पदाधिकारी पुनः बहाली भएका थिए ।

बाग्लुङको काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कांग्रेसका राजु थापाविरुद्ध उजुरी परेको छ । नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार डिलबहादुर कार्कीले थापाविरुद्ध उजुरी दर्ता गर्नुभएको हो । काठेखोला वडा नम्बर ३ मा महिला सदस्य पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) की देउरूपा खड्काविरुद्ध पनि उजुरी परेको छ । एमालेबाट महिला सदस्यकी उम्मेदवार टुल्कीदेवी खड्काले उजुरी दर्ता गर्नुभएको हो ।

कैलालीमा पनि उम्मेदवारविरुद्ध उजुरी परेको छ । घोडाघोडी नगरपालिकाकाको महिला सदस्यमा उम्मेदवारी दिएकी कृष्णा थापा, सदस्यमा उम्मेदवारी दिनुभएका चोपलाल चौधरी र वडा अध्यक्षमा उम्मेदवारी दिएका हिराजन विष्टविरुद्ध उजुरी परेको हो ।

माओवादी केन्द्रको तर्फबाट धीरेन्द्र रावल र लोकराज ढकालको उम्मेदवारी परेको आयोगले जनाएको छ । एउटै पदमा पार्टीको पत्रसहित उम्मेदवारी दर्ता गराउने दुई उम्मेदवारका बारेमा सम्बन्धित पार्टीबाट पत्र आएपछि मात्र को आधिकारिक हो भन्ने यकिन हुनेछ । पार्टीको आधिकारिक उम्मेदवारले मात्र पार्टीको चुनाव चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने कानुनी व्यवस्था छ । यस्तै, लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ६ मा नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदवार प्रकाश कतिलाविरुद्ध उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्