एमालेसँगको तालमेल खारेज गर्ने सत्ता गठबन्धनको निर्णय


काठमाडौं । 

सत्ता गठबन्धनको बैठकले नेकपा एमालेसँग भएको चुनावी तालमेल खारेज गर्न निर्देशन दिने निर्णय गरेको छ । गठबन्धनका शीर्ष नेताको बुधबार बसेको बैठकले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अबिलम्ब खारेज गर्ने निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा यसअघि गठबन्धनमा आबद्ध दलबाहेक अरूसँग तालमेल नगर्ने निर्णय गरेको थियो । तर, ठाउँठाउँमा कांग्रेस र एकीकृत समाजवादीले एमालेसँग तालमेल गरेको पाइएको निष्कर्ष निकाल्दै बैठकले उक्त निर्णय फिर्ता लिन निर्देशन दिने निर्णय गरेको हो ।

बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनमा आबद्ध पाँच दलले तालमेल खारेज भएका ठाउँमा गठबन्धनकै दलका अन्य उम्मेदवारलाई समर्थन गरेर अघि जान सहमति भएको छ । सत्तारूढ गठबन्धनले स्थानीय निर्वाचनमा चुनावी तालमेल नभएका नगर र गाउँपालिकामा सिट बाँडफाँटका लागि प्रदेश र जिल्ला संयन्त्रलाई बैठक राख्न निर्देशन दिएको छ । बैठकले सिट बाँडफाँटको समझदारीका लागि आवश्यक कार्य गर्न निर्देशन दिएको हो ।