दाइजोको निहुँमा निर्घात कुटपिट

0
Shares

राजविराज । 

सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ । आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रूपनी गाउँपालिका–६ की ३० वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारका लागि अस्पताल भर्ना भएपछि घटना बाहिरिएको हो ।

उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी लक्ष्मीनियाँको घाँटी, ढाड, पाखुरा, टाउकोलगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ । ‘आइतबार राति साढे ७ बजेतिरको घटना हो, तँलाई मारिदिन्छु भन्दै ससुरा शिवदयाल भगत, पति सञ्जीवकुमार भगत, सासू सीता देवी, जेठानी अञ्जु, नन्द रञ्जु, गाउँकै नाता पर्ने विणाले अन्धाधुन्ध कुटपिट गरेपछि म अचेत भएँ’, उहाँले भन्नुभयो– ‘पछि म बेहोस भएको पत्तै पाइनँ र सोमबार बिहान मात्रै होस खुलेपछि जसोतसो गरी अस्पतालसम्म आइपुगेँ ।’

यसअघि कतिपटक कुटपिटमा परेको यादसम्म नरहेको उहाँको दुखेसो छ । ‘दाइजोको निहुँमा पटक–पटक शारीरिक र मानसिक यातना खेप्दै आएको छु’, उहाँले भन्नुभयो– ‘सहन नसकेपछि ऊ बेला प्रहरीमा पुगेकै हो तर सुनुवाइ नै भएन ।’बाध्य भएर सप्तरी जिल्ला अदालतमा घरेलु हिंसासम्बन्धी मुद्दा गर्न पुगेको उहाँले बताउनुभएको छ । ‘सो मुद्दामा २०७८ पुस १९ गते अदालतले अन्तरिम संरक्षणात्मक आदेश भयो’, उहाँले भन्नुभयो– ‘त्यसपछि त झन् विपक्षीहरू उग्र बने र तेरो अदालतले कसरी बचाउन आउँछ भन्दै कोठामा थुनेर कुटपिट गर्न थाले ।’

सोमबार राति पनि त्यही घटना दोहोरिएर आफू यस्तो अवस्थामा पुगेको लक्ष्मीनियाँको कथन छ । ‘अब के गरी न्याय पाउने ? र कसरी सुरक्षित वातावरण पाउने ? विवाह गरेको चार वर्ष भइसक्यो तर पनि उहाँहरूको रबैयाले पिरोलेको छ’ –उहाँले भन्नुभयो ।यता, प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय राजविराजकी कानुनी अधिकृत अधिवक्ता किरण साहले विभिन्न बहानामा लक्ष्मीनियाँमाथि भएको हिंसाविरुद्ध प्रहरीमा उजुरी दिँदासमेत पीडकहरूलाई कारबाही गर्नेतर्फ प्रहरीको उदासीन देखिएको बताउनुभयो ।

उता, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले कुटपिटमा संलग्न लक्ष्मीनियाँका ससुरा शिव दयाललाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको बताउनुभएको छ । ‘पुरानै घरायसी झै–झगडा हो, धेरैपटक प्रहरीमा छलफल पनि भएकै हो’, उहाँले भन्नुभयो– ‘पछिल्लो घटनाको जानकारीसँगै पीडितका ससुरालाई नियन्त्रणमा राखी हामीले अनुसन्धान थालेका छौं ।’