चन्द्रागिरि नगरप्रमुखमा २१ जनाको उम्मेदवारी



काठमाडौं  ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा २१ र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको छ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी प्रमुखमा २१ र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको हो ।

चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थपलियाले नगर प्रमुख, उपप्रमुखसहित ३ सय ८७ जनाको उम्मेदवारी परेको जानकारी दिनुभयो । उहाँका अनुसार वडाध्यक्षमा ९३ जनाको उम्मेदवारी परेको छ ।यस्तै, वडा सदस्यमा १ सय ३७, महिला वडा सदस्यमा ६९ र दलित महिला सदस्यमा ५७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत थपलियाले बताउनुभयो ।

काठमाडौं प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरि नगरपालिकामा विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरप्रमुख नेपाली कांग्रेसको तर्फबाट घनश्याम गिरी र उपप्रमुखमा नेकपा (एमाले) बाट लिशा नकर्मी निर्वाचित हुनुभएको थियो ।

हाल नेपाली कांग्रेसबाट नगरप्रमुखमा गिरी र उपप्रमुखमा यमुनादेवी श्रेष्ठको उम्मेदवारी तथा नेकपा (एमाले) बाट नगरप्रमुखमा उत्तमबहादुर राउत र उपप्रमुखमा वसन्ती श्रेष्ठको उम्मेदवारी परेको छ । नेकपा (माओवादी केन्द्र) बाट नगरप्रमुखमा दिलबहादुर श्रेष्ठ र उपप्रमुखमा रूपा महर्जन (श्रेष्ठ) को उम्मेदवारी परेको छ ।

यस्तै, सञ्चारकर्मी रोशन दानीले पनि राष्ट्रिय जनमोर्चा पार्टीको तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिनुभएको छ । चन्द्रागिरि काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका साविक थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ मच्छेगाउँ गाउँ विकास समिति मिलेर बनेको काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्