चुनावको मुखैमा कर्ण मल्ललाई कारबाही

देउवाको गृह जिल्लामा विद्रोह

0
Shares

काठमाडौं । 

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका निवर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मल्लले विधानविपरीत गतिविधि गरेको भन्दै मंगलबार नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाइएको हो ।डडेल्धुरामा मल्लको नेतृत्वमा कांग्रेसका नेता तथा कार्यकर्ताहरू पार्टीबाट विद्रोह गरी नेपाली कांग्रेस (बीपी) बाट करुवा चुनाव चिह्न लिएर नेकपा एमालेसँग तालमेल गरी चुनावी मैदानमा होमिएका छन् । निवर्तमान सभापति मल्लकै पहलमा कांग्रेस बीपी र एमालेबीच चुनावी तालमेल गरी भागबण्डामा पालिका बाँडफाँट गरिएको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकाको प्रमुखमा कांग्रेस बीपीले उम्मेदवारी दिएको छ भने नेकपा एमालेले परशुराम नगरपालिका, आलीताल गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएको छ ।कांग्रेसले मल्ललाई कारबाही गरेको यो पहिलोपटक भने हैन । साधारण सदस्यसमेत नरहने गरी अहिले गरिएको कारबाहीबारे मल्लले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘देउवाले मलाई कारबाही गरेको यो पहिलोपटक हैन । देउवा जतिपटक सभापति हुनुभयो त्यति नै चोटि मलाई कारबाही गरेको छ ।’

देउवाले कांग्रेस फुटाएर प्रजातान्त्रिक कांग्रेस बनाउँदा पनि कारबाही गरेको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘तत्कालीन अवस्थामा खुमबहादुर खड्काको नेतृत्वमा गठन गरिएको प्रजातान्त्रिक कांग्रेसको ११ जना संस्थापक सदस्यमध्ये म पनि एक थिएँ । त्यस बेला पनि जिल्ला अधिवेशनको एक महिनाअघि देउवाले साधारण सदस्यसमेत नरहने गरी ममाथि कारबाही प्रक्रिया अघि बढाउनुभएको थियो ।’

पार्टीको १३औं महाधिवेशनबाट सभापति बनेलगत्तै पनि सभापति देउवाले रमेश लेखकको संयोजकत्वमा अनुशासन समिति गठन गरी मल्ललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने प्रक्रिया अघि बढाउनुभएको थियो । त्यस बेला लेखकले कारबाही गर्न नमानेपछि फेरि भीष्मराज आङदम्बेको नेतृत्वमा समिति बनाई कारबाही प्रक्रिया थाल्नुभएको थियो । त्यस बेला पनि देउवा असफल हुनुभएको थियो ।