कलकत्तामा राजा त्रिभुवन र नेपाली प्रजातन्त्र कांग्रेसको बैठक

महेन्द्रमान सिंहद्वारा लिखित ‘फरइभर इन्कम्प्लिट– दी स्टोरी अफ नेपाल’ पुस्तकको अनुदित अंश–६

70
Shares

राणा प्रधानमन्त्रीहरुले बृटिस इन्डिया गभर्मेन्टको समयमा विगतमा त्यस्तै प्रकृतिको सहयोग प्रदान गरेका थिए । नेपालमा आफ्नो शासन टिकाइराख्ने अभिलाषामा मोहन शमशेरले पनि सोही जहानिया परम्पराको पुनरावृत्ति कायम गरेका थिए । तथापि छरिएको विद्रोहको बीजको अंकुरण निरन्तर भइरहेकै थियो । सन् १६ जुलाई १९४८ (२००५/०४/०१) मा अर्को राजनीतिक दल ‘नेपाल प्रजातन्त्र कांग्रेस’ को स्थापना कलकत्तामा भयो ।

सन् ३१ डिसेम्बर १९४८ (२००५/०९/१७) को दिन कलकत्ताको टाइगर सिनेमा हलमा भएको उक्त नवगठित दलको साधारणसभामा क्रमशः पार्टी अध्यक्षमा महेन्द्र विक्रम शाह, महासचिवमा सूर्यप्रसाद उपाध्याय र सहायक महासचिवमा प्रेमबहादुर कंसाकार निर्वाचित भए । त्यस दलको उद्देश्य पनि नेपालबाट राणा तानाशाही तन्त्र फ्याँक्नु नै थियो । त्यस दलको शक्ति भनेको नै जनरल सुवर्ण शमशेर र महावीर शमशेरले उपलब्ध गर्ने अर्थिक सहयोग एवं लक्ष्य प्राप्तिको लागि भारतमा नै घरजम गरी बसेका तर सुवासचन्द्र बोसको ‘आजाद हिन्द फौज’का नेपाली गुरिल्लाहरुसँग संपर्क कायम गर्नु र संगठित गर्ने खुबी थियो । तसर्थ त्यस पार्टीसँग यथेष्ट अर्थ र मजबुत सैन्य पक्ष थियो ।

सुवर्ण शमशेर नेपालको राणा प्रधानमन्त्री चन्द्र शमशेरपछिका प्रधानमन्त्री भीम शमशेरको नाति एवं नेपाली सेनाका जनरल थिए । सन् १९३४ को मार्च महिनातिर जुद्ध शमशेरले राणा शासनको चरित्र अनुसार संगठनभित्र एक नियमित मानिस काँटछाँट गर्ने प्रक्रियामा कमान्डर–इन–चिफ रुद्र शमशेर र उनका नजदिकका पारिवारिक सदस्यहरु काठमाडौंबाट धपाएर बाहिर पदस्थापना गरिदिए ।

जनरल सुवर्ण शमशेर पनि आफ्ना पिता हिरण्य शमशेर र काकाको छोरा जनरल महावीर शमशेरको साथमा काठमाडौंबाट बाहिरिनुप-यो । उनीहरु देखावटी तवरमा शान्तिपूर्ण र व्यापारिक कारोबार गरेर कलकत्तामा बसोबास गरी बसे तर मनमा बदलाको भावना बोकेकै थिए । साथमा आफन्त पर्ने महेन्द्र विक्रम शाह पनि थिए जसले पाएको प्रथम अवसरमा नै आफ्नो रिस पोखेका थिए । उनले टंकप्रसाद आचार्यलाई साइक्लोस्टायल किन्न रकम दिएका थिए, जसले राणाहरुको निद हराम गरेको थियो र अन्य घटनाहरुका लागि पनि खर्च दिने गर्थे ।

सन् १९४६, डिसेम्बरमा राजा त्रिभुवनले बेस्करी छाती दुखेको भन्दै कलकत्तामा परीक्षण गराई उचित औषधोपचार गराउने इच्छा व्यक्त गरेका थिए । त्यसको लागि प्रधानमन्त्री पद्म शमशेरले आवश्यक व्यवस्था मिलाइदिए । साथै साना छोराहरु राजकुमार हिमालय र राजकुमार बसुन्धरालाई समेत आफ्ना पितासँगै जाने अनुमति दिए । टन्सिल अलिकति सुन्निनुबाहेक राजा भलाचंगा नै थिए । उनको खास मकसद कलकत्तामा बसिरहेका असन्तुष्ट राणाहरुसँग भेटेर नेपालबाट राणा तानाशाहलाई फ्याँक्ने बाटो पहिल्याउनुबारे छलफल गर्नु थियो । कलकत्तामा बोरिस लिसानेभित्चले सञ्चालन गरिराखेको ३०० क्लबमा उनीहरुबीच भेटघाटको थलो निर्धारण गरिएको थियो ।

सन् १९४६ को एक साँझ हिमालयन उड्डयनका मालिक तथा कलकत्तामा अन्य विभिन्न थुप्रै व्यापारलगायत घरजग्गाको कारोबार गरिबसेका सफासुग्घर र छरितो देखिने अति धनाढ्य जनरल महावीर शमशेर र राजा त्रिभुवन एकसाथै देखा परे । राजाले विभिन्न विषयका धेरै किताब, जर्नल एवं राजनीति र सरकारबारे जानकारीमूलक पुस्तकहरुको माग गरेका थिए । जसलाई बोरिसले सहजै उपलब्ध गराए । तिर्खाएको व्यक्तिलाई पानी पिलाउने जस्तो यस कार्यले लामो समयसम्म रहने मित्रताको शुरुवातसमेत गरेको थियो ।

राजा ३०० क्लबमा जानु एउटा अति चतु-याइँ तवरमा कार्यान्वयन गरिने षड्यन्त्रको कथाजस्तै भएको थियो । सन् १९४६ को राजाको भ्रमणको लागि कर्नेल चन्द्रबहादुर थापालाई राजाको एडीसी बनाइएको थियो । उनले राजाको हेरचाह गर्नुबाहेक राजासँग भेटघाट गर्न आउने व्यक्तिहरुबारे प्रधानमन्त्रीलाई रिपोर्ट पनि गर्नुपथ्र्यो ।

विगतका अन्य एडीसीहरुलाई भैmँ थापालाई पनि चतु-याइँका साथ पन्छाउन आवश्यक थियो । यसको लागि थापालाई दिइने भोड्कामा आवश्यक मात्रामा अफिम मिलाई दिए पुग्थ्यो । भोड्का र अफिम उपलब्ध गराउने कार्य बोरिसले नै गरेका थिए । कर्नेललाई पन्छाउने काम सकेर निश्चिन्त बनेका सबैले निर्धारित गोप्य मिटिङ गर्न बसे । सुवर्ण शमशेर र नेपाल प्रजातन्त्र कांग्रेसका अन्य सदस्यहरुसँग भेट गर्नुबाहेक राजा त्रिभुवनले भारतीय राष्ट्रिय कांग्रेसका रफी अहमद किदवाई र पण्डित नेहरुसँग पनि सम्पर्क कायम राखका थिए । त्यस्तो अवस्थामा उनका छोराहरु राजकुमार बसुन्धरा र राजकुमार हिमालयले मध्यस्थताको काम गर्ने गर्थे ।

नेपालको अवस्था जान्न र प्रधानमन्त्रीको चरित्र ठम्याउन पण्डित नेहरुले प्रधानमन्त्री पद्म शमशेरसँग भेट गरेका थिए । उनले पद्म शमशेरलाई दृढता फितलो भएको र उनैको उत्तराधिकारी एवं बहालवाला कमाडन्डर–इन–चिफ मोहन शमशेरसंग थुरथुर डराउने व्यक्तिको रुपमा पाएका थिए । राजा त्रिभुवन राणा तानाशाही उखेलेर फ्याँक्न दृढ निश्चयी भएको पनि नेहरुले बुझेका थिए । नेपाल प्रजातन्त्र कांग्रेसका शिष्ट एवं परिष्कृत व्यक्तित्वका धनी महासचिव सूर्यप्रसाद उपाध्यायले राजाको भावनालाई समर्थन गरेका थिए ।

भारत छोड आन्दोलनताका रफी अहमद किदवाईसँगै उपाध्याय पनि भ्यालखानामा थुनिएका थिए । अलाहबादको बन्दीगृहमा साथै बिताएका दिनहरुमा उनीहरुबीच घनिष्ट मित्रता कायम भयो । तसर्थ उपाध्यायले नेपाल प्रजातन्त्र कांग्रेसको उद्देश्यबारेको पत्र ‘…वर्तमान सामन्ति तानाशाही शासन व्यवस्थाको विरुद्ध लड्न र त्यसको बदलामा नेपालको संवैधानिक राजाको नेतृत्वमा जनउत्तरदायी र प्रजातान्त्रिक सरकारको स्थापना गर्न…’ भनी पढेर सुनाउँदा पण्डित नेहरुले बडो ध्यानपूर्वक सुनेका थिए ।

उद्देश्यमा निरंकुश राणा शासन निश्चित तवरमा फ्याँकी छोड्ने प्रतिबद्धता जनाइएको थियो, जसको लागि सशस्त्र बलको आवश्यकता थियो । यो फौजलाई भारतमा नै तालिम दिनु र शस्त्रबाट सुसज्जित गर्नुपर्ने थियो । तसर्थ पार्टीको यस्तो क्रियाकलापप्रति भारत सरकारले आँखा चिम्लनुपरेको थियो । उपाध्याय नेहरुसँग यस्तो सुविधा लिन सक्षम थिए । पार्टीले यस्ता लडाकू बलको लागि भर्ना लिन, हतियार बन्दोबस्त गर्न र तालिम दिन सुन्दरराज चालिसे, थिरबम मल्ल, पूर्णसिंह खबास र अन्यलाई नियुक्त गरको थियोे । मल्लले भारतको सिलोङ र बर्माबाट हतियार एकठ्ठा गरेको थियो । भारतको समाजवादी पार्टीका कार्यकर्ता तथा राममनोहर लोहिया र जयप्रकाश नारायणका शिष्य भोला चटर्जीले मल्ललाई बर्माको समाजवादी पार्टीबाट हतियार प्राप्त गर्न सहयोग गरेका थिए ।

राजा त्रिभुवनको लागि राणालाई उखेलेर फ्याँक्ने मूल लक्ष्य लिएर अघि बढेका अन्य विद्रोही समूहहरुका साथमा उस्तै लक्ष्य बोकेको नेपाल डेमोक्रेटिक कांग्रेस पनि स्वागतयोग्य भयो । सन् १९३६ को प्रजा परिषद्को मामिलामा भै यो राजनीतिक पार्टी गठनमा पनि उनको प्रत्यक्ष संलग्नता स्पष्ट थियो । हुन त नेपाली राष्ट्रिय कांग्रेसको पनि राणा शासन व्यवस्थालाई फ्याँकी संवैधानिक राजतन्त्रको नेतृत्वको सरकार स्थापना गर्ने समान उद्देश्य रहेको भए तापनि उक्त पार्टीको स्थापनामा राजा त्रिभुवनको प्रत्यक्ष संलग्नता थिएन । तथापि उनीहरुप्रति उनको निश्चितरुपमा सहानुभूति रहेको थियो । यसका प्रमुख व्यक्तिहरुले पर्याप्त र उल्लेखनीय आधार खडा गरिसकेका थिए । धक्का दिन सक्ने क्षमताको पनि प्रदर्शन गरिसकेका थिए । तसर्थ राजा उनीहरुको अर्को कार्यलाई बडो उत्सुकतापूर्वक पर्खी बसेका थिए ।
त्यसरी सन् १९४९ दुई घटनाक्रमबाट शुरुवात भएको थियो ।

नेपालका भ्यालखानाहरु नेपाल प्रजा पञ्चायतका कार्यकर्ताहरु र उनीहरुप्रति सहानुभूति राख्नेहरुलगायत नेपाली राष्ट्रिय कांग्रेसका जुन पछि नेपाल प्रजातन्त्र कांग्रेस घोषित भएको थियो, त्यसका कार्यकर्ताहरुले भरिन थाले । भद्रगोल जेलको बन्दी जीवन स्वस्थकर र कल्याणकारी थिएन । बन्दी संख्यामा वृद्धि हुनाले जेलको अवस्था झन् खराब बन्नु नै थियो । त्याो त्यही भ्mयालखाना थियो, जहाँ पहिला सन् १९४० मा गणेशमान सिंह र प्रजा परिषद्का अन्यलाई थुनेर राखिएको थियो । त्यस बेला त्यहाँभित्रको सुधार प्रयासमा गणेशमानले आमरण अनशनमा बस्ने धम्की दिएका थिए भने अहिले बी.पी. कोइराला, त्रिरत्न तुलाधर र गौरीभक्त प्रधानले पनि गणेशमानको अनुशरण गरिरहेका थिए ।

(क्रमशः अर्को मंगलबार)