राष्ट्रको सम्पत्ति त्रिचन्द्र कलेजको नियति



नेपालका राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाको शासनकाल प्रारम्भका सात वर्षपछि वि.सं. १९९० मा दरबार हाइस्कुलको स्थापनाबाट शुरु भएको नेपालको औपचारिक शिक्षाले आजसम्म आइपुग्दा अनेक आरोह–अवरोह, उकाली–ओराली एवम् घुम्तीहरु पार गरिसकेको छ ।

यसको ६५ वर्षपछि वि.सं. १९७५ मा स्थापना भएको त्रिचन्द्र कलेजले नेपालको शैक्षिकलगायत प्राज्ञिक जगत्मा एक प्रकारको उर्बर हलचल नै ल्याएको थियो । अझ भनौं वि.सं. १९९७ को राजनीतिक चेतना, जागरण र घटनाक्रमको परिवृत्तमा त्रिचन्द्र कलेजले उच्च बौद्धिक समुदायको नेतृत्व गरेको थियो । नेपालको राणाकालीन समयमा भारतस्थित पटना विश्वविद्यालयबाट कला र कानुनमा स्नातक गरेका नेपाली साहित्यका बरदपुत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्रिचन्द्र कलेजमा नेपाली अध्यापनको लागि प्रवेश पाएका थिए, तर अङ्ग्रेजी साहित्यमा समेत देवकोटाको विशेष क्षमता र दखल थियो ।

तत्काल त्रिचन्द्र कलेजमा अङ्ग्रेजी साहित्यको प्राध्यापक रहेका यदुनाथ खनालको बुझाइमा अद्वितीय वाकशक्ति सम्पन्न देवकोटाको प्रचुर बौद्धिकता, प्रतिभा, क्षमताको बल र आडमा राणाहरुले उनलाई कलेजमा अङ्ग्रेजी साहित्यको प्राध्यापक पद उपलब्ध गराएका थिए । त्यसैले राणाकालीन समयमा नेपालको एकमात्र शिक्षण संस्था त्रिचन्द्र कलेजसँग तीव्र बौद्धिक जागरण र चेतनाको सुन्दर वातावरण थियो ।नेपालमा उच्च शिक्षाको औपचारिक थालनी गर्ने शताब्दी पुरानो यो कलेजको जीवन्त इतिहास जति स्वर्णिम र गौरवपूर्ण छ, तर वर्तमान भने त्यस्तो छ्रैन ।

त्रिचन्द्र कलेज त्रिभुवन विश्वविद्यालयभन्दा पनि चार दशक पुरानो हो । संसारभर नै शिक्षालाई पहिलो प्राथमिकता दिने विकसित मुलुकहरुमा सामान्यतः कलेज, विश्वविद्यालयहरु जति पुराना हुन्छन् त्यति नै गौरव र ज्ञानका साथ आपूलाई प्रस्तुत गरिरहेका हुन्छन् । तर गत भदौ १२ गते आफ्नो १०४ औं वार्षिकोत्सव मनाएको देशकै जेठो शिक्षण संस्था त्रिचन्द्र कलेजको दयनीय अवस्थालाई अवलोकन गर्दा लाग्छ– आज यो ऐतिहासिक सम्पदा त्रिचन्द्र कलेजसँग आफ्नो इतिहास जोगाउने शक्ति र सामाथ्र्य पनि गुमाएको छ । मुलुकको उच्च शिक्षा विकासको एक प्रमुख साक्षीका रुपमा उभिएको यस कलेजको यो सुन्दर भवन दिनप्रतिदिन जीर्ण बनिरहेको छ ।

देशका आजका शासकवर्गदेखि त्रिभुवन विश्वविद्यालयका नेतृत्वधारी पदाधिकारी, प्रशासकहरुसम्मको अदूरदर्शिता र शैक्षिक, ऐतिहासिक चेतशून्यताका कारण त्रिचन्द्र कलेजको वेगवान् ज्योति आज कतै हराइरहेको छ । देशका राष्ट्रपति, प्रधानमन्त्री, सरकार, शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले समय छँदै अझै पनि गम्भीर रुपमा ध्यान नदिने हो भने यो ज्योति सदाको लागि निभ्न पनि बेर लाग्दैन, तर किमार्थ निभ्न दिनुहुँदैन । नेपालको शैक्षिक मानचित्रमा यो कलेज बेलायतको अक्सफोर्ड विश्वविद्यालयजस्तै हो ।सामान्यतया शैक्षिक संस्थाहरुको मूल आकर्षणको थलो तिनका भौतिक पूर्वाधार तथा भवनहरु नभई त्यहाँ हुने प्राज्ञिक, शैक्षिक गतिविधिहरु नै हुन् तर त्रिचन्द्र कलेजको हकमा भने भवन पनि आफैंमा एक धरोहर हो र पुरातात्विक महत्व बोकेको यो भवनको आफ्नै गरिमा छ ।

कुनै व्यक्तिविशेषको निजी सम्पत्ति भए पनि यति पुरानो भवनको संरक्षणमा राज्यले चासो दिनुपथ्र्यो भने दर्जनौं लब्धप्रतिष्ठित व्यक्तिहरुको शैक्षिक उन्नयनसँग जोडिएको यस कलेजको जीवन्त इतिहासको संरक्षणमा राज्यपक्षको ध्यान प्राथमिकतामै नपर्नु यहाँभन्दा अर्को दुःखद सवाल के हुनसक्छ ? मुलुककै ऐतिहासिक विरासतको रुपमा रहेको त्रिचन्द्र कलेजलाई त्रिभुवन विश्वविद्यालयले आफ्ना अरु पूर्वाधार निर्माणका कामहरु छाडेर पनि जीर्ण बन्दै गएका ऐतिहासिक धरोहरहरु जोगाउनतिर लाग्नु अपरिहार्य छ । त्यसैले नेपाल सरकारको एक प्रमुख अङ्गको रुपमा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसलाई पहिलो प्राथमिकतामा राखेर यसो गर्नु किन पनि जरुरी छ भने, तमाम नयाँ कामहरु थालनी गर्न सरकारसँग भोलि पनि समय उपलब्ध हुन्छ तर एकपटक ढलिसकेको सम्पदा धरोहर फेरि उही स्वरुप र शैलीमा ठड्याउन कदापि सकिँदैन ।

यदी ठडिए पनि त्यसको पुरातात्विक मूल्य फेरि उस्तै रहँदैन । त्यसैले नेपाल सरकारले ढल्नुअघि नै त्रिचन्द्र कलेज र भवनको गरिमा, महत्व र ज्ञान बुझोस् अनि ढल्नबाट जोगाओस् भन्ने आम प्राज्ञिक वर्गको पुकार हो ।आजको लोकतान्त्रिक सरकारसँग आम प्रश्न गर्दै अहिले त्रिचन्द्र कलेजको समग्र स्वरुपलाई दृष्टिचिन्तन गर्दा यस्तो लाग्छ– यो हाम्रो देशको उच्च शिक्षाको एउटा जीवन्त प्रतीक धरोहर नभएर केवल भूतघर हो, मानौं यसलाई संवद्र्धन र संरक्षण गरेर राखिरहनु कुनै जरुरी नै छ्रैन, फगत बिर्सिदिए हुन्छ । यति सुन्दर र कलात्मक भवनको शिरदेखि भुइँसम्म लेउ लागेको छ, चौतर्फी बर्खे झार झाँगिएर झाडी बनेको छ । बर्खाको पानी चुहिएर तेस्रोदेखि भुइँतल्लासम्मका भित्री बरन्डा सिमसारजस्तै देखिन्छन् ।

बाहिरबाट हेर्दा देशका मुर्धन्य प्राज्ञिक व्यक्तित्वहरु सरदार यदुनाथ खनाल, सरदार रुद्रराज पाण्डे, बोधविक्रम अधिकारी, लक्ष्मीप्रसाद देवाकोटादेखि सत्यमोहन जोशी, महेशचन्द्र रेग्मी र बालकृष्ण समजस्ता दर्जनौं व्यक्तिले पढेको र पढाएको यस कलेजमा कीर्तिनिधि विष्ट, सूर्यबहादुर थापा, झलनाथ खनालदेखि आजका प्रधानमन्त्री शेरबहादुर देउवासम्मले शिक्षा आर्जन गरेको कलेजको यो कारुणिक अवस्थाले अहिलेका सत्तासीन नेपाली शासकहरुको चेतलाई यसरी गिज्याइरहेको छ, यसबारेमा अलिकति पनि सरम लाग्नुपर्ने हैन र ? सही अर्थमा त्रिचन्द्र कलेजको जर्जर अवस्था आउनुमा हाम्रा नीति–निर्माताहरुको निम्छरो बुद्धि–विवेक नै हो ।

स्वाभाविक रुपमा आज यहाँ एउटा प्रश्न बारम्बार उठिरहेका छ– आपूm पढेको कलेजको यो अवस्था देख्दा बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको मन दुख्छ कि दुख्दैन अथवा यस दृश्यले पोल्छ कि पोल्दैन ? अझै पनि उनले कस्तो महसुस गरेका छन् ? देशको प्रधानमन्त्री भएकै कारण उनलाई समयको अभाव जतिसुकै भए पनि यो उत्पादनमूलक काममा उनले ध्यान दिनु बढी बुद्धिमानी हुन्छ । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका उनले अविलम्ब त्रिचन्द्र कलेजको पुनर्निर्माण गर्ने कार्ययोजना बनाउँदा समस्त नेपाली मनहरुले आत्मसन्तोषको भारी बिसाएको अनुभव गर्नेछन् ।संविधान अनुसार सातैवटा प्रदेशमा ४९ वटाभन्दा बढी मन्त्रालय बनाउन पाइँदैन तर अहिले मन्त्रालय विभाजन गरेर ७५ भन्दा बढी मन्त्रालय कायम गरिएको छ । विनायोजना र कामविनाका यी मन्त्रालयहरु केवल राष्ट्रको सम्पत्ति दोहन गर्नमा नै उदत्त रहेका छन् ।

यसमा गठबन्धन सरकारका प्रधानमन्त्रीले हस्तक्षेपकारी भूमिका निभाउन सक्नुपथ्र्यो तर उनी लाचार र निरीह छन्, किन ? प्रदेशमा एक मन्त्रालय थप गर्दा आर्थिक दायित्व वार्षिक एक अर्ब रुपियाँ पर्ने हुन्छ, जब कि त्रिचन्द्र कलेजको पुनर्निर्माणमा दुई अर्बको आवश्यकता छ । प्रदेशका दुईवटा मात्र मन्त्रालय खारेज गर्ने हो भने यस कलेजको पुनर्निर्माण सम्भव छ । यसको निमित्त सरकारको कार्यशैली र क्षमता हुनुप¥यो । पैसाको अभाव त हुँदै होइन, केवल इच्छाशक्तिको अभाव हो । राजधानीको मुटुमा सँगसँगै रहेका तीनवटा सम्पदा दरबार हाइस्कुल, रानीपोखरी र त्रिचन्द्र कलेजमध्ये दुईवटाको पुनर्निर्माण सम्पन्न भएको छ तर सँगै रहेको देशको बौद्धिक केन्द्र त्रिचन्द्र कलेजको दर्दनाक अवस्था देख्दा जो–कोहीलाई पनि विरक्त लाग्छ ।

काठमाडौं उपत्यकाभित्र महाभूकम्पले क्षति पु-याएका धरहरालगायत कतिपय धरोहरहरु पुनर्निर्माण भैसक्दा पनि त्रिचन्द्र कलेज बेहालकै अवस्थामा रहनु अति अशोभनीय र उदेक लाग्दो छ । कतिपयले त सामाजिक सञ्जालमा खुलेर प्रश्न गरेका पनि छन्, सरकारको प्राथमिकता धरहरा पर्नुपर्ने हो कि त्रिचन्द्र कलेज ? यो प्रश्न आफैँमा स्वाभाविक र जायज छ ।

यतिखेर महाकवि देवकोटाको एउटा मननीय उद्गारको याद आउँछ– घर चिन्न घर छोड तर घर नर्बिस ।शुरुका दिनमा त्रिभुवनचन्द्र कलेजको नामबाट वि.सं. १९७५ भदौ १२ गते स्थापित त्रिचन्द्र कलेज ढुङ्गा, इँटा, चुना, सुर्की, काठ र फलामजस्ता सामग्रीहरुको प्रयोग गरी १४ महिनाभित्र निर्माण सम्पन्न भएको थियो । कलेजको घन्टाघरतर्फको भवन त्यसै वर्ष निर्माण भएको हो ।

यस नवनिर्मित भव्य भवनको उद्घाटन श्री ५ त्रिभुवनद्वारा वि.सं. १९७६ असोज २७ गते चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर गरिएको थियो । यो कलेज स्थापना गर्नमा श्री ३ महाराज चन्द्रशमशेर जबराको पनि विवेकपूर्ण सुझबुझ रहेको छ, तर २०७२ जेठ १२ गतेको महाभूकम्पबाट क्षति पुगेपछि तीनतल्ले पुरातात्विक भवन जीर्ण बनेको हो । भूकम्पले क्षति पु¥याएको आज सात वर्ष बितिसक्दा पनि यो भवन पुनर्निर्माण हुन सकेको छैन । झन्डै १०५ वर्षको कालजयी इतिहास बोकेको त्रिचन्द्र कलेज भवनको जीर्णोद्धार कार्य नेपाल सरकारको प्राथमिकतामा कहिल्यै परेन । यदि परेको भए आज यो शून्यताको अवस्था हुने थिएन । यस्तै अवस्थालाई लिएर पुनर्निर्माण प्राधिकरणले पाँच वर्षभित्र त्रिभुवन विश्वविद्यालय मातहतका ३७ वटा युनिटको पुनर्निर्माण गर्ने भने पनि त्यस अनुरुप कार्ययोजना अघि बढेको छैन । अझै पनि भूकम्पपछि रेड स्टिकर लगाएका त्रिभुवन विश्वविद्यालयका ३३ वटा क्याम्पसमा चरम जोखिम मोल्दै कक्षा सञ्चालन भइरहेका छन्, जसमा त्रिचन्द्र कलेजसमेत पर्दछ ।

काठमाडौं उपत्यकाभित्र भूकम्पले क्षति पु-याएका धेरैजसो सम्पदाहरु पुनर्निर्माण भैसक्दा पनि त्रिचन्द्र कलेज बेहाल अवस्थामै छ । भारत सरकारको ऋण सहयोगमा बनाउने सम्झौता भए पनि यसको निर्माण प्रक्रिया नै शुरु भएको छैन । तर भारतले प्रतिबद्धता जनाएको ६ वर्षपछि बल्लतल्ल एक्जिम बैंकले स्वीकृति प्रदान गरेको छ र यसको लागि टेन्डर कहिले हुने हो, अझै टुङ्गो लागेको छैन । भूकम्पबाट चर्किएका भवन वर्षादको पानी छिर्दा झनै गलेका छन् । यदि आउँदो जेठसम्ममा पनि पुनर्निर्माण कार्य शुरु हुन सकेन भने असारपछिको वर्षादबाट कलेजको कल्तबिजोग कस्तो हुने हो ? अनुमान गर्न कठिन छ । क्याम्पस नेतृत्वले दर्जनपटक पुनर्निर्माण प्राधिकरणमा पुगेर समस्या नसुनाएको पनि होइन । प्राधिकरणले पुनर्निर्माणको लागि २ अर्ब रुपियाँ लाग्ने अनुमान गरेको छ ।

आज त्रिचन्द्र क्याम्पससँग यत्रो रकम खर्च गरेर पुनर्निर्माण गर्न सक्ने अवस्था बिल्कुलै नभएको दुखेसो छ । यसै कलेजमा पढेर शेरबहादुर जो आज देशको प्रधानमन्त्री रहेका छन् । उनको इच्छाशक्ति, सफा नियत र यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने हो भने कलेजको पुनर्निर्माण टाढाको विषय हुँदै होइन । त्यसैले अब अविलम्ब नगरीकन नेपाल सरकारले यस भवनलाई प्रबलीकरण गरेर जोगाओस् र राष्ट्रको एउटा कालजयी निधिलाई बचाउने काम गरोस् । महाकवि देवकोटाको केही नभएको सग्लो घर ढालेर आधुनिक सङ्ग्रहालय बनाउन उद्यत् सरकारले त्रिचन्द्र कलेजको उसै गरी अवमूल्यन गर्ने भूल कदापि नगरोस् भन्ने तीन करोड नेपाली जनताको आत्मीय सन्देश हो ।

नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को प्रतिनिधिसभामा प्रतिस्थापन विधेयकमार्फत आर्थिक वर्ष २०७८-०७९ को लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपियाँको पुनः संशोधन बजेट प्रस्तुत गरेका थिए । अघिल्लो सरकारले अध्यादेशमार्फत पेस गरेको यस बजेटमा संशोधनद्वारा रु. १५ अर्ब कटौती गरिएको छ । यस संशोधित बजेटमा अर्थमन्त्री शर्माले देशका विश्वविद्यालयहरुलाई पूर्वाधार विकाससहित अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने बाचा गरेका छन् तर यो बाचा पनि सात महिना बितिसकेको छ ।

बजेट भाषणका क्रममा अर्थमन्त्रीले मुलुकको सबैभन्दा पुरानो कलेज त्रिचन्द्र कलेज र घन्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचा र शैलीमा पुनर्निर्माण गर्ने प्रबन्ध गरिनेछ भनेका छन् । उहाँले कम से कम यसतर्फ केही गर्ने उत्सुकता देखाउनु पनि सकारात्मक सोचको उपज मान्न सकिन्छ । यसको पुनर्निर्माण कहिले र कसरी सम्भव हुन्छ ? त्यो भने अझै प्रतीक्षाकै विषय रहेको छ । इतिहास लोप भयो भने मानव सभ्यताको बत्ती निभ्छ भन्ने कुराका हेक्का राज्य सञ्चालन गर्ने हाम्रा शासकवर्गमा हुनु अति जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्