संस्कृतिविद् सत्यमोहन जोशीसँग आशीर्वाद लिएर मनोनयन दर्ता

0
Shares

 ललितपुर  । 

नेकपा एमाले ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य (आस्था) ले सोमबार संस्कृतिविद् सत्यमोहन जोशी र वामपन्थी नेताद्वय सिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठको आशीर्वाद लिएर आफ्नो मनोनयन दर्ता गराउनुभएको छ ।
उहाँहरू निर्वाचन आयोगको कार्यालय जानुअघि बिहान ९ बजे १ सय २ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशीको निवासमा पुग्नुभएको थियो । किस्ट अस्पतालबाट आइतबार डिस्चार्ज भएका जोशीले एमाले मेयरका उम्मेदवार व्यञ्जनकार र उपमेयरका उम्मेदवार शाक्यलाई विजयको आशीर्वाद दिनुभएको थियो । त्यसलगत्तै उहाँहरू शंखमूलस्थित सेठुं गणेशस्थित सिद्धिलाल सिंहको निवासमा पुग्नुभएको थियो । दुवै उम्मेदवारलाई आशीर्वाद दिँदै सिंहले भन्नुभयो– ‘ललितपुर महानगरपालिकाको समग्र विकास गर्न तपाईं दुई उम्मेदवारको आवश्यक छ । यो निर्वाचनमा दुवै जना विजयी हुने विश्वाससहित आशीर्वाद दिन्छु ।’ ८६ वर्षीय नेता सिंहले महानगरवासीको आवश्यकताअनुसार काम गर्न एमाले उम्मेदवारको विजय आवश्यक रहेको बताउनुभयो ।

त्यसपछि वालिफलस्थित वामपन्थी नेता स्नेहालता श्रेष्ठको निवासमा पुगेका ती दुई उम्मेदवारलाई आशीर्वाद दिँदै ८४ वर्षीया श्रेष्ठले आफ्नो जीवनमा ललितपुर महानगरमा एमालेको उम्मेदवार विजयी भएको हेर्न चाहेको बताउनुभयो ।भेटलगत्तै मेयर र उपमेयरका उम्मेदवार मनोनयन गर्न दिउँसो करिब साढे १२ बजे निर्वाचन आयोगको कार्यालय पुगेका व्यञ्जनकार र शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै मेयरका उम्मेदवार व्यञ्जनकारले दुवै जना करिब ५ हजार मत अन्तरले विजयी हुने दाबी गर्नुभयो । नेपाली कांग्रेसका मेयर चिरिबाबु महर्जनले पाँचवर्षे कार्यकालमा कुनै पनि काम गर्न नसकेको आरोप लगाउँदै भन्नुभयो– ‘उहाँले त पिचमाथि पिच गर्नुभयो । सरकारले लगातार विरोध गर्दा पनि अव्यवस्थित साइकल लेन निर्माण गरेर विवादित हुनुभयो । निर्वाचित भएलगत्तै कुपन्डोलमा फ्लाई ओभरको निर्माण गर्ने हल्ला चलाउनुभयो । तर, केही गर्नुभएन । नगरपालिकामा बोर्डको बैठक राख्न सक्नुभएन । आफ्नो एकलौटी शासन चलाउन खोजेको कारण उहाँ पूर्ण रूपमा असफल हुनुभयो ।’

मेयर महर्जनले हल्ला बढी गर्ने अनि सरकारले गरेको कामलाई मैले गरेको हो भन्दै अफवाह फैलाउने काम गरेको टिप्पणी गर्दै भन्नुभयो– ‘हामीले जितेपछि कहिल्यै आश्वासन बाँड्नेछैनौं । ललितपुरको ऐतिहासिकतालाई विश्वभर परिचित बनाउनेछौं । वडा अध्यक्ष र स्थानीयको सहमतिमा मात्र विकास निर्माणको काम गर्नेछौं ।’ उपमेयरकी उम्मेदवार मञ्जली शाक्यले आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘हामी घरघरको समस्या पहिचान गर्नेछौं । आवश्यकताको आधारमा योजना तय गरेर मात्र काम गर्नेछाैं ।’ उहाँले गठबन्धनको उम्मेदवारलाई झुन्डको संज्ञा दिँदै एमालेसँग नसक्ने भएपछि गठबन्धन बनाएर निर्वाचनमा आएको बताउनुभयो ।

दुई वर्ष अघिदेखि आफूले उम्मेदवार भएर जनतासामु परीक्षामा जाने उद्घोष गरेको र आज उम्मेदवारी दिन सफल भएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘अब जितसँगै सबैको घर घरमा पुगेर योजनाको खाका तयार गर्नेछु ।’ उहाँले एमाले पार्टी झन् विशाल भएको दाबी गर्दै अन्य पार्टीले आफ्नो पार्टीसँग तुलना गर्ने नसक्ने बताउनुभयो ।संस्कृतिविद् एवं इतिहासका धरोहर सत्यमोहन जोशीलगायत तीन जनासँग आशीर्वाद लिएर निर्वाचनमा होमिएका व्यञ्जनकार र शाक्यले उहाँहरूको आशीर्वादले आफूहरूले निर्वाचन जित्नेमा पूर्ण विश्वस्त रहेको बताउनुभयो ।

उम्मेदवारी दर्ता गराउन बाजागाजासहित निर्वाचन कार्यालय पुगेका मेयर र उपमेयरका उम्मेदवारद्वयले ललितपुर महानगरको समग्र विकासमा स्थानीयको महत्वपूर्ण हात रहेको बताउँदै त्यसका लागि एमालेको विजय सुनिश्चित भएको बताएका थिए ।ललितपुरमा आइतबार पहिलो उम्मेदवारी एमालेले गराएको थियो । एमालेले मेयर, उपमेयरसहित २९ वटै वडाअध्यक्ष र सदस्यले मनोनन दर्ता गरेको थियो ।