टिकट वितरणमा परिवारवाद



काठमाडौं  । 

राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा चरम परिवारवाद देखा परेको छ । लामो समय पार्टीमा राजनीतिक गरेको नेता कार्यकर्तालाई पाखा लगाउँदै शीर्ष नेताहरू नै परिवारवादमा केन्द्रित भएका छन् ।

यसको पछिल्लो ज्वलन्त उदाहरण बन्न पुगेको छ, काठमाडौं महानगरपालिका नगर प्रमुखका लागि नेपाली कांग्रेसबाट सिर्जना सिंहको र चितवनका भरतपुर महानगरपालिकाको नगरप्रमुखमा पुनः रेणु दाहालको उम्मेदवारी दर्ता भएको छ । मतदाताको दृष्टिकोणले ३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरपालिकामा सत्तारुढ गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा काठमाडौंको राजनीतिमा सधैं प्रभावशाली मानिएका प्रकाशमान सिंहकी पत्नी सृजना सिंहलाई साझा उम्मेदवार बनाएको छ ।

२०४६ सालको जनआन्दोलनको कमान्डर गणेशमान सिंहले आन्दोलन सफल भएपछि प्रधानमन्त्री हुन अस्वीकार गर्नुभएको थियो । तर, गणेशमान सिंहकै छोरा प्रकाशमान सिंहले भने आफ्नो पत्नीलाई काठमाडौं महानगरपालिकाको नगर प्रमुख बनाउनुभएको छ ।
त्यसै गरी परिवार र नातागोतालाई मात्रै सत्ता र शक्तिमा पु-याएको आरोप लाग्दै आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरी रेणु दाहाललाई पुनः भरतपुर महानगरपालिकाको मेयरका लागि गठबन्धनको साझा उम्मेदवार बनाउनुभएको छ ।

राजनीतिमा नातावाद र परिवारवादको नागरिक स्तरबाट चर्को विरोध हुने गरे पनि निर्वाचनमा टिकट वितरणदेखि राजनीतिक नियुक्तिमा दलहरूले मनोमानी गर्दै आएका छन् । राजनीतिक दलका नेताका आफन्त र नाता पर्दैमा व्यक्ति अयोग्य नहुने भए पनि नागरिक स्तरबाट बारम्बर राजनीतिक दलहरूमाथि प्रश्न उठ्दै आएको छ ।

प्राध्यापक चिरञ्जीवी खनाल राजनीतिक दलहरूले आफन्तलाई अघि सारे पनि अबको मतदाता निकै सचेत भइसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘राजनीतिक दलका नेताहरूले आफ्नो परिवारलाई उम्मेदवार बनाउने विषयमा मतदाताले विचार गरेर मात्र मत जाहेर गर्छन्, विगतमा जस्तो मतदाता छैनन् अहिले ।’

देशको मूल नीति राजनीतिलाई जनताको सेवामा लगाउनुपर्नेमा जोड दिँदै राजनीतिलाई विकृत बनाउँदा त्यसको प्रत्यक्ष असर समाजमा पर्ने भन्दै उहाँले भन्नुभयो– ‘स्थानीय तहको निर्वाचनमा समाजलाई बुझ्ने व्यक्तिलाई जिताउने चाहना मतदातामा देखिन्छ ।’आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार देशैभरिबाट राजनीतिक दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएको छ ।

प्रतिक्रिया दिनुहोस्