कांग्रेसले पाएका महानगरमा सिंह, महर्जन र कोइरालाद्वारा उम्मेदवारी दर्ता


काठमाडौं ।

सत्तारूढ दलको गठबन्धनबीच चुनावी तालमेल गर्न भएको सहमतिअनुसार नेपाली कांग्रेसले प्रमुख पद पाएका तीन महानगरपालिका काठमाडौं, ललितपुर र विराटनगरमा क्रमशः सिर्जना सिंह, चिरिबाबु महर्जन र नागेश कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन मात्र यी तीनै जना नेताहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवार घोषणा गर्नुभएको थियो । कांग्रेस संसदीय समितिले महानगरपालिकाका लागि पार्टीको आधिकारिक उम्मेदवारबारे निर्णय गर्ने अधिकार सभापति देउवालाई दिएको थियो ।काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गर्ने सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुन् । सक्रिय राजनीतिमा संलग्न नभए पनि सिंह २०५० सालदेखि नेपाल महिला संघको सल्लाहकारका रूपमा रहनुभएको छ ।

काठमाडौं नगरसमितिले महानगर प्रमुखका लागि महानगर सभापति नीलकाजी शाक्य, सिर्जना सिंह, सुसन वैद्य, हरिप्रभा खड्की र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको थियो । यो महानगरको उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको थियो । उपप्रमुखमा एकीकृत समाजवादीको तर्फबाट रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ ।ललितपुर महानगरपालिकाका लागि नेपाली कांग्रेसको तर्फबाट पुनः चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

ललितपुर महानगरका लागि कांग्रेस महानगर समितिबाट शुभानन धाख्वा, गीता सत्याल, प्रेमकृष्ण महर्जन, भरतलाल न्याछ्याें, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस भएको थियो । ललितपुर महानगरमा गठबन्धनको तर्फबाट उपप्रमुखमा नेकपा माओवादी केन्द्रका बाबुराज वज्राचार्यले मनोनयन दर्ता गराउनुभएको छ ।

सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार कांग्रेसले विराटनगर महानगरपालिकाको प्रमुखमा नागेश कोइरालाले उम्मेदवारी दर्ता गराउनुभएको छ । कोइराला नेपाली कांग्रेस मोरङका उपसभापतिसमेत हुनुहुन्छ । यो महानगरको उपप्रमुख जनता समाजवादी पार्टी (जसपा) को भागमा परेको थियो । उपप्रमुखमा जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा पार्टीका विराटनगर महानगरका अध्यक्ष अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

सत्ता गठबन्धनबाट महानगरपालिकाको प्रमुख र उपप्रमुख

महानगरपालिका नाम पद दल
काठमाडौं सिर्जना सिंह प्रमुख नेपाली कांग्रेस
रामेश्वर श्रेष्ठ उपप्रमुख एकीकृत समाजवादी
ललितपुर चिरिबाबु महर्जन प्रमुख नेपाली कांग्रेस
बाबुराजा वज्राचार्य उपप्रमुख माओवादी केन्द्र
विराटनगर नागेश कोइराला प्रमुख नेपाली कांग्रेस
अमरेन्द्र यादव उपप्रमुख जनता समाजवादी
पोखरा धनराज आचार्य प्रमुख एकीकृत समाजवादी
कोपिला रानाभाट उपप्रमुख नेपाली कांग्रेस
भरतपुर रेणु दाहाल प्रमुख माओवादी केन्द्र
चित्रसेन अधिकारी उपप्रमुख नेपाली कांग्रेस
वीरगन्ज राजेशमान सिंह प्रमुख जनता समाजवादी
इम्तियाज आलम उपप्रमुख नेपाली कांग्रेस