अर्थतन्त्रलाई भ-याङ बनाएर सत्तामा पुग्ने काम नगर


पछिल्लो समय च्याउ उम्रेजसरी वित्तीय संस्थाहरु खुलेका छन् । घरैपिच्छेजस्तो बैंक र सहकारी सञ्चालित छन् । एउटै घरमा पाँचवटासम्म वित्तीय संस्थाको बोर्ड राखेको पाइन्छ । सरकारले सजिलै वित्तीय संस्था दर्ता गर्दा यस्तो भएको हो । सहकारी विभागले जसलाई मनलाग्यो उसलाई अनुमतिपत्र प्रदान गरिरहेको छ । मापदण्डमा के उल्लेख छ, यसलाई विभागले ध्यानमा राखेको पाइँदैन । कति दूरीमा यी वित्तीय संस्थाहरु सञ्चालन गर्न दिने हो ? यसबारे सोचविचार नै नगरी धमाधम लाइसेन्स बाँड्ने काम मात्र भइरहेको छ ।

यत्रो विधि बैंक र सहकारी खुल्नुको प्रमुख कारण भनेको धेरै नाफा हो । सर्वसाधारणको पैसा सस्तो ब्याजमा राख्ने । त्यही पैसा कर्जावाललाई महँगो ब्याजमा लगाउने, त्यो पनि धितो राखेर । कर्जावालले पैसा तिर्न सकेन भने उसको घरखेत नै सखाप पारिदिने । उसलाई उठीबास पारिदिने । बैंक र सहकारीको कमाउने एउटै रणनीति भनेको चर्को ब्याजमा कर्जा दिने र तिर्न नसकेको खण्डमा सबै सम्पत्ति हडप्ने ।राष्ट्र बैंक र सहकारी विभागले यिनीहरुलाई ठगी खानको लागि लाइसेन्स दिएको जस्तो देखिन्छ । सरकारले वित्तीय संस्थाहरुलाई नियन्त्रण गर्न नसक्दा आज यिनीहरु डुब्ने अवस्थामा आएका छन् । जथाभावी लगानी गर्न अंकुशे नलगाउँदा घरजग्गा, शेयर र निजी प्लेटका गाडीमा लगानी ह्वात्तै बढ्यो । जसरी पसलले सामान बेच्छ, वित्तीय संस्थाले त्यसरी नै पैसा बेचे । यसको असर बिस्तारै देखा पर्दै छ ।

बैंक र सहकारीले बजार सधैँ तातिरहन्छ भन्ने सोचेर यी तीन चीजमा बढी कर्जा प्रवाह गरेको छ । तर पछिल्लो समय यी चीजको बिक्री वितरण स्वाट्टै घटेको छ । यसले गर्दा उनीहरुलाई आफ्नो लगानी उठाउनसमेत सकस परिरहेको छ । बैंक र सहकारीले सोचविचार नगरी लगानी गर्दा अर्थतन्त्र डामाडोल बन्यो ।जग्गा कारोबारीहरु यसको चपेटामा परेका छन् । ६ महिनाअघि आनाको ३० लाखमा किनबेच भएको जग्गाको मूल्य घटेर ७ लाखमा पनि बिक्री नभएको प्रशस्तै सुन्नमा आइरहेको छ । शेयरको पनि उही स्थिति छ । तीन महिनाअघि हजारमा किनेको शेयर एक सयमा बेच्छु भन्दा पनि किन्ने मान्छे छैनन् । एक महिनाअघि तीन लाखमा खरिद गरेको दुई पाङग्रे सवारीसाधन अहिले आधा मूल्यमा पनि किनबेच हुँदैन ।

यता, रिकन्डिसन कम्पनीहरुले पनि यस्ता सवारीसाधन लिँदैनन् । नयाँ खरिदकर्ता नहुँदा अटोशोरुमहरु टाट पल्टिसकेका छन् । बेच्ने राखे पनि किन्ने कोही नभएको उनीहरु बताउँछन् । आर्थिक मन्दी भएपछि होटलमा गएर खाने ग्राहक छैनन् । त्यसै गरी, भाटभटेनीलगायतका सुपर मार्केटमा पहिलेको एक भाग पनि बिक्री वितरण हुँदैन । बैंक र सहकारीमा बचत गर्न क्रम सामसुम भइसकेको छ ।बचत गर्ने नभए पनि निकाल्ने लामबद्ध छन् । आफ्नो बचत रकम कसरी निकालौं भन्ने सबैको मनसाय छ । सहकारीमा दैनिक पैसा राख्ने क्रम पनि रोकिएको छ । यिनीहरु कतिखेर भाग्ने हुन् ? भन्ने त्रास सबैमा देखिन्छ । तलब दिन नसकेर वित्तीय संस्थाहरुले कर्मचारी कटौती गरेका छन् । पहिले एउटै बजार प्रतिनिधिले दैनिक ६–७ लाख उठाउँथेँ । तर अहिले उनीहरु २५–३० हजारमा सीमित हुन पुगेका छन् । जति गर्दा पनि व्यापारीले पैसा राख्न मान्दैनन् । तर अफिसले यो कुरा बुझ्दैन ।

सहकारीका अध्यक्षले यति रकम ल्याएको भन्दै कराउनेसमेत गरेको पाइन्छ । बाँकी भएको बजार प्रतिनिधिको समेत दिनगन्ती शुरु भएको छ । कतिखेर जागिर जाने हो ? भन्ने डर उनीहरुमा देखिएको छ ।मुद्दतीमा लगेर पैसा राख्नेहरुलाई ब्याज बढाइदिन्छौं, फेरि पनि नवीकरण गरिदिनुहोस् भनेर बैंकका कर्मचारीहरु भनिरहेका हुन्छन् । अबको ६ महिनादेखि एक वर्षमा ९५ प्रतिशत वित्तीय संस्थाहरुको उठीबास हुने देखिन्छ । अधिकांश बैंकहरु घाटामा जाने अहिलेको परिस्थितिले देखाउँछ । वित्तीय संस्थाहरु धराशयी हुँदा पनि सरकार कानमा तेल हालेर बसेको छ ।

राष्ट्र बैंकले शेयर, घरजग्गा र निजी प्लेटका गाडीमा लगानी नगर्न वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । तर, राष्ट्र बैंकको निर्णय मान्न अटेर गरिएको देखिन्छ । घूस खाएर, सेवाशुल्क लिएर यी क्षेत्रमा लगानी गर्ने काम भइरहेको बुझिन्छ । आफ्नो पैसा निकाल्न जाँदा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक भेटिँदैनन् । क्यास काउन्टरमा मात्र कर्मचारीहरु हुन्छन् ।बढी ब्याज पाइन्छ भनेर सर्वसाधारणले बैंक र सहकारीमा लगेर पैसा राखेका थिए । तर, अहिले उनीहरुलाई नै ‘निल्नु न ओकाल्नु‘ भएको छ। जसका कारण आफूसँग भएको पैसा पनि घरमै राख्ने प्रवृत्ति शुरु भयो । बरु, घरबाटै ऋणमा लगाउने तर बढी ब्याजको लोभमा बैंक र सहकारीमा लगेर पैसा नराख्नेमा उनीहरुको अठोट छ ।

किनकि वित्तीय संस्थाले विश्वसनीयता गुमाइसकेका छन् । वित्तीय संस्थाहरुले ‘आफ्नो खुट्टामा आफैं बन्चरो हान्ने‘ काम गरे । कतिपय अर्थविद्हरुले नेपालको अर्थतन्त्र श्रीलंकाजस्तै हुन्छ भनेर पटक–पटक दोहो¥याइरहेका छन् । उनीहरुले सरकारी खर्च कटौती गर्नुपर्छ भनेर अर्थ मन्त्रालयलाई सुझावसमेत दिएका छन् ।साथै, विलासी वस्तुको आयातमा कडाइ र भत्तालगायत विषयमा हुने खर्च कटौती गर्नुपर्नेमा उनीहरुको जोड छ । तर, अर्थमन्त्री जनार्दन शर्मा सुनेर पनि नसुनेझैँ बसिरहेका छन् । उनी नेपालको अर्थतन्त्र कहिल्यै पनि श्रीलंकाजस्तो नहुने भनेर दाबी गर्दै आएका छन् । अर्थतन्त्र बचाउन अर्थमन्त्री शर्मासँग कुनै योजना छैन ।

अर्थमन्त्री शर्मा र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबीचको विवादले अर्थतन्त्र थप धराशायी हुने देखिन्छ । यी दुवैलाई मुलुक र जनता होइन, आफ्नो पदको मात्र माया छ । एक–आपसमा तालमेल नमिल्दा अर्थतन्त्रमा खतराको घन्टी बजिसकेको छ । अर्थतन्त्र जोगाउनुको साटो ‘तैँ ठूलो कि मै ठूलो‘ भन्ने यी दुवैलाई प्रधानमन्त्रीले निलम्बन गर्नुपर्छ ।यी दुईबीचको आपसी विवादमा हामी नेपाली जनता पिल्सिन बाध्य हुने देखिएको छ । राजनीतिक दलहरुले पनि बिग्रेको अर्थतन्त्रमा राजनीति गरे । यसलाई सुधार गर्नतर्फ होइन, झनै बिगार्नतर्फ उनीहरु लागे । विपक्षीका नेता अर्थतन्त्र बिग्रियो भन्दै सत्ता हाँक्ने दाउमा देखिन्छन् । उता, सत्तापक्षको नेता अर्थतन्त्र पहिल्यैकै गतिमा छ भनेर झुटो दाबी गर्दै आएका छन् । यिनीहरुको हानाथापले अर्थतन्त्रमा झनै ठूलो धक्का पुग्ने देखिन्छ । पछिल्लो समय हरेक जनताले आफूसँग भएको पैसा घरघरमा लुकाएका छन् । तैपनि त्यसलाई बजारसम्म ल्याउन सरकारसँग कुनै योजना छैन ।

सरकार आफै पनि निरीह र असहाय देखिएको छ । न पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन सक्छ, न दुई हजारको नयाँ नोट नै बजारमा ल्याउन सक्छ । श्रीलंकाको अवस्था हामी सबैले देखेका छौं । बढ्दो भ्रष्टाचार, सोच्दै नसोची लिइएको विदेशी ऋण र विदेशी मुद्राको सञ्चिती अभावका कारण श्रीलंकामा कसैले नसोचेको आर्थिक संकट आयो । न उसले विदेशी ऋण पायो, न चाहिएको बेला कुनै मुलुकले सहयोग गर्न चासो देखायो ।

बूढापाका भन्छन्, ‘बलेको आगो ताप्छन् निभेको ताप्दैनन् ।’ श्रीलंकामा ठ्याक्कै यस्तै देखियो । अब पालो नेपालको आउँदै छ । यस्तै लापरबाह पारा गरिराख्ने हो भने श्रीलंकाको भन्दा जटिल स्थिति हाम्रो बन्न सक्छ । नेपाल दोस्रो श्रीलंका बन्ने देखिन्छ । सरकारले समयमै ध्यान नपु¥याउने हो भने मुलुक तहसनहस बन्छ । महँगी बढेको बढ्यै छ । महँगीको उक्लिँदो ग्राफले खाद्यसंकट आउने देखिन्छ । अहिले एक बोरा चामलमा तीन सयदेखि पाँच सय रुपियाँ बढेको छ । खानेतेलमा प्रतिलिटर ५० रुपियाँसम्म बढेको छ । यो खाद्यान्न संकटको सूचक हो । अर्थतन्त्र कसरी सुधार्ने हो, देश कसरी बचाउने हो, छिटो सोच सरकार ! अर्थतन्त्रलाई भ¥याङ बनाएर सत्तामा पुग्ने काम कसैले पनि नगर ।
– अनुसा थापा, भक्तपुर