प्रबल राजनीतिक चेत भएका शिक्षक लक्ष्मण राजवंशी


काठमाडौं ।

प्रबल राजनीतिक चेत भएका शिक्षक हुनुहुन्थ्यो, लक्ष्मण राजवंशी । यो भनाइ त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमाको हो । शिक्षामा राजनीतिमा चलखेल हुनुहुन्न भन्ने मान्यता राख्ने प्रा. माथेमा शिक्षकमा राजनीतिक चेत हुनैपर्नेमा जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘शिक्षकमा मात्रै होइन, विद्यार्थीमा पनि राजनीतिक चेत हुनु जरुरी छ ।’

शिक्षाविद् एवं सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थापक प्राचार्य स्वर्गीय लक्ष्मण राजवंशीको वार्षिक पुण्यतिथिको अवसर पारेर आइतबार विद्यालय परिसरमा आयोजित उहाँको अर्धकदको प्रतिमा अनावरण गर्ने कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । प्रा. माथेमाले आजभोलि कथित राम्रा विद्यालयले विद्यार्थीलाई समाज र देशको वास्तविकताबाट पर राख्ने गरेकोप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘राजनीतिक चेत भनेको कुनै दलसँग आबद्ध हुनु होइन, बरु समाज र देशको वास्तविकता बुझ्ने र बुझाउन सक्ने चेत हो । विद्यालयले आफ्ना विद्यार्थीमा यो चेत भर्नुपर्छ । लक्ष्मण राजवंशी यही चेतले पूर्ण शिक्षाविद् हुनुहुन्थ्यो ।’

पूर्वउपकुलपति प्रा. माथेमाले विद्यालयमा दुई थरी पाठ्यक्रम पढाउने गरेको जिकिर गर्दै भन्नुभयो– ‘विद्यालयहरूले एउटा प्रेस्काइब गरेको पाठ्यक्रम र अर्को अदृश्य पाठ्यक्रम पढाउने गरेको छ । अदृश्य पाठ्यक्रम डरलाग्दो विषय हो ।’ उहाँले अदृश्य पाठ्यक्रम भनेर विद्यालयमा हाम्रो देशभन्दा अर्को देश राम्रो, हाम्रो संस्कृतिभन्दा अर्को देशको संस्कृति राम्रो भनेर सिकाइनेलगायतका विकृत प्रचलनलाई भन्नुभएको हो ।
कार्यक्रममा विद्यालयका प्राचार्य रूपक राजवंशीले तत्कालीन शिक्षा क्षेत्रमा देखिएको अलमललाई चिर्न शिक्षाविद् राजवंशीको योगदान महत्वपूर्ण रहेको जिकिर गर्दै भन्नुभयो– ‘शिक्षा जगत्मा उहाँको आगमन स्वर्णकालको रूपमा स्मरण गरिन्छ ।’

कार्यक्रममा सहभागी वक्ताले ६ दशकभन्दा बढी समय शिक्षा क्षेत्रमा सक्रिय स्वर्गीय राजवंशीलाई शिक्षा, साहित्य र समाजसेवाको त्रिवेणीको रूपमा चित्रण गरेका थिए । कार्यक्रममा शिक्षाविद् स्वर्गीय राजवंशीको अन्तिम कृति नेपाल भाषामा लेखिएको ‘गुलि सह यायेगु ?’ पुस्तकको पनि विमोचन गरिएको थियो । पुस्तकमा उहाँले विसं. २०६६ फागुनदेखि २०६७ मंसिरसम्म रचना गर्नुभएको १ सय १२ वटा लघुकथाहरू समेटिएका छन् ।विसं १९९२ को साउनमा जन्मेका स्वर्गीय राजवंशीको गत वर्ष वैशाख ११ गते ८६ वर्षको उमेरमा निधन भएको थियो । नेपाल भाषाका प्रसिद्ध कथाकार तथा निबन्धकार, साहित्यकार, लेखक राजवंशी नेपाल भाषा एकेडेमीका उपकुलपति र विसं. २०४६ मा तत्कालीन शिक्षामन्त्रीका सल्लाहकारसमेत रहनुभएको थियो ।

आनन्दकुटी विद्यापीठमा १० वर्ष प्राधानाध्यापकको जिम्मेवारी सम्हालेका राजवंशीले सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थापक प्राचार्य भएर ४२ वर्ष काम गर्नुभएको थियो । विसं २००५ मा राजनीतिमा प्रवेश गरेका राजवंशीले छ महिना भूमिगत, ८ महिना निर्वासन र पटकपटक गरी २ वर्ष जेल जीवन बिताउनुभएको थियो । उहाँ नेपाः राष्ट्रिय पार्टीको तर्फबाट दोस्रो संविधानसभाको सदस्य हुनुभएको थियो भने ज्येष्ठ सदस्यको हैसियतले संसद् बैठकको अध्यक्षता पनि गर्नुभएको थियो ।