कोखदेखि शोकसम्मको योजना समावेश

कांग्रेसको घोषणापत्र सार्वजनिक : ६५ वर्षपछि वृद्धभत्ता

0
Shares

काठमाडौं  । 

नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०७९ का लागि घोषणापत्र जारी गर्दै ‘कोखदेखि शोकसम्म’ कांग्रेसले साथ रहने बताएको छ । प्रजनन स्वास्थ्य अधिकार, गर्भावस्था, सुरक्षित मातृत्व, बाल विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र श्रम, वृद्धावस्था र मृत्यु संस्कारसम्मको कार्यक्रम सम्बोधन गर्दै कांग्रेसले कोखदेखि शोकसम्मको योजना अघि सारेको छ ।

आइतबार घोषणापत्र सार्वजनिक गर्दै महामन्त्री गगन थापाले भन्नुभयो– ‘कोखदेखि शोकसम्मको योजनामा युवायुवतीलाई निःशुल्क प्रजनन शिक्षा र प्रजनन छनोटको स्वतन्त्रताको प्रत्याभूतिदेखि मृत्यु संस्कारसम्म खर्च उपलब्ध गराउने लक्ष्य राखिएको छ । प्रजनन छनोटको स्वतन्त्रताको प्रत्याभूतिपछि गर्भावस्थामा निःशुल्क परीक्षण घरघरमा गर्भावस्था पोषण तालिका र घरवारविहिन विपन्न गर्भवतीका लागि निःशुल्क अश्रय र पोषणको व्यवस्था गरिनेछ ।

निःशुल्क संस्थागत सुत्केरी सेवा, सुत्केरी र नवजात शिशुको घरदैलोमा स्वास्थ्य सेवा र पाँच हजार रुपियाँ सुत्केरी भत्ता उपलब्ध गराइनेछ । बाल विकासका लागि निःशुल्क खोप तथा पोषण तालिका र शिशु स्याहार केन्द्र र दिवा खाजाको व्यवस्था गरिनेछ । शिक्षामा घोकन्ते शिक्षा प्रणालीबाट सोच्ने, सोध्ने र सिक्ने शिक्षा प्रणालीको विकास गर्नुका साथै रोजगारमूलक सिकाइलाई प्राथमिकतामा राखिने कांग्रेसले गरेको संकल्पपत्रमा उल्लेख छ ।

स्वास्थ्यमा नेपाली कांग्रेसले सबै नागरिकलाई स्वास्थ्य बिमा र ६५ वर्ष माथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका विपन्न नगरिकलगायतलाई निःशुल्क बिमाको व्यवस्था मिलाइने जनाएको छ । कांग्रेसले स्वास्थ्यमा खल्तीको पैसा कम खर्च गर्ने व्यवस्था मिलाउने नीति लिएको छ ।
रोजगारी र श्रमको सवालमा कांग्रेसले तरुण सीप र वृत्ति विकास, सबै युवायुवतीलाई सम्मानित रोजगार भनेको छ । स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, सबै श्रमिकको सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गर्ने, सबै श्रमिकको सञ्चयकोष र उपदानको प्रत्याभूति र एकल महिला र अपाङ्गता भएका नागरिकद्वारा सञ्चालित स्वरोजगारको हकमा ५० प्रतिशत योगदान सरकारको तर्फबाट व्यवस्था गर्ने कांग्रेसको संकल्पमा उल्लेख छ ।

वृद्धावस्थालाई सम्बोधन गर्दै कांग्रेसले ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा, ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिककलाई ज्येष्ठ नागरिक भत्ता, ज्येष्ठ नागरिक उपचार खर्च, ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा जस्ता कार्यक्रम अघि सारेको छ । मृत्यु संस्कारका लागि नागरिक समुदाय र धर्मबमोजिमको बेग्लै अन्तिम संस्कारका लागि स्थान उपलब्ध गराउने र मृत्यु संस्कार खर्च उपलब्ध गराउने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

कांग्रेसले के गर्ने के नगर्ने के गर्ने

  1. संविधानप्रदत्त सम्पूर्ण अधिकार कार्यान्वयनका लागि बन्न बाँकी रहेका कानुन संघ र प्रदेशले एक वर्षभित्र निर्माण र परिमार्जन गर्ने,
  2. एक वर्षभित्र संघीय प्रणालीलाई कार्यमूलक र प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाई क्षमता अभिवृद्धि गर्ने,
  3.  एक वर्षभित्र स्थानीय सरकारलाई थप स्रोत–साधन सम्पन्न बनाउन कर्मचारी व्यवस्थापन गरी आवश्यक जनशक्ति पदपूर्ति गर्ने
  4. व्यवस्था गर्ने तथा क्षमता अभिवृद्धिका लागि आवश्यक संरचना बनाउने,
  5. स्थानीय सरकारको माग, क्षमता र आवश्यकताका आधारमा बजेट विनियोजन, समानीकरण अनुदान वृद्धि, पूर्वाधारलगायत विकास आयोजनाका लागि सहुलियत ऋण, अनुदान, प्राविधिक सहयोग उपलब्ध गराउने,
  6.  विभिन्न तहका बीचमा रहेको कार्यगत अस्पष्टता तथा नीतिगत अन्योलतालाई स्पष्ट पार्ने,
  7.  जिल्ला समन्वय समितिलगायत जिल्लाका संरचनाहरूको क्षेत्राधिकार र भूमिकाको स्पष्ट व्याख्या गर्ने,
  8. स्रोतसाधनको परिचालन, नीति, योजना र कानुन तर्जुमा गर्दा तीन तहबीच दोहोरोपन हटाउन समन्वय,
  9.  संविधानको भावना र मर्मअनुसार स्थानीय सरकारलाई स्वायत्त रूपमा सञ्चालन गर्न संघीय र प्रदेश सरकारले उत्प्रेरकको भूमिका निर्वाह गर्ने,
  10.  सुशासन, पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासनका सम्पूर्ण सिद्धान्त अनुशरण गरी भ्रष्टाचारमुक्त र मितव्ययी शासन प्रणाली अवलम्बन र संस्थागत गर्ने,
  11.  स्थानीय सरकारको कार्य सम्पादनको समीक्षा गर्ने उद्देश्यले पार्टीले हरेक वर्ष अनुभव साटासाट गर्ने स्थानीय सरकारको अनुगमन र मूल्यांकन संयन्त्र बनाई प्रभावकारी अनुगमन गर्न हरेक आर्थिक वर्ष समाप्त भएको २ महिनाभित्र स्थानीय तहको पार्टी अडिट गर्ने,
  12.  स्थानीय सरकार र नेतृत्वको मूल्यांकन गर्दा राष्ट्रिय र स्थानीय तहले निर्धारण गरेको लक्ष्यका साथै घोषणापत्रमा उल्लेखित सूचकांकको आधारमा मूल्यांकन गर्ने ।
    के नगर्ने
  13.  पार्टीको नीति र सिद्धान्त, सुशासनका मापदण्ड र जनताप्रतिको उत्तरदायित्वलाई पूर्णरूपमा आत्मसात गर्दै हाम्रा स्थानीय सरकारको नेतृत्व गर्ने प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूले देहायबमोजिमका कार्य गर्ने छैनौं भनेर संकल्प गर्नेछन्,
  14. जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौं,
  15.  सरकारी सम्पत्तिको दुरूपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन गर्दैनौ, गर्न दिने छैनौं,
  16. कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम गर्दैनौं,
  17. नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्ने छैनौं,
  18. निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपारदर्शी वा अनुत्तरदायी रूपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम गर्दैनौं, गर्न दिने छैनौं,
  19. कानुन, आर्थिक तथा वित्तीय उत्तरदायित्व र अनुशासनको उल्लंघन गर्दैनौं,
  20.  महिलामाथि हुने हिंसा, जातीय भेदभाव, लैंगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामा प्रत्यक्ष तथा परोक्ष रूपमा समेत कुनै पनि अवस्थामा संलग्न हुने छैनौं,