प्रवल राजनीतिक चेत भएका शिक्षक लक्ष्मण राजवंशी

0
Shares

काठमाडौं । 

प्रवल राजनीतिक चेत भएका शिक्षक हुनुहुन्थ्यो, लक्ष्मण राजवंशी । यो भनाई त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. केदारभक्त माथेमाको हो । शिक्षामा राजनीतिक चलखेल हुनुहुन्न भन्ने मान्यता राख्ने प्रा. माथेमा शिक्षकमा राजनीतिक चेत हुनैपर्नेमा जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘शिक्षकमा मात्रै होइन, विद्यार्थीमा पनि राजनीतिक चेत हुनु जरुरी छ ।’

शिक्षाविद् एवं सिद्धार्थ वनस्थली ईन्स्टिच्यूटका संस्थापक प्राचार्य स्वर्गीय लक्ष्मण राजवंशीको वार्षिक पूण्यतिथिको अवसर पारेर आईतबार विद्यालय परिसरमा आयोजित उहाँको अर्धकदको प्रतिमा अनावरण गर्ने कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । प्रा. माथेमाले आजभोली कथित राम्रा विद्यालयले विद्यार्थीहरूलाई समाज र देशको वास्तविकताबाट पर राख्ने गरेकोप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो–‘राजनीतिक चेत भनेको कुनै दलसँग आवद्ध हुनु होइन, बरु समाज र देशको वास्तविकता बुझ्ने र बुझाउन सक्ने चेत हो । विद्यालयले आफ्ना विद्यार्थीमा यो चेत भर्नुपर्छ । लक्ष्मण राजबंशी यही चेतले पूर्ण शिक्षाविद् हुनुहुन्थ्यो ।’

पूर्व उपकुलपति प्रा. माथेमाले विद्यालयमा दुई थरी पाठ्यक्रम पढाउने गरेको जिकिर गर्दै भन्नुभयो–‘विद्यालयहरूले एउटा प्रेस्काइब गरेको पाठ्यक्रम र अर्को अदृश्य पाठ्यक्रम पढाउने गरेको छ । अदृश्य पाठ्यक्रम डरलाग्दो विषय हो ।’ उहाँले अदृश्य पाठ्यक्रम भनेर विद्यालयमा हाम्रो देशभन्दा अर्को देश राम्रो, हाम्रो संस्कृतिभन्दा अर्को देशको संस्कृति राम्रो भनेर सिकाइनेलगायतका विकृत प्रचलनलाई भन्नुभएको हो ।
कार्यक्रममा विद्यालयका प्राचार्य रुपक राजवंशीले तत्कालिन शिक्षा क्षेत्रमा देखिएको अलमललाई चिर्न शिक्षाविद् राजवंशीको योगदान महत्वपूर्ण रहेको जिकिर गर्दै भन्नुभयो–‘शिक्षा जगतमा उहाँको आगमण स्वर्णकालको रुपमा स्मरण गरिन्छ ।’

कार्यक्रममा सहभागी वक्ताहरूले ६ दशकभन्दा बढी समय शिक्षा क्षेत्रमा सक्रिय स्वर्गीय राजवंशीलाई शिक्षा, साहित्य र समाजसेवाको त्रिवेणीको रुपमा चित्रण गरेका थिए ।कार्यक्रममा शिक्षाविद् स्वर्गीय राजवंशीको अन्तिम कृति नेपाल भाषामा लेखिएको ‘गुलि सह यायेगु ?’ पुस्तकको पनि विमोचन गरिएको थियो ।

पुस्तकमा उहाँले वि.सं. २०६६ फागुनदेखि २०६७ मंसीरसम्म रचना गर्नुभएको १ सय १२ वटा लघुकथाहरू समेटिएका छन् ।वि.सं १९९२ को साउनमा जन्मनु भएका स्वर्गीय राजवंशीको गत वर्ष बैशाख ११ गते ८६ वर्षको उमेरमा निधन भएको थियो । नेपाल भाषाका प्रसिद्ध कथाकार तथा निबन्धकार, साहित्यकार, लेखक राजवंशी नेपाल भाषा एकेडेमीका उपकुलपति र वि. सं. २०४६ मा तत्कालिन शिक्षामन्त्रीका सल्लाहकार समेत रहनुभएको थियो ।

आनन्दकुटी विद्यापिठमा १० वर्ष प्राधानाध्यापकको जिम्मेवारी सम्हालेका राजवंशीले सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थापक प्राचार्य भएर ४२ वर्ष काम गर्नुभएको थियो ।वि.सं. २००५ मा राजनीतिमा प्रवेश गरेका राजवंशीले छ महिना भूमिगत, ८ महिना निर्वासन र पटकपटक गरी २ वर्ष जेल जीवन बिताउनुभएको थियो । उहाँ नेपाः राष्ट्रिय पार्टीको तर्फबाट दोस्रो संविधानसभाको सदस्य हुनुभएको थियो भने ज्येष्ठ सदस्यको हैसियतले संसद बैठकको अध्यक्षता पनि गर्नुभएको थियो ।