उम्मेदवारको मनोनयन दर्ता आइतबार र सोमबार

0
Shares

सुनील महर्जन, काठमाडौं । 

वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । उम्मेदवार मनोनयन दर्ताको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रेस विज्ञप्ति जारी आइतबार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउन समय तोकिएको जानकारी दिएको छ ।
उम्मेदवारले मनोनयन दर्ता सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा हुने प्रमुख निर्वाचन अधिकृत दिनेशप्रसाद थपलियाले बताउनुभयो देशभरका ७ सय ५३ वटा स्थानीय तह नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका साथै वडाअध्यक्ष र सदस्यका लागि आवश्यक ३५ हजार २ सय २१ पदका लागि हुने निर्वाचनका लागि मनोनयन दर्ता हुनेछ ।

यद्यपि, उम्मेदवारको संख्या मनोनयनको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै टुंगो लाग्ने निर्वाचन आयोगले जनाएको छ ।दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ आफ्नो मनोनयन दर्ता गर्न पनि आयोगले आग्रह गरेको छ । यसैबीच दर्ता गर्ने कार्य शान्तिपूर्ण रूपमा गर्न र गराउन पनि स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।

आयोगका अनुसार निर्वाचन कार्यतालिका सञ्चालनको लागि ७७ वटै जिल्लाको सदरमुकाम रहेको स्थानीय तहका मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा सम्पूर्ण तयारी भइसकेको छ ।विगतको स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम १ दिन रहेको र १ दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालयसमेतले कार्य चाप धान्न कठिन भएको, केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नु परेकोे आयोगले जनाएको छ ।

यसले निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन उम्मेदवारको सूची प्रकाशन गर्न नसकिएको सन्दर्भमा दुई दिनको समय दिन उपयुक्त हुने भन्ने राजनीतिक दल तथा अन्य सरोकारवालाबाट आयोगलाई सुझाव प्राप्त भएको आधारमा स्थानीय सदस्य निर्वाचन, २०७९ मा मनोनयन दर्ताको कार्यक्रम दुई दिन राखिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडलेले बताउनुभयो ।

केही ठाँउमा गोलाप्रथा गरेर वा कुनै उपायले दलहरूलाई निश्चित समय छुट्याएको हल्ला आएको जिकिर गर्दै प्रवक्ता पौडेलले भन्नुभयो– ‘त्यसरी समय नतोक्न, कार्यालय समयभित्र जुनसुकै बेलामा आए पनि मनोनयन दर्ता गर्न आयोगले निर्देशन दिएको हो ।

’मनोनयन दर्ता कार्यलाई सु–व्यवस्थित र शान्तिपूर्ण ढंगले सम्पादन हुने गरी सहयोग पु-याउन तथा कानुनबमोजिमको योग्यता पुगेका सबै नागरिकको स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार बन्न पाउने नैसर्गिक अधिकार माथि कही कतैबाट कुनै अवरोध आउन नदिन र निर्धारित दुई दिनमध्ये कुनै दिन दल वा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता हुन आएको खण्डमा सोही दिन उम्मेदवारको मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराइएको पनि प्रवक्ता पौडेलले बताउनुभयो ।
स्थानीय तहको निर्वाचनमा दलको उम्मेदवारको हैसियत वा स्वतन्त्र रूपमा नेपाली नागरिकले उम्मेदवारी दिन पाउनेछन् ।

उम्मेदवार हुन खोजेको व्यक्ति नेपाली नागरिक हुनुपर्ने, २१ वर्ष पूरा भएको हुनुपर्ने, आफू उम्मेदवार हुने क्षेत्रको मतदाता नामावलीमा नाम भएको हुनुपर्ने र कुनै कानुनले अयोग्य भएको हुनुहुँदैन । नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराउन १ हजार ५ सय रुपियाँ धरौटी तोकिएको छ भने महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपमा विपन्न व्यक्तिलाई भने मनोनयन दर्ता शुल्क ७ सय ५० रुपियाँ मात्र लाग्ने आयोगले जनाएको छ । कुनै दलबाट उम्मेदवारी दिन दलले प्रदान गरेको औपचारिक पत्र चाहिनेछ ।

बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार दर्ता गर्न पदबाट दिएको राजीनामा पत्र, बेरुजु र पेस्की फछ्र्यौट भएको पत्र पनि सनाखतका लागि बुझाउनुपर्ने छ । आयोगले स्थानीय तहलाई कुनै जिन्सी वा नगद बुझाउन बाँकी भएको व्यक्तिसमेत उम्मेदवार हुन नसक्ने व्यवस्था गरेको छ । मनोनयनका साथमा सम्पत्ति विवरण बुझाउनुपर्ने र त्यो ठीक साँचो रहेको भनी स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । उम्मेदवारले गर्नुपर्ने स्वघोषणाको एउटा बँुदामा भनिएको छ– ‘सरकारी पेस्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको ।’

आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्था र केही थप अवधारणा अघि सारेर उमेदवारहरूले स्वघोषणा गर्नुपर्ने विषयवस्तु सार्वजनिक गरेको हो । उमेदवारले प्रचलित कानुनमा तोकिएका सबै कागजात बुझाउनुपर्छ । उम्मेदवार हुने व्यक्तिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकको बन्दसूचीमा नभएको स्वघोषणा समेत गर्नुपर्नेछ ।

आयोगले उमेदवारहरूले विदेशमा स्थायी आवासीय अनुमतिपत्र (डीभी÷पीआर) नलिएको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । अनि न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद, सजाय र जरिवाना तिर्न बाँकी भए बुझाउनुपर्ने व्यवस्था पनि गरेको छ ।

उम्मेदवारको विरोधमा वैशाख १३ गते उजुरी दिनका लागि समय तोकिएको छ । १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ । यस्तै, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने र १६ गते नाम फिर्ता लिन समय दिइएको छ । आयोगले वैशाख १६ गते नै अन्तिम नामावली प्रकाशन गरी १७ गते स्वतन्त्र उम्मदेवारहरूलाई निर्वाचन चिन्ह दिइनेछ ।