पुलमुनिको बास, छैन कसैको आश, चार कुकुरको साथ

0
Shares

  • मीना पोखरेल

कुकुरलाई फोहोरको भारी बोकाउँदै गरेकी एक वृद्धाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैको ध्यान त्यता मोडिएको छ । आजभोलि काठमाडौंको कालिमाटीस्थित विष्णुमति पुलमुनि फूलमाया नामकी ती वृद्धालाई भेट्नेहरुको भीड नै देखिन्छ । भेट्न आउनेहरु उमेरका कारण उहाँलाई ‘आमा’ भन्छन् । पुलमुनि उहाँले आफ्नो बिस्तारा लगाउनुभएको छ । बिस्ताराको वरपर ४ वटा कुकुर छन् । बिस्तारातिर देखाउँदै आमा भन्नुहुन्छ, ‘यो मेरो दरबार हो । मैले चार छोराहरु जन्माएँ तर आज मलाई सेवा गर्ने जिम्मा यी चार कुकुरले लिएका छन् ।’ खोलाको छेउछाउमा फालिएका फोहोर उठाउँदै उहाँ भन्नुहुन्छ, ‘आजभोलि मान्छे कुकुर र कुकुर मान्छेजस्ता भएका छन् ।’

आफू ७७ वर्ष पुगेको बताउने उहाँको दैनिकी कालिमाटीमा रहेको सोही पुलको आसपासमा फोहोर उठाएर सफा गर्दै बित्छ । शहर फोहोर भएको मन नपराउने आमा फोहोर उठाएर शहर सफा गराउने र सोही फोहोरका प्लास्टिक बेचेर जीविका चलाउने गरेको बताउनुहुन्छ । फोहोर बेचेको पैसाले पुगेन भने खोलाका डिलमा उम्रिएका सिस्नुका मुन्टा टिपेर बेच्ने तर जिन्दगीमा मागेर कहिल्यै नखाने उहाँको प्रण छ । आमा भन्नुहुन्छ, ‘मागेर खानुहुँदैन र माग्नु नपरोस् पनि, मेरो मान्यता र प्रार्थना यही छ ।’

धादिङकी फूलमाया आफ्नी छोरीको बिहेको लागि काठमाडौं आएको बताउनुहुन्छ । काठमाडौंबाट घर फर्कने पैसा नभएपछि यतै अरुको घरमा काम गरेर बसेको विगत पनि उहाँ सम्झनुहुन्छ । उहाँले धाई आमाको कामसमेत गरी जम्मा गरेको १३ सय रुपियाँ खर्चेर कालिमाटीमा टिनको घर किन्नुभएको रहेछ । काठमाडौंमा रहँदा व्यवसाय गर्न सिकेर रुखको फेदमा नाङ्ले पसल पनि थापेको कुरा आमा सम्झनुहुन्छ ।

आमाका अनुसार पछि त्यही रुखमुनि सेलरोटी पकाएर बेच्ने गरेको र त्यसबाट दिनहुँ १८ सय रुपियाँभन्दा माथि कमाइ हुने गरेको रहेछ । उहाँको प्रगतिमा डाहा गर्ने पसलवरपर हिँड्ने मानिसहरुले उहाँलाई ढुंगाले हान्ने, खेदो गर्नेजस्ता कार्य गरेका रहेछन् । तर पनि आमा हरेस नखाई खुशी नै रहनुभएको रहेछ । भविष्यको आशा लिएर निरन्तर काम गरी नै रहनुभएको रहेछ । यसै क्रममा एकपटक उहाँलाई कसैले मान्छे मारेको आरोप लगाएछ । विनाकसुर उहाँलाई षड्यन्त्र गरेर जेलसम्म पुर्याइएछ ।

‘जेल जानुपर्दा म धेरै निराश भएँ’, आमा भन्नुहुन्छ’, मेरो खुशी र आशामाथि वज्रपात भयो ।’ उहाँलाई एक महिनासम्म जेलमा राखिएछ र त्यसपछि रिहा गरिएछ । उहाँ भन्नुहुन्छ, ‘मानिसले विनाकसुर जेल राखेका थिए तर धन्न माथिबाट हेर्ने प्रभु भएकाले म जेलबाट छुटें ।’

एकपछि अर्को समस्या झेल्दै आउनुभएकी उहाँलाई कतै पनि खुट्टा टेक्ने ठाउँ थिएन, आफूले गरिराखेको काम पनि खोसियो । आरोपमा जेल जानुपर्दा नाफामा लाग्दै गरेको व्यवसाय पनि रोकियो । बचत गरेको पैसा पनि सकियो । श्रीमान् बितेर गए पनि छोराहरुको आशा थियो तर छोराहरु पनि सोही समयमा आफूबाट टाढा भएको आमा बताउनुहुन्छ ।

‘जीवनमा केही गरौंला भन्ने थियो, मलाई नराम्ररी फसाइयो तर हिम्मत भने हारेको थिइन है’, आज पनि आमा सुरिँदै भन्नुहुन्छ । आमाले कल्पना पनि गर्नुभएको थिएन कि आफ्नो सम्पत्तिको नाममा रहेको एउटै घर पनि सरकारले जग्गा अतिक्रमणको नाममा भत्काइदेला भनेर । कसैले झुक्याएर आमालाई सो घर बेचेको रहेछ ।

एकदिन कामको खोजीमा बाहिर निस्कनुभएकी आमा बेलुका थकाइ मारौंला, खाना बनाएर खाऊँला भन्ने सोच्दै घरतिर लाग्नुभएको थियो । जीवनमा अर्को वज्रपात थपिएको आमालाई बेलुका थाहा भयो, आमा घर पुग्दा घरको नामोनिशान थिएन । ‘पकाएर खाने एउटा भाँडो पनि रहेन मेरो । न आफ्नो भन्ने कोही, न बस्ने बास, न गरिखाने काम । म त पीडाले थलै पर्नुपर्ने मान्छे, धन्न राम्रो मन भएकालाई माथिबाट प्रभुले सहायता गर्ने रहेछन्’, आमा भन्नुहुन्छ ।

‘मेरो घर नरहे पनि यी यही पुललाई मैले मेरो दरबार बनाएँ । यिनै चारवटा कुकुर मेरा सन्तानजस्तै भए । एउटाले मैले जम्मा गरेको फोहोरको भारी बोकिदन्छ, एउटाले दरबार कुरिदिन्छ, अर्कोले मेरो सुरक्षा दिन्छ र झन् अर्कोले मसँग बसेर मेरो दैनिक रोटीको लागि परमेश्वरसँग पुकार्छ । मलाई त गजब छ । घर हुँदा र पैसा कमाउँदा नपाएको खुशी मैले आजभोलि महसुस गर्दै छु’, आमा खुशी हुँदै भन्नुहुन्छ ।

आमालाई आफ्नै खेतबारी पनि चाहिएन, न त पैसा कमाउने व्यवसाय नै । आमा मुस्कुराउँदै भन्नुहुन्छ, ‘खोलाका डिलमा सिस्नु आफैं उम्रिन्छ, बाटोको छेउछाउमा साग उमार्न कसैले रोक्दैन । खोलाको सागले नपुगे, साग किनेर गुन्द्रुक घाममा सुकाउन मलाई आइहाल्छ । बाटोभरि प्लास्टिक फालेर मान्छेले फोहोर गरेकै छन् । प्लास्टिक, साग, सिस्नु र गुन्द्रुक बेचेरै म बाँच्न सक्ने रहेछु ।’

‘होटलमा १०० रुपियाँ प्लेटको खाना खान पुगेकै छ । मेरा कुकुरलाई र वरपर खान नपाएका गरिबलाई पनि खुवाउन सकेकै छु । शौचलयको भने मलाई समस्या हुन्छ, म शहर फोहोर गर्न मन नपराउने मान्छे । शौचालय प्रयोग गर्न जो–कोहीले नदिने । आजभोलि ठाउँ ठाउँमा बनेका सार्वजनिक शौचालयले अलि सजिलो भएको छ । कहिले चाहिँ खाना खान जाने होटलको शौचालय प्रयोग गर्छु’, फूलमाया आमा बताउनुहुन्छ ।

फूलमाया आमालाई जति समस्या आए पनि साहसपन र निडरतालाई उहाँले निरन्तर कायम राख्नुभयो । अहिले उहाँले कालिमाटीको खोलावरिपरि भएका फोहोरहरु सफा गर्ने र त्यहाँ फोहोर फाल्ने मानिसहरुलाई पनि गाली गर्ने गर्नुहुन्छ । उहाँले काम नगरी मागेर खानेलाई फोहोर उठाउन लगाएर ज्याला आफैंले दिने गर्नुहुन्छ । उहाँलाई देख्ने त्यहाँका मानिसहरु भन्छन्, ‘यी बूढी आमालाई हामीले सिकाउनुपर्ने बेलामा उल्टै उहाँबाट हामीले सिकेका छौं । र, उहाँबाट हामी निकै प्रेरित भएका छौं ।’

फूलमाया आमा भन्नुहुन्छ, ‘कुकुरलाई भारी बोकाउने आमा भनेर मलाई मिडियाले चिनायो । मलाई एक्कासी थुप्रै च्यानल र पत्रिकाबाट भेट्न आउन थाल्नुभयो । खानेकुरा र पैसा लिएर आउनुहुन्छ तर मैले कसैको केही लिन्न । उहाँहरुलाई नै फर्काइदिन्छु । आज आएर बल्ल मलाई छोराछोरीले घर जाम भन्छन् । वडाले पनि कीर्तिपुरमा घर बनाइदिने भन्छ तर म जान मान्दिन । म गएँ भने यहाँ वरपरका फोहोरहरु कसले सफा गर्छ ? मेरो आशमा रहेका यी बाटोमा बस्नेहरुलाई, काम नपाएकाहरुलाई र खान नपाएका यिनीहरुलाई कसले खान दिन्छ ? सरकारको ध्यान यो कुराप्रति हुनुपर्ने हो तर खै भएको देख्दिन । मलाई यहाँ बस्न डर पनि लाग्दैन । मेरो सृष्टि गर्ने सृष्टिकर्ताले मलाई सुरक्षा दिनुहुन्छ । यहीँ बसेर सफा गर्ने, खान नपाएकालाई खान दिने, यसैमा म आनन्दित छु । मलाई पुलमुनिको बसाइ दरबारमा बसेको भन्दा पनि बढी आनन्द लाग्छ ।’