सबै स्थानीय तहमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै


 काठमाडौं । 

स्थानीय तहको निर्वाचनको स्थलगत तयारीको लागि ७ सय ५३ वटै स्थानीय तहमा आज बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको प्रक्रिया सञ्चालन गर्न सहज हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल समाचारपत्रलाई बताउनुभयो । आयोगले स्थानीय निर्वाचनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत खटाएको छ । मुख्य निर्वाचन अधिकृतले जिल्लामा निर्वाचन गराउन आयोगको प्रतिनिधिका रूपमा काम गर्नेछ ।

आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो । त्यसै गरी आयोगले जिल्लाका अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेवाका उपसचिवहरू रहने गरी निर्वाचन अधिकृत तोकेको थियो ।

कार्यक्षेत्रमा खटिएपछि निर्वाचनको ‘फिल्ड’ स्तरीय तयारी अघि बढ्ने प्रवक्ता आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र जिल्लाको अन्य स्थानीय तहमा निर्वाचन अधिकृत जिम्मेवारीमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । आयोगले उम्मेदवारको मनोनयनको लागि यही वैशाख ११ र १२ गतेको समय तोकेको छ । १३ गते उम्मेदवारमाथि उजुरी दर्ता गर्ने दिन तोकिएको छ भने १४ गते निर्वाचन अधिकृतले त्यसबारेमा निर्णय दिने कार्यक्रम छ ।उम्मेदवारको मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन गर्ने, मतदानपछि मतगणनालगायत कार्यहरू निर्वाचन अधिकृत कार्यालयले सञ्चालन गर्नेछ ।

आयोगले उम्मेदवार मनोनयनपत्रको लागि आयोगले वडा सदस्यदेखि अध्यक्ष र प्रमुखको उम्मेदवारीका लागि धरौटी रकम तोकेको छ । जसअनुसार स्थानीय तहको वडा सदस्य पदमा उम्मेदवारी दिनेले ५ सय रूपियाँ धरौटी बुझाउनुपर्ने हुन्छ । त्यसै गरी वडा अध्यक्षका लागि एक हजार रुपियाँ, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि १ हजार ५ सय रुपियाँ धरौटी तोकिएको छ । नगर प्रमुख र उपप्रमुखको लागि पनि १ हजार ५ सय धरौटी रकम तोकिएको छ । आयोगले महिला, दलित वा अल्पसंख्यक समुदायका लागि भने धरौटीमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।